गोपाल खड्काले दिए राजीनामा
काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन्। सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि खड्काले राजीनामा दिएका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार बिहान पत्रकार सम्मेलन गरी खड्काले राजीनामा दिएका हुन्।
'मलाई मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाइयो', खड्काले भने, 'मेरो कार्यकाल अझै ६ महिना बाँकी छ तर जिम्मेवारीविहीन भएर बस्नुभन्दा राजीनामा गर्नु नै ठिक लाग्यो र मन्त्रीलाई राजीना पत्र बुझाएँ।' उनले बिहानै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाएको बताए।
खड्काले सातैवटा प्रदेशमा ५ वर्षभित्र पेट्रोलियम पदार्थ भण्डारणको काम पूरा गर्न खोज्दा विभिन्न तत्वले त्यसलाई असफल बनाएको दावी गरे। 'दुर्भाग्बस केही यस्ता त्तवहरू लागे। जग्गा खरिद प्रक्रियामा अनेक लाञ्छाना लगाएर पत्रपत्रिकामा प्रचारबाजी भयो', उनले भने, 'यसले गर्दा काम गर्ने मनोबल पनि गिर्यो।'
खड्काले आफू नेतृत्वमा आएपछि निगमलाई ऋणमुक्त गरेको र ढुवानीको व्यवस्था पनि सहज बनाउँदै लगेको दावी गरे।