मादी गाउँका वडाको डेराबास
पोखरा : याङ्जाकोट गाउँको परियार आमा समूहको भवनमा अहिले मादी गाउँपालिकाको वडा नम्बर ३ कार्यालय छ । वडाको आफ्नै भवन नहुँदा उसले आमा समूहसँग भवन भाडामा लिएको हो । साविक गाविस भवन भएको ठाउँमा भने गाउँपालिकाको कार्यालय छ । मादीकै वडा नम्बर १२ को आफ्नै भवन छैन । त्यसैले वडाको कार्यालय हिमालय आधारभूत विद्यालयमा राखिएको छ । अर्काे वडा ४ ले पनि ३ ले जस्तै पहिला आमा समूह बस्दै आएको भवन प्रयोग गरिरहेको छ ।
भूगोलका हिसाबले कास्कीको सबैभन्दा ठूलो स्थानीय तह मादी गाउँपालिकाका धेरै वडाका कि भाडाको घरमा छन् कि अरू भवनमा । आफ्नै भवनमा कार्यालय चलाएको वडाभन्दा डेरा गर्ने वडाको संख्या धेरै छ । वडा कार्यालय प्रयोजन निम्ति गाउँपालिकाले यो आर्थिक वर्षमा २५÷२५ लाख रुपैयाँ बजेट छुट्याएको पनि थियो । तर, जमिन नपाएका कारण कतिपय वडाले भवन निर्माण गर्ने वा घडेरी सम्याउने काम पनि गर्न पाएका छैनन् । वडा नम्बर ४ ले भने घडेरी सम्याएको छ । व्यक्तिगत जमिन वडाका लागि दान लिएर कार्यालय भवन बनाउने घडेरी सम्याइएको वडाध्यक्ष सत्यराज सापकोटाले बताए । ‘१० ÷१२ लाख रुपैयाँको काम गरिसकेका छौं’, उनले भने, ‘अर्काे वर्षको बजेट आएपछि भवन बनाउन सकिन्छ ।’
वडा नम्बर १२ का अध्यक्ष चित्रबहादुर गुरुङले घडेरी छनोट पनि गर्ने काम बाँकी नै रहेको जानकारी दिए । ‘जग्गा खोज्दैछौं, जग्गा पाइयो भने भवन बनाउन गाउँपालिकाले बजेट दिनेछ’, उनले भने । साविकका ६ वडा गाविस पूरै र हंसपुर र माझाठानाका केही वडा समेटेर बनेको मादी गाउँपालिकामा १२ वटा वडा छन् ४ सय ६३ वर्ग किलोमिटरमा फैलिएको यो जिल्लाकै सबैभन्दा ठूलो भूगोल भएको गाउँपालिका हो । ४ वटा वडाले मात्रै साविकका गाविस भवन प्रयोग गरेका छन् ।
वडा नम्बर ८ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को भवनमा बसेको छ । वडा नम्बर ६ हुलाक घरमा बसेको छ । साविक गाविस भवन अपायक भएकाले वडा नम्बर ९ को केन्द्र सार्नुपर्ने अवस्था छ । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले वडाका लागि जग्गा किन्ने नीति नबनाएको सुनाए । दानमा प्राप्त भएको वा सार्वजनिक ठाउँमा भवन बनाउने नीति गाउँपालिकाले बनाएको उनले जानकारी दिए । स्वयं गाउँपालिकाका लागि आवश्यक ५० रोपनी जमिन पनि अभाव रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी बताउँछन् । भन्छन्, ‘एकै ठाउँमा नभए पनि २५ रोपनी एकै ठाउँमा र बाँकी छेउछाउमा भए पनि हुने हो, तर भनेजस्तो जग्गा भेटिएको छैन ।’ वडा नम्बर ४ र ६ बाहेकले जग्गा भेटेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले वडा भवनका लागि संघीय सरकारले दिने पूरक अनुदानको बजेट खर्च गरिने जानकारी दिए । उनले भने, ‘आगामी आर्थिक वर्षका लागि के कति बजेट आउँछ, त्यसमा गाउँपालिका पनि थप्न तयार छ ।’