पर्दापछाडिका भूपेन्द्र क्यामराबिना अपूरा

पर्दापछाडिका भूपेन्द्र क्यामराबिना अपूरा

काठमाडौं : भूपेन्द्र तुम्बाहाङ्फे पूर्वका व्यस्त सिनेम्याटोग्राफरमा पर्छन्। पूर्वमा निर्माण भएका सयौँ म्युजिक भिडियो र फिल्ममा उनको कला देख्न सकिन्छ। तीन सय हाराहारी भिडियो र केही फिल्ममा क्यामरा चलाएका उनी पछिल्लो समय फिल्म निर्देशन पनि गरिरहेका छन्। हाल उनले खिचेको अशोक दर्जीको गीत 'मनबिनाको धन ठूलो कि' चर्चामा छ। 

पर्दापछाडिका काममा रमाइरहेका भूपेन्द्रको संघर्षको कथा आफ्नै खालको छ। धेरै ठक्कर खाँदै कला क्षेत्रमा संघर्ष गरेका उनी लक्ष्यप्रतिको निरन्तरताले नै सफलता मिलेको बताउँछन्।मोरङ, टाँडीका उनलाई सानैदेखि नृत्यमा रुचि थियो।

गाउँमा चाडपर्वका बेला काका, बुबाहरू नाच्थे। भूपेन्द्र चाहिं बाँसको टाटीबाट चिहाएर उनीहरूजसरी नै भित्र नाच्थे। उनका बुबा र काकाहरू तिहार, पूजा, विवाहदेखि चुनावी सभामा नाच्न पूर्वका विभिन्न शहरमा पुग्थे। उनलाई पनि त्यसैको रस बस्यो। तर, त्यो समयमा पढाइ बिग्रिन्छ भनेर उनलाई परिवारले नाच्न रोक लगायो।

गाउँमा कसैको घरमा विवाह भयो भने त्यहाँ नृत्य प्रतियोगिता नै हुन्थ्यो। भूपेन्द्र तिनै प्रतियोगितामा भाग लिन्थे र अधिकांशमा पहिलो वा दोस्रो हुन्थे। दुई-तीन सय रुपैयाँ पुरस्कार र बेहुल-बेहुलीको हातबाट प्रमाणपत्र पाउँथे। पुरस्कारले उनलाई मनग्गे हौसला दिन्थ्यो। 

उनको घरमा एउटा श्यामश्वेत टेलिभिजन थियो। उनी बजारबाट डान्सका सीडी ल्याएर टीभीमा लगाउँथे र त्यही हेर्दै नाच्न सिक्थे। त्यही बेला एफएममा नमस्ते कला संगम प्रतिष्ठानले विज्ञापन बजायो। 'यहाँ डान्स सिक्दा बन्न लागेको नयाँ फिल्ममा अवसर पाइन्छ' भन्ने वाक्य सुनेपछि सानैदेखि फिल्मी हिरोको अभिनय गर्दै नाच्ने भूपेन्द्रलाई आफू पनि त्यस्तै हिरो बनेर पर्दामा देखिने रहरले कुतकुत्यायो। 

एसएलसी दिएपछि उनी बुबाको पुरानो हिरो साइकलमा एकापट्टि चामलको झोला र अर्कोपट्टि सागसब्जी, दाल अनि पछाडि दाउरा बोकेर दमकतिर झरे। दमकमा आफन्तको कोठामा केही दिन बसेपछि त्यहाँ डेरामा बस्न थाले। 'कोठामा खाटबाहेक केही पनि थिएन, त्यहीँबाट सुरु भयो संघर्ष,' उनी सम्झन्छन्।

त्यसपछि उनी पुगे उही रेडियोमा विज्ञापन सुनेको, नमस्ते संगम कला प्रतिष्ठान। केही समय सिकेपछि उनलाई त्यहाँ सिकाउने गुरुभन्दा त गाउँका आफ्नै काका जान्ने जस्तो लाग्यो। उनी सुनाउँछन्, 'मेरो नाच हेरेपछि त्यहाँका गुरुले उल्टै तपाईंसँग त म पो सिक्नुपर्ने रहेछ भने। अलिपछि अर्को गुरु ल्याएर सिकाउने भनेर मलाई बिदा गरिदिए।'

त्यही बेला उनले गाउँको एक जना साथी भेटे। उनले आफू फिल्म बनाउन लागेको भन्दै भूपेन्द्रलाई वर्कसपमा बोलाए। उनलाई क्यामराअगाडि उभ्याएर नाच्न र अभिनय गर्न लगाइयो। उनको तारिफ भयो। 'राम्रो गर्दा रहेछौ, हिरो बन्न सक्ने रहेछौ भनेर मेरो प्रशंसा गरे,' उनी स्मरण गर्छन्। एकदुई दिनपछि फिल्ममा खेल्न ५० हजार रुपैयाँजति लगानी गर्नुपर्ने प्रस्ताव आयो। गाउँबाट पाँच सय बोकेर आएका उनलाई ५० हजारले रन्थन्यायो। अघिल्लो दिनसम्म हिरो बनाउने प्रस्ताव गरिरहेका निर्देशकले उनले पैसा तिर्न नसक्ने भनेपछि भोलिपल्ट बोलाएर भने, 'भाइलाई भिलेनमा चाहिँ सुहाउने रहेछ।' पर्सिपल्टदेखि भूपेन्द्र त्यहाँ जानै छाडे। 

वर्कसपमा क्यामरापर्सनको फुर्तीफार्ती देखेर उनी आकर्षित भएका थिए। उनलाई फिल्म बनाउन सबैभन्दा ठूलो कुरा त क्यामरा रहेछ भन्ने लाग्यो। 'क्यामरा किन्न पाए त आफैँ पनि फिल्म बनाइन्थ्यो भन्ने जोश चल्यो,' उनी सुनाउँछन्, 'तर, पैसा थिएन, कहाँबाट किन्नु ?'

क्यामराका लागि पैसा कमाउन उनी मलेसिया पुगे। काम गरेर क्यामरा किन्ने पैसा कमाएपछि एउटा ह्यान्डी क्यामरा किनेर नेपाल फर्किए। क्यामरा लिएर फर्किएपछि उनकोे पारा नै बेग्लै भयो। कतै जादु देखाएको, कतै भीड जम्मा भएको देख्यो कि उनी क्यामरा तेर्साइहाल्थे। यसो गर्दागर्दै वरपरबाट विवाह खिच्न उनलाई निम्ता आउन थाल्यो। उनी त्यसैमा व्यस्त भए। हिरो बन्ने सपना कता हरायो, कता।

यस्तै 'क्यामराकर्म'मा रमाइरहेका उनलाई एक दिन काका पर्ने तिलक लिङ्देनले टेलिभिजनको तालिम खुलेको जानकारी दिए। चार हजार तिरेर तालिम लिएपछि ३१ जनामध्ये उनको नाम पहिलो स्थानमा निस्कियो। त्यसपछि उनी हिमशिखर टेलिभिजनमा क्यामरापर्सन भए। क्यामरासँग उनी यसरी जोडिएका छन् कि भन्छन्, 'क्यामराबिना म अपूरो हुन्छु, अधुरो हुन्छु।' 

उनले क्यामरा चलाएको देखेका गायक कुशल थलङले एउटा भिडियो निर्देशन गर्ने जिम्मा दिए। पछि भिडियोको छायांकन गर्न थाले। त्यसपछि उनी क्यामराका साथी बने। अहिलेसम्म छायांकन र निर्देशनमा व्यस्त उनी बुबा र काकाको सपना पूरा गर्न फिल्म बनाउने योजनामा छन्। भन्छन्, 'आफ्नै गाउँघरको कथामा फिल्म बनाउन स्क्रिप्ट तयार भइसक्यो।यहीँ संघर्ष गरेँ। अब यही ठाउँको कथा दर्शकलाई देखाउन चाहन्छु।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.