युवा आन्दोलनको कार्यभार

युवा आन्दोलनको कार्यभार

  कृष्णहरि के.सी.

युवा सिर्जनाका खानी हुन्। युवा जोश हो। युवा जाँगर हो। युवा उत्साह हो। युवा ऊर्जा हो। युवा वर्तमान हो। युवा भविष्यको आधार हो। त्यसैले युवा क्रान्तिको जननी हो। सम्बृद्धिको सम्बाहक हो। युवा श्रमिक हो। युवा मजदुर हो। युवा अन्वेशक हो। युवा सिद्धान्तकार, अनुसन्धानकर्ता हो। युवा सर्जक हो। युवा आविस्कारक हो। युवा साधक हो। त्यसैले हरेक कुराको आविष्कार नयाँ नयाँ कुराको खोज अनुसन्धान र पत्ता पनि युवाले नै लगाएका हुन्छन्। 

चीनको द ग्रेट वाल कसले बनायो ? अमेरिकाको ट्वीन टानवरको निर्माता को हुन् ? कतारलाई स्वर्णभूमि कसले बनाउदैछ ? हाम्रा घरहरु बनाउदा निदाल कसले बोक्छ ? ढुङ्गा कसले फोर्छ ? जस्तोसुकै कठिन कामको फत्ते गर्न कोही अघि सर्छ भने त्यो युवा हो। 

जीवनको आहुति दिनुपर्दा सबैभन्दा अग्रमोर्चामा कोही उभिन्छ भने त्यो युवा हो। जारशाहीविरुद्ध जीवन आहुति दिँदा अलेग्जेण्डर हुन् या जहानीया राणाशाहीविरुद्ध हाँसी हाँसी फासी चढ्ने गंगालाल यी सबै युवा नै थिए। रगतको भेटी चढाउन युवा अग्रसर भए, हुन्छन् र हुनेछन्। श्रमको बली र पसिनाको भेटी पनि युवा सिवाय कसैले चढाउन सक्दैन। त्यसैले राष्ट्र निर्माणको आधार युवा हुन्।  

राष्ट्र सेवक कर्मचारी हुन् या देशभक्त सेना प्रहरी हुन् ती सबै युवा नै हुन्छन्। विश्व कम्युनिस्टका महान गुरु कार्लमाक्र्स कम्युनिस्ट घोषणापत्र तयार पार्दा ३० वर्षे ठिटो थिए। नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलाल २५ वर्षे युवक थिए। बुद्धले युवा उमेरमा नै साधना गरेका थिए। तसर्थ युवाको प्रत्यक्ष संलग्नता बिना समृद्धि कसरी ? विकास कसरी ? 

युवा आन्दोलन
नेपाली समाजको लामो समयदेखिको सपना “समृद्ध नेपाल र सुखि नेपाली” परिकल्पना साकार हुने अवस्था सिर्जित भएको छ। राजनीतिक सामाजिक क्षेत्रको आन्दोलनको रुप बदलिएको छ। नेपाली समाजको प्रधान अन्तरविरोध बदलिएको छ। यस प्रकारको परिवर्तनमा युवा वर्गकै नेतृत्व र पहलकदमी थियो। सहिद युवा थिए, घाइतेको लस्कर युवाको थियो। त्यस प्रकारको गौरवपूर्ण इतिहास निर्माणमा युवाशक्तिको अतुलनीय योगदान रहेको थियो। हिजो व्यवस्थाविरुद्ध लड्नु भिड्नु परेको थियो आज अवस्थाको परिवर्तनको लागि, गरिबीविरुद्ध जुद्नु परेको छ। गरिबी केवल भाषणले, नारा जुलुसले भाग्नेबाला छैन्। गरिबी भाग्दा शोषण, दमन र विभेदलाई पनि एउटै चिहानमा गाड्नु परेको छ। यो अभिभारा चानचुने होइन ? यो परम्परागत ढर्राले सम्भव छैन।

हाम्रो जिवनशैली, हाम्रो काम गर्ने तौर तरिका, चिन्तनमननको शैली, हेराई बुझाई गराईमा आमुल परिवर्तन आवश्यक छ। युगले मागेको, समयले चाहेको, वर्तमानले रोजेको, भविष्यले आशा गरेको व्यवस्था निर्माण गर्न हामी युवा तयार हुनु आवश्यक छ। तर, हाम्रो कर्यशैली र वर्तमान अवस्थाले त्यस तर्फको यात्रालाई गिज्याई रहेको छ। वर्तमानको युवा आन्दोलन विगतको ढर्रालाई फेर्न पनि नसकेको र समातीरहन पनि नचाहेको अवस्थामा छ। यो वर्तमान यथार्थलाई फेर्नैपर्ने छ। अबको कार्यक्रम “यात्रा समृद्धिको लक्ष्य समाजवादको” हुन  पुगेको छ। त्यसको लागि कस्तो समृद्धि र कसरी समाजवाद ? यसको जवाफ आवश्यक छ। 

आगामी कार्यभार 
विगतका उपलब्धीको शीरमा टेकेर भविष्यको सपना बोकेर सत्मार्गतर्फ फर्किएर लम्किएको कार्य नै वास्तवमा कार्यदिशा हो। संगठनको लक्ष्य र उद्देश्यलाई जुरुक्क बोक्ने काम, प्रकाश पार्ने काम कार्यदीशाले गरेको हुन्छ। आज नेपाली युवासँग समृद्ध नेपाल र सुखी नेपाली निर्माण नगरी भएको छैन। सिद्धान्त र व्यवहारबीचको तालमेल आवश्यक छ। श्रम गर्नसक्नेलाई श्रम नदिई भएको छैन। सबैखाले विभेद समाप्त गर्नुपर्छ। समाजवादलाई वायुपंखी गतिमा नभेटी भएको छैन। त्यसको लागि राष्ट्रिय पूँजीको विकास र दलालपूँजीको निषेध नगरी भएको छैन। 

अब प्रश्न छ।  पहिले काटमार, युद्ध, रस्साकस्सी र प्रतिस्पर्धामा गर्ने पूँजीवादी झन झन एकजुट हुदैछन् किन ? कुनै जमानामा संसारमा कम्पन ल्याउने कम्युनिस्ट आन्दोलन कमजोर र कमजोर भएका छन् किन ? जनताको लामो त्याग तपस्या र बलिदानी संघर्षबाट उसैको युगौंको सपनाको रुपमा रहेको समाजवाद लामो समय टिक्न सकेन किन ? यस परिवेशमा नेपालमा लोकतान्त्रिक विधिबाट कम्युनिस्ट पार्टी शक्तिशाली र सत्ता पक्ष भएको छ। के अब विश्वको कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीले नयाँ भाइव्रेशन दिन सक्ला ? यी प्रश्नहरुको उत्तर, उपाय र समाधान खोज्नु नेपाली युवा आन्दोलनको एउटा महत्वपूर्ण कार्यभारको रुपमा खडा भएको छ। 

संविधानमा व्यवस्था भएको मौलिक हकहरुको व्यवस्थालाई कार्यान्वयन तत्काल गराउने, नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको शतवार्षिकी सपना र आम निर्वाचनमा निर्माण गरिएको घोषणा पत्रको कार्यान्वयन गराउने अर्को महत्वपूर्ण कार्यभार युवाको काँधमा आएको छ। हिजो संविधानमा लेख्न दबाब दिनु पथ्र्यो भने आज त्यो लेखिएको कुरा यथाशिघ्र कार्यान्वयन गराउनु पर्ने भएको छ।

संगठनको सुदृढीकरण
राजनीतिप्रतिको आकर्षण बढाउने, संगठनलाई युवाको रोजाइको केन्द्र बनाउने, समाज रुपान्तरणको लागि युवा संगठनमा लाग्नै पर्ने सन्देश प्रवाह गर्ने गरी संगठन निर्माण गर्नुपर्छ। विगतको जस्तो बेरोजगार युवाहरुको केन्द्रमात्रै हैन, उद्यमीको भिड, चन्दा उठाउने मात्रै होइन।mसबैभन्दा बढी कर तिर्ने जमातको पंक्ति निर्माण गर्नु आवश्यक छ। त्यसको लागि अश युवा संघ मात्रै होइन युवा महासंघ निर्माण गर्नुपर्दछ। जहाँ युवा, त्यहाँ युवा संगठन निर्माण गर्नुपर्छ। युथ फोर्सलाई व्यवस्थित तवरले सञ्चालन गर्न विभिन्न कामकाजी फोर्समा रुपान्तरण गर्नुपर्छ। 

जस्तै : “विपद सामना फोर्स” निर्माण गर्ने। प्राकृतिक बिपत्ती र क्षतिलाई न्यूनिकरण गर्ने, अध्ययन गर्ने र रोकथामको उपाय सिर्जना गर्ने जनशक्ति निर्माणमा जोड दिने गरी एक फोर्स निर्माण गरौं। नेपाल, जलवायु परिवर्तनको हिसाबले विश्वको चौथो जोखिमपूर्ण देश, भूकम्पमा ११ औं, बाढीमा २० औं, अन्यमा ३० औं जोखिम स्थानमा रहेको छ। त्यसैगरी “डेभलभमेन्ट फोर्स”को स्थापना गर्ने। जसले विकास निर्माण र उद्योग कलकारखाना सञ्चालन, ऊर्जालगायतको क्षेत्रमा योगदान गर्नेछ। “वर्क फोर्स” निर्माण गरौं। जसले प्रत्येक युवालाई सीपयुक्त र प्रविधि मैत्री बनाउने छ। सीप र प्रविधियुक्त युवा देश विकासका आधारस्तम्भ हुन्। जुन युवा खेत खलियान, कारखाना र उद्योगमा हुनेछन्। यसरी एउटा गतिशिल संगठन निर्माण गर्ने आधार तयार हुनेछ। 

युवा संगठनमा लाखौं युवा सामेल हुनेछन्। यसले सशक्त पार्टी निर्माण हुनेछ। समृद्ध पार्टी र समृद्ध राष्ट्र निर्माणको आधारशिला खडा हुनेछ। ती युवा श्रमशक्तिमा, उत्पादकशक्तिमा रुपान्तरण हुनेछन्। लम्पट सर्वाहारको अन्त्य हुनेछ। यसरी हाम्रै आँखाले हेर्दा-हेर्दै राष्ट्रिय गौरवका आयोजना छिटो, दीगो र नमुनायुक्त तवरले ती युथ फोर्सले निर्माण गर्नेछन्। 
लेखक के.सी. युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन् 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.