युरोपियन क्लबका ५४४ खेलाडी विश्वकपमा

युरोपियन क्लबका ५४४ खेलाडी विश्वकपमा

नियोन : युरोपका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्ने पाँच सय ४४ जना खेलाडीले आगामी विश्वकप फुटबलमा सहभागिता जनाउने भएका छन्। जुन १४ देखि जुलाई १५ सम्म रुसमा आयोजना हुने २१औं विश्वकपका लागि सहभागी ३२ वटै राष्ट्रले आफ्नो अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्। अन्तिम टोली घोषणाका लागि विश्व फुटबल महासंघ (फिफा) ले जुन ४ सम्मको समय दिएको थियो।

रुस विश्वकपका लागि घोषित ३२ टोलीमा कुल सात सय ३६ जना खेलाडी छन्। सात सय ३६ मध्ये युरोपियन क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने खेलाडीको संख्या ७४ प्रतिशत रहेको युरोपियन क्लब एसोसिएसनले गरेको अध्ययनले देखाएको छ। इङ्लिस क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने एक सय ३२ जना खेलाडी आआफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै आगामी विश्वकपमा सहभागी हुनेछन्। मंगलबार मात्र ब्राजिलका फ्रेड इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा र स्विट्जरल्यान्डका कप्तान स्टेफन लिचस्टेइनर आर्सनलमा आबद्ध भएका थिए।

इङ्लिस क्लबमध्ये पनि म्यानचेस्टर सिटीका सबैभन्दा बढी १६ जना खेलाडीले आगामी विश्वकपमा सहभागिता जनाउँदै छन्। स्पेनिस क्लब रियल म्याड्रिडबाट १५ र बार्सिलोनाबाट १४ जना खेलाडी विभिन्न राष्ट्रबाट विश्वकप टोलीमा परेका छन्। इङ्ल्यान्डको अन्तिम २३ सदस्यीय टोलीमा परेका सबै आफ्नै घरेलु क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने खेलाडी मात्र छन्।

यसैगरी विश्वकपका लागि घोषित स्विडेनको टोलीमा त्यहाँको घरेलु क्लबबाट खेल्ने एकजना पनि खेलाडी छैनन्। आइसल्यान्ड र बेल्जियमको टोलीमा भने आफ्नो घरेलु लिग खेल्ने एक÷एकजना खेलाडी परेका छन्। यसैगरी एसियाली क्लबहरूबाट व्यावसायिक लिग खेल्ने ८२ जना खेलाडीले आगामी विश्वकपमा आआफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन्। यो संख्या विश्वकपमा सहभागी कुल खेलाडीको ११ प्रतिशत भएको अध्ययनले देखाएको छ।

यसैगरी उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका क्लबहरूबाट ५४ जना खेलाडीले आगामी विश्वकपमा सहभागिता जनाउनेछन्। दक्षिण अमेरिकी क्लबहरूबाट भने ३५ जना खेलाडी आगामी विश्वकपमा सहभागी हुनेछन्। दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, ब्राजिल र कोलम्बियाको टोलीमा आआफ्नो घरेलु लिग क्लबका तीन÷तीनजना खेलाडी परेका छन्।

अफ्रिकी राष्ट्रका क्लबहरूबाट भने २१ जना खेलाडी आगामी विश्वकपमा परेका छन्। अफ्रिकी राष्ट्र सेनेगल विश्वकपका लागि घोषणा गरेको २३ सदस्यीय टोलीमा एकजना खेलाडी पनि आफ्नो घरेलु क्लबबाट समावेश गरेको छैन। अर्को अफ्रिकी राष्ट्र नाइजेरियाले भने आफ्नो घरेलु क्लबबाट व्यावसायिक फुटबल खेल्ने एकजना खेलाडीलाई मात्र विश्वकप टोलीमा स्थान दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.