निरश प्रदर्शनपछि पनि रुसी प्रशिक्षक ढुक्क

निरश प्रदर्शनपछि पनि रुसी प्रशिक्षक ढुक्क

मस्को : आफ्नै देशमा आयोजना हुने विश्वकप फुटबलको अन्तिम तयारीमा ब्यस्त रुसले मंगलबार राति खेलिएको अभ्यास खेलमा अर्को निराशाजनक नतिजा निकालेको छ। घरेलु मैदानमा खेलिएको खेलमा रुसलाई टर्कीले १—१ गोलको बराबरीमा रोक्यो। टर्की भने सन् २००२ पछि विश्वकपमा छनोट हुन सकेको छैन। विश्वकप सुरु हुने मिति नजिकिँदै गर्दा रुसले पछिल्ला सात खेलमा एक जित पनि हात पार्न सकेको छैन।

रुसी खेलाडीले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा विपक्षीको पोष्टमा एउटामात्र गतिलो प्रहार गर्न सकेका छन्। पक्कै पनि रुसी समर्थकका लागि यो चिन्ताको विषय हो। रुसी प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभ भने मैत्रीपूर्ण खेलको नतिजाबाट आफू हतोत्साही नभएको बताउँछन्। ‘विश्वकप सुरु हुन अझै धेरै समय बाँकी छ, त्यसैले हामीले अहिले नै चिन्ता गर्नु आवश्यक छैन’, प्रशिक्षक स्टानिस्लाभ भन्छन्।

विश्वकपमा रुसका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक स्टानिस्लाभ बताउँछन्। टर्कीविरुद्घको खेलमा सुरुआती अग्रता भने रुसले नै लिएको थियो। खेल सुरु भएको ३६ औं मिनेटमा एलेक्जेन्डर सामदोभले रुसका लागि पहिलो गोल गरेका थिए। ६०औं मिनेटमा टर्कीका युनुस माल्लीले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन्।

टर्कीका प्रशिक्षक मिर्सिया लुसेस्कु भने विश्वकप अघि नै रुसले आफ्नो प्रदर्शनमा सुधार ल्याउनु पर्ने धारणा ब्यक्त गर्छन्। ‘घरेलु मैदानमा रुसी खेलाडी अनावश्यक दबाबमा देखिए। विश्वकपको मिति नजिकिँदै गर्दा पक्कै पनि यो प्रदर्शन रुसी समर्थकका लागि निराशाजनक हो’, उनी भन्छन्, ‘विश्वकप अघि नै रुसले आफ्नो प्रदर्शनमा सुधार ल्याउनु आवश्यक छ।’

सन् २०१६ सुरु भएयता विश्वकपमा छनोट भएका विभिन्न १३ राष्ट्रविरुद्घ खेलिएको खेलमा रुसले एउटा जितमात्र हात पार्न सकेको छ। आगामी विश्वकपमा रुसले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी साउदी अरेबियासँग जुन १४ तारिखमा उद्घाटन खेल खेल्ने कार्यक्रम छ। रुस र साउदीसँगै समूह ‘ए’ मा दुई बलिया टोली उरुग्वे र इजिप्ट पनि परेका छन्।

पुटिनको रोजाइमा चार राष्ट्र

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी विश्वकपको उपाधि जित्न सक्ने भनी अनुमान गरेका चार राष्ट्रको सूचीमा उनको आफ्नै देश भने परेको छैन। रुस आगामी विश्वकपको आयोजक राष्ट्र पनि हो। राष्ट्रपति पुटिनले आगामी विश्वकपमा अर्जेन्टिना, ब्राजिल, जर्मनी र स्पेनलाई बलियो टोलीको रुपमा लिएका छन्। त्यसमध्ये पनि राष्ट्रपति पुटिनले स्पेनलाई उपाधिको प्रमुख दाबेदारका रुपमा हेरेका छन्।

राष्ट्रपति पुटिनले चाइना मिडिया ग्रुपसँगको कुराकानीका क्रममा भनेका छन्, ‘स्पेनले गजबको फुटबल खेल्दै आएको छ।’ उनले आफ्नो राष्ट्रिय टोलीले भने पछिल्ला दिनमा खासै गतिलो प्रदर्शन गर्न नसकेको बताए। रुसले पछिल्ला सात खेलमा एउटा पनि जित हात पार्न नसक्नु निराशाजनक नतिजा रहेको उनको ठम्याई छ। ‘दुःखका साथ भन्नु पर्छ, पछिल्लो समय हाम्रो राष्ट्रिय टोलीले गतिलो फुटबल खेल्न सकेको छैन। यसका बावजुद रुसका हरेक फुटबलप्रेमी विश्वकपमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरोस भन्ने चाहन्छन्’, उनले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.