नेविसंघले जलायो प्रधानमन्त्री केपी ओलीको पुत्ला
काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाइसम्बद्ध विद्यार्थीहरुले पेट्रोलियमको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै पुत्ला जलाएका हुन् ।
सरकाले केही महिनाको बीचमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि कांग्रेस र उसका संगठनले विरोध गर्दै आएका छन् । कांग्रेसले तरकारी र खाद्यान्नमा पनि चर्को मूल्य बढेको भन्दै सदनमा पनि आवाज उठाउँदै आएको छ ।
उसकै भातृसंगठन नेविसंघले मूल्यवृद्धिविरुद्ध देशव्यापी विरोधका कार्यक्रम गरिरहेको छ । नेविसंघले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै चक्काजाम समेत गरिसकेको छ ।