उत्तर कोरिया जाँदै सिंगापुरका अधिकारी
सिंगापुर : सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कूटनीतिज्ञहरूको टोली उत्तर कोरिया जाने भएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो।
जुन १२ तारिखमा ट्रम्प र किमको शिखर वार्ता सिंगापुरमा हुने यसअघि नै तय भइसकेको छ। सिंगापुरको उच्चस्तरीय कूटनीतिज्ञहरूको टोली दुईदिने भ्रमणका लागि बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्ने कार्यक्रम छ। शिखर वार्ताका लागि वार्तास्थल सिंगापुरमा वार्ताका दुई पक्ष अमेरिका र उत्तर कोरियाले आ–आफ्नो तरिकाले तयारी तीव्र पारेका छन्। गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाको शिखर वार्ताको तय भएको हो। वार्ताको तय भइसकेपछि पनि केही समय दुई देशका नेताहरूको अविश्वास र आरोप प्रत्यारोपले वार्ता अन्योलमा परेको थियो। यद्यपि नाटकीय ढंगले वार्ताको वातावरण बनेर अहिले वार्ताको तयारी भइरहेको हो। उत्तर कोरियाका उच्च अधिकारीहरूको गत साता सम्पन्न भ्रमणका बेलाा ट्रम्पले वार्ता हुने अन्तिम निर्णय सुनाएका थिए। वार्ताको सुनिश्चितताका लागि उत्तर कोरियाको टोली अमेरिकाको वासिङटन गएको थियो। वार्ता सुनिश्चित भएपछि अहिले द्विपक्षीय भ्रमण, उच्चस्तरीय छलफल तीव्ररूपमा भइरहेका छन्।
शिखरवार्ता बेला सिंगापुरको आकाशमा विमान बन्द
सिंगापुरमा आयोजना गरिएको अमेरिका–उत्तर कोरिया शिखर वार्ताका बेला सिंगापुरको हवाई क्षेत्र बन्द गरिने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा वार्ता तय गरिएको छ। शिखर वार्ताका क्रममा सिंगापुरको हवाई क्षेत्रमा सबैखाले उडान बन्द गरिनेछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ र अमेरिकी संघीय उड्डयन प्रशासनले बुधबार यस्तो सूचना जारी गरेका छन्। सूचनाबमोजिम ११,१२ र १३ जुनमा केही समयका लागि सिंगापुरको हवाई क्षेत्र प्रतिबन्धित रहनेछ। सिंगापुरको चांगी विमानस्थलमा उडान भर्ने सबै विमानलाई गति कम गर्न आदेश दिइएको छ र धावनमार्गमा पनि केही प्रतिबन्ध लगाइएको छ। १० देख १४ जुनमा सिंगापुरमा थप सुरक्षा उपाय पनि अपनाइनेछ। यी क्षेत्रमा मानिस र वाहनको निकै कडा सुरक्षा जाँच गरिनेछ।
ट्रम्प र किमको शिखरवार्ता सेन्तोसा द्वीपको क्यापेला होटेलमा हुने जानकारी दिइएको छ। ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले ट्विट गर्दै उक्त जानकारी दिएकी हुन्। क्यापेला होटेल भीडभाड हुने स्थलबाट निकै टाढा रहेको बताइएको छ। सुरक्षा व्यवस्था मिलाउन सहज हुने भएकाले टापुस्थित होटेलमा वार्ता गरिने बताइएको छ।