मदिरा सेवन गरेर कार्यालयमा काम

वडा कार्यालयको लापरबाहीले रोकियो भत्ता

वडा कार्यालयको लापरबाहीले रोकियो भत्ता
वडा कार्यालय परिसरमा भक्कानिँदै धनमाया परियार। तस्बिर : विजयकुमार सिंह

ढल्केबर(धनुषा) : नेपालीहरुको महान चाड विजयादशमीको मिति नजिकिँदै थियो। धनुषामा पनि सामाजिक सुरक्षाभत्ता वितरण धमाधम चलिरहेको थियो। तर, धनुषाको मिथिला नगरपालिका–९ की ५२ वर्षीया धनमाया परियारको हातमा भत्ता परेन। उनी हेर्‍या हेरै भइन्।

छिमेकी फूलकुमारी विश्वकर्मा ८ हजार भत्ता पाएर खुसी भएको देखेकी उनको मन भने त्यहीँ दिन भारी भयो। किनभने भत्ता पाउने आसमा बैंक पुग्दा धनमायाको बैंक खाता रित्तै थियो। बैंकका कर्मचारीले खातामा पैसा नआएको बताएपछि त्यतिबेला उनको बोली नै फुटेन। त्यहाँबाट फर्केर वडा कार्यालय पुग्दा आफ्नो भत्ताको नवीकरण नै नभएको थाहा पाएपछि उनी तिनछक्क परिन्।

त्यसयता उनी दर्जनौं पटक वडा कार्यालय धाइसकेकी छिन्। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको बडहरी खोलाको बगरमा रहेको सुकुम्बासी बस्तीमा सानो झुप्रोमा ओत लागेकी धनमायालाई चरम गरिबीले थिचेको छ। गत जेठ १० गते श्रीमान् वीरबहादुर परियारको मृत्यु भएपछि धनमाया झनै समस्यामा परेकी छिन्। श्रीमान्को मृत्युपछि उनलाई वडा कार्यालयले गत असार १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा परिचयपत्र जारी गरेको थियो। सोहीअनुसार धनमायाले असार महिनाको २ हजार ६ सय ६० रुपैयाँ भत्ता प्राप्त गरिन्। सडकमा फालिएका प्लास्टिकको बोतल टिपेर जीवनयापन गर्दै आएकी उनलाई भत्ताले ठूलो राहत हुने आशा जाग्यो।

वडा कार्यालयले साउनमा नवीकरण गराउन भनेपछि तुरुन्तै भनेको सबै कागजात धनमायाले वडामा पुर्‍याएकी थिइन्। ‘साउनमै हो नवीकरणका लागि सबै कागजपत्र दिएको थिएँ। तुले (वडा कार्यालयका कार्यालय सहयोगी शुक्रबहादुर लामा)लाई सबै बुझाएँ। त्यहीँ (वडा कार्यालयमा) ल्याप्चेहरू लगाए। उहाँ (कार्यालय सहयोगी)ले अब जानुस् तपाईंको काम भयो भनेर मलाई पठाएको थियो,’ भक्कानिँदै धनमायाले भनिन्, ‘म बूढी मान्छेलाई के थाहा ? तिनीहरूले गरिब दिनदुखीलाई झन् दुःख दिन्छन् भनेर।’

घटना अर्को पनि छ। त्यही वडामा पर्ने बेंगाडाबरकी ७९ वर्षीया द्रोनकुमारी बराललाई सुगर, प्रेसरलगायतको रोगले च्यापेको छ। भत्ता आउँदा उनलाई औषधिउपचार गर्न धेरै सजिलो भइरहेको थियो। साउन महिनामा नवीकरणका लागि वडामै पुगेर द्रोनले सबै कागजात बुझाएकी थिइन्। तर, उनको नाम पनि नवीकरण सूचीमा परेन।

साउनयता भत्ता नपाउँदा बाँच्नै कठिन भइरहेको उनी बिलौना गछिन्। द्रोनका ५२ वर्षीय छोरा उमेशराज बराल अति अशक्त छन्। उमेशको कानैनजिक केही बोल्दा पनि उनी पत्तै पाउँदैनन्। उनले पनि अति अशक्त अपांगता भत्ता पाइरहेका थिए। उनको पनि नवीकरणको सबै प्रक्रिया पुर्‍याउँदासमेत वडा कार्यालयले नवीकरण छुटाइदिएको द्रोनले दुखेसो पोखिन्। ‘यस्ता सरकारी सुविधामा हुनेखाने–ठूलाबडाको छुट्दैनन्। हामीजस्ता असहायको सबैथोक गर्दा पनि नवीकरण गर्दिँदैनन् भने के गरौं,’ मलिन अनुहारमा द्रोनले भनिन्, ‘भत्ता हामी बूढाबूढीको लागि बाँच्ने आधार हो। त्यसैमाथि अन्याय भयो।’

धनमाया, द्रोन र उमेश त प्रतिनिधिपात्र मात्र हुन्। मिथिला नगरपालिका–९ को कार्यालयले साउनमा हुने नवीकरणमा १ सय ७३ जनाको सामाजिक सुरक्षा भत्ताको नवीकरण नभएको सूची निकालेका छन्। त्यसमध्ये अधिकांशले सबै प्रक्रिया पुर्‍याउँदा पनि नवीकरण नभएको गुनासो गरिरहेका छन्। 

प्रायः जसोले नवीकरणको कागजातहरू वडा कार्यालयका कार्यालय सहयोगी शुक्रबहादुर (तुले) लामालाई बुझाएको बताइरहेका छन्। त्यही कार्यालय सहयोगी लामा सधैं मदिरा सेवन गरेर कार्यालयमा काम गर्दै आएको वडा कार्यालयमा जाने सेवाग्राहीहरू बताउँछन्। ‘उहाँ (शुक्रबहादुर) कार्यालयमा सधैं झ्याप हुन्छ। उहाँकै कारणले होला कागजात हराएको। एउटा दरुवा कर्मचारीको कारणले सयौंले दुःख पायो। यसको जिम्मेवार वडाध्यक्ष हो,’ एक सेवाग्राहीले भने, ‘उहाँको सधैंको ताल यस्तै हो। सबैथोक हेर्दाहेर्दै त्यस्ता कर्मचारीलाई संरक्षण गर्ने जनप्रतिनिधि कस्तो गैरजिम्मेवार भएको ?’

जनतामाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको उनले उल्लेख गरे। ‘कागजात हराएर सेवाग्राहीलाई समस्यामा पार्नु अपराध हो। त्यस्ता कर्मचारीलाई बर्खास्त गर्नुपर्छ। जनप्रतिनिधिहरूले यसमा नैतिकता देखाओस्,’ ती सेवाग्राही भने।

वडासचिव आनन्दकुमार अधिकारीले भने नवीकरणको आफूकहाँ कागजात आएको सबै लाभग्राहीको सामाजिक सुरक्षाभत्ता नवीकरण भएको दाबी गर्छन्। ‘म कहाँ जति लाभग्राहीको कागजात आयो, त्यो सबै नवीकरण भएको छ। अहिले आएर छुटेका कतिपयले फलानोलाई दिए, चिलानोको हातमा दिए भनेर गुनासो गरिरहनु भएको छ। त्यो मेरो सरोकारको विषय होइन ।’

उनले साउनमा छुटेका लाभग्राहीको नवीकरण पुस मसान्तभित्र भइसकेको जानकारी दिए। ‘लगभग छुटेका जति सबैको नवीकरण भइसकेको छ।’ वडासचिव अधिकारीले भने।

यता, वडाअध्यक्ष दीपकजंग थापाले सूचनाको सबै उपाय अपनाए पनि सेवाग्राहीहरू नवीकरण गराउन नआएको बताए। मदिरा सेवन गरेर कार्यालय सहयोगी कार्यालयमा हुन्छन् भन्ने जिज्ञासामा वडाध्यक्ष थापा र वडासचिव अधिकारी केही बोल्न मानेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.