बिहे नगरी आमा बन्ने विधेयक कसका लागि ?

बिहे नगरी आमा बन्ने विधेयक कसका लागि ?

आज एउटा अनलाइनमा एउटै प्रसंगको दुइटा आलेख पढ्ने अवसर पाएँ। पाटन जिल्ला अदालतका अधिकृत मुना पौडेलको ‘के कुमारी आमा बेठीक हुन् ? ’ र राधिका सापकोटाको ‘यसकारण विवाह नगरी आमा बन्न पाउनुपर्छ।’ दुवै लेख सशक्त र समय–सान्दर्भिक भएकोमा दुवै लेखिका धन्यवादका पात्र हुनुहुन्छ।

राधिकाजीले आफ्नो लेखमा अहिले आमा बन्नका लागि विवाह गर्नुनपर्ने विधेयक तयार हुन लागेको चर्चा भइरहँदा सामाजिक सञ्जालमा यसको ठूलो बहस भइरहेको, जसमा अधिकांश पुरुष यसको विपक्षमा र केही महिला यसको पक्षमा र केही महिला–पुरुष मौन रहेर यसलाई सामाजिक सञ्जालमा सेयर मात्र गरिरहेको उल्लेख गरिरहेका छन्।

एक नेपाली नागरिक, त्यसमा पनि एक महिला भएको नाताले उल्लिखित लेखहरू पढेपछि मनमा अनेक प्रश्न खेल्न थालेका छन्— के अब आगामी दिनमा यस विधेयकले नेपाल सरकारका प्रतिनिधिले सोचेअनुसार महिलाको जीवनमा साँच्चै फड्को मार्ला त ? के अब आगामी दिनमा कुमारी आमा तथा उनीहरूले जन्माएका सन्तानहरूले समाजमा सम्मानका साथ शिर ठाडो पारी अन्य महिला र बच्चाले सरह सरकार र समाजबाट उपलब्ध सम्पूर्ण अधिकारसहित हाँसी–खुसी जीवन जिउन पाउलान् त ?

मैले आफ्नो जिज्ञासा मेट्न आजै मेरो वरपर, आफन्त र साथीभाइसित विवाहपूर्व आमा बन्न पाउने अधिकारबारे उनीहरूको धारणा बुझ्न खोजेँ। कसैबाट पनि मैले सकारात्मक जवाफ पाउन सकिनँ। मलाई विश्वास छ, यो विषयमा देशमा सर्वेक्षण गरी हाले पनि अधिकांशको जवाफ, मैले पाएको जवाफभन्दा धेरै भिन्न हुने छैनन्। विवाहपूर्व गर्भधारण र सन्तान जन्माउने भन्नासाथ अझै पनि अधिकांश नेपाली नाक खुम्च्याउने, जिब्रो टोक्ने र सरकारसित आक्रोश पोख्ने नै हुनेछन्।

विवाह नगरी आमा बन्ने अधिकार आवश्यक हुने र ठान्ने वर्ग भन्नासाथ आम नेपाली नागरिकको मानसपटलमा राधिकाजीले उल्लेख गर्नुभएको जस्तो धेरै पढेलेखेका, आत्मनिर्भर, अत्याधुनिक, विवाह बन्धनबाट मुक्त हुन चाहने महिलाको छवि आउँदो रहेछ। उहाँ स्वयंले पनि त्यस्तै महिलाको अधिकारको पक्षमा लेख्नुभएको छ, ‘एउटी महिला आफू सक्षम छ, उसलाई विवाह गरेर पारिवारिक बन्धनमा बस्नु छैन, तर उनी आमा बनेर एउटा नागरिकका रूपमा यो राष्ट्रका लागि योगदान दिन चाहन्छिन् भने त्यो कुरालाई स्वीकार गर्न किन गाह्रो ? ’

न्यून संख्यामा रहेका सशक्त महिलाका पक्षमा आवाज उठाइरहँदा आफ्नो धर्म, संस्कृति र संस्कारलाई अत्यन्त श्रद्धा र सम्मानका साथ अँगाल्दै आइरहेका देशको ठूलो जमात नेपालीको भावनालाई निर्ममताका साथ कुल्चिरहेको अनुभव गर्दैछु म। यो देशमा मात्र होइन, विदेश र विश्वमै पनि विवाहलाई जीवनको महत्वपूर्ण कर्मकाण्डमध्येको एक मान्ने जमातको कमी छैन।

विवाह नगरी बच्चा पाउने कानुन बनाउनेले यसको जगेर्ना गर्ने संयन्त्र निर्माण र प्रभावकारी कार्यान्वयनतर्फ पनि सचेत हुन जरुरी छ।

म आफैं पनि या मेरो जोडीले नै यसलाई उच्चकोटीमा राखेर प्रेम, विवाह र यौनलाई फरक–फरक स्थानमा राखेर जीवनको गाडी अगाडि बढाइरहेको छ। हामीले प्रेमलाई ईश्वरकै स्वरूप सम्झेर प्रेम गर्‍यौं। हाम्रो प्रेम तीन वर्षसम्म चल्यो, तर हामीले प्रेमको सीमा कहिल्यै पार गरेनौं। आज त्यो एउटा एकादेशको कथा भइसकेको छ, तथापि आज पनि म त्यसको उत्तिकै सम्मान गर्छु। मलाई विश्वास छ, तीन दशकपछि पनि हाम्रो प्रेम त्यत्तिकै पवित्र, निश्चल र एकआपसप्रति त्यत्तिकै सम्मान हुनुको कारणको पछाडि हामीले विवाह र यौनलाई छुट्टाछुट्टै राखेर प्रेम गरेकैले हो भन्ने लाग्छ।

तर यसको अर्थ यो विल्कुल होइन, सबै प्रेमीप्रेमिका हाम्रो बाटोमै हिँडून् अथवा हाम्रै विचारको अनुशरण गरून्। तीन दशकको कालखण्ड छोटो समय होइन। यस अन्तरालमा विश्वलगायत नेपालमा पनि मान्छेको जीवन, रंगढंग, सोच तथा व्यवहारमा धेरै परिवर्तन आइसकेको छ। साँच्चै भनौं भने आजभोलि प्रेमीप्रेमिकाके सोच्छन् भन्ने पंक्तिकारलाई पनि जानकारी छैन।

म यो विधेयकको पूर्ण विरोधी होइन। मलाई थाहा छ, मैले यसो गरेको खण्डमा हाम्रा हजारौं निर्दोष, अज्ञान छोरी–बेटीहरूको श्राप लाग्नेछ। मैले यो जीवनमा आफ्ना देशका ६५ जिल्लाका दुर्गम गाउँ घुमेकोको छु। त्यहाँका महिलाको दुःख–पीडासित आत्मसात गरेर बाँचेकी छु। आमाबुबा स्वयं छोरीहरूलाई वेश्यालयमा पठाउने गाउँमा पुगेकी छु। अनि पति स्वयंले पत्नीलाई वेश्यालयमा पुर्‍याई आफू कान्छीसँग जेठीको कमाइमा मोज गरेर बस्ने लोग्नेमान्छेको घरमा वास बसेर आएकी पनि छु। म आफ्ना सन्तानका जननीलाई घरमा पालेका गाई–वस्तुसम्म पनि नठान्ने समाजमा महिनौं बसेर आएकी छु। अनि जहाँ कुनै केटासित प्रेम गरेर उससित भागेर आफ्नो जीवन बिताउनु नै जीवनको सबभन्दा सुख हो भन्ठान्ने किशोरी तथा युवतीसित संगत गरेर आएकी पनि छु।

यसबाहेक सोझा–सीधा, अबोध, अज्ञान, निर्दोष किशोरी र युवतीलाई मायाजालमा फसाएर उनको अस्मिता लुटेर भाग्ने ब्वाँसाहरू पनि मैले टनै देखेकी छु। समयले धेरै कोल्टो फेरिसक्यो। तर परिस्थिति जहाँको त्यहीं नै छ। अझ अहिलेको अवस्था झन् भयावह देख्दैछु। उहिले किशोरी र युवती मात्र बद्मास र फटाहाहरूको मायाजालमा पर्थे। सहमतिमै सहवास हुन्थ्यो र गर्भवती हुन्थे। तर हिजोआज त बालिकासमेत नछोड्ने समय आइसकेको छ यहाँ। गएको वैशाख २० गते सिन्धुलीबाट सर्लाहीको हरिवनमा दिदीको घरमा आएकी १३ वर्षकी बालिकालाई घर पुर्‍याइदिने बहानामा रौतहटमा ल्याएर दुईजना केटाले बलात्कार गरेको र ती बालिका अनुसन्धानका क्रममा गर्भवती भएको पुष्टि भएको छ। अहिले बलात्कार र सामूहिक बलात्कारको समाचार त आम भइसकेको छ।

तर दुःखको कुरा, यस्तो परिस्थिति देख्नेहरूको मानसिकता उहिलेदेखि अहिलेसम्म पनि खासै फरक भएको छैन। अझै पनि बद्मास र फटाहा मान्छेको प्रेमजालमा परेर कोही गर्भवती भएर अलपत्र परेका छन्। कठै यिनीहरूको अधिकारका लागि हामी जुट्नुपर्छ भन्नेहरूभन्दा पनि उनीलाई छाडा, चरित्रहीन, उत्ताउली, नखरमाउली भन्नेहरूको हुल नै बग्रेल्ती भेटिन्छन्। महिलाले छुट नदिई पुरुषले त्यस्तो हर्कत गर्ने हिम्मत कसरी जुटाउन सक्छ भन्नेको जमात नै बढी हुन्छ यो समाजमा। त्यसैले त त्यस्तो बद्नामीबाट डराएर कि महिला आफ्नो गाउँ–ठाउँबाट पलायन हुन्छन् कि त आत्महत्या गर्छन् कि भने आफूले जन्माएका सन्तानको नै हत्या गर्न पुग्छन्। देशका जेलहरूमा सजाय भोगिरहेका कुमारी आमाहरू यसका ठोस प्रमाण हुन्।

यसैले पनि नेपालमा यो विधेयक लागू हुनुपर्ने देखिन्छ। एउट भनाइ छ– बरु सयजना अपराधी छुटून्, तर एक पनि निर्दोषले सजाय भोग्नु नपरोस्। महिलाको अधिकारले महिलाकै जीवन अझ कठिन र जटिल नबनून्। अहिले फेरि बालबालिकाको हकहित, सुरक्षा र संरक्षणका थुप्रै नीति कार्यविधि बनेका छन्। पिताको मायाविना एक बच्चाले आफ्नो सम्पूर्ण अधिकार प्राप्त भएको ठान्छन् कि ठान्दैनन् ? यसबारे पनि ध्यान जान जरुरी छ। विवाह नगरी बच्चा पाउने कानुन बनाउनेले यसको जगेर्ना गर्ने संयन्त्र निर्माण र प्रभावकारी कार्यान्वयनतर्फ पनि सचेत हुन जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.