गृहमन्त्री भन्छन्ः प्रचण्डका घरबेटी ठेकेदारलाई पनि कारबाही गर्छौँ
काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले भौतिक पूर्वाधार निर्माणमा ढिलाइ गर्ने निर्माण व्यवसायीहरु कसैलाई पनि नछोडिने बताएका छन् ।
गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आधा दर्जन भन्दा धेरै ठुला परियोजना होल्ड गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीमाथि पनि कारबाही चलाइने बताएका हुन् ।
‘सबै ठेकेदारहरु घरधनी या घरबेटी नै हुन् । केही ठेकेदारहरु सांसद पनि छन् । गृहले होइन, तोकिएको समयमा योजना पुरा नगर्ने र होल्ड गर्नेहरुलाई राज्यले नै कारबाही गर्ने भनिसकेको छ’, थापाले भने, ‘जसले समयमा काम पुरा नगरेर राज्यको ढुकुटीको दुरुपयोग गर्छ, त्यो कानुनको उल्लंघन हो । सम्झौताको अवज्ञा गर्नेलाई राज्यले भ्रष्टाचारी र ठग ठान्छ । घर धनी होस सभासद् हो जो भए पनि कारबाही हुन्छ ।’
राज्यलाई धोका दिने जोसुकैका घरधनी भए पनि नछाडिने थापाले बताए । ‘राज्यलाई धोका दिने र बेइमानी गर्नेलाई कारबाही गर्छौँ । ठगहरुलाई कारबाही गर्ने काममा पछि हट्दैनौँ’, उनले भने, ‘संसद भित्रै रहेका ठुला ठेकेदारहरुलाई पनि कारबाही हुन्छ, यसका लागि हामी अन्य मन्त्रालयहरुसँग समन्वय गरिहेका छौँ ।’
भिडियो