घोटाला

सानो पाइला सहकारीमा डुब्यो सवा अर्ब रकम

सानो पाइला सहकारीमा डुब्यो सवा अर्ब रकम

वीरगन्ज : वीरगन्ज–१० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको सवा अर्बभन्दा बढी रकम डुबेको छ। संस्थाका सञ्चालक मात्र होइन, कर्मचारीसमेत ६ महिनादेखि कार्यालय बन्द गरी सम्पर्कविहीन छन्। जसकारण बचत रकम फिर्ता नपाउँदा ८ सयभन्दा बढी बचतकर्ता बिचल्लीमा परेका छन्।

काठमाडौं कालीमाटीमा केन्द्रीय कार्यालय रहेको यो सहकारीका मुख्य व्यवस्थापक तथा सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हुन्। उनीसहित अधिकांश पदाधिकारी फरार भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्। सानोपाइला सहकारी पीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालका अनुसार उक्त संस्थामा वीरगन्जका साना तथा ठूला व्यापारी, मजदुर, सर्वसाधारण गरी आठ सयभन्दा बढी व्यक्तिको करिब १ अर्ब ३५ करोड रुपैयाँ बचत थियो। उपचारका लागि थोरै–थोरै गरेर जम्मा गरेको रकम आवश्यक परेका बेला फिर्ता पाउन नसकेको बताउँछन् बचतकर्ता अंकति अग्रवाल। 

‘आँखाको उपचारका लागि ठूलो रकम चाहिन्छ भनेर प्रत्येक महिना मिहिनेत गरेर कमाएको २०–२५ हजार जम्मा गर्दै आएको थिएँ’, उनी भन्छन्, ‘१० लाख जति एफडी पनि गरेको थिएँ। उपचार गराउने समय आउँदा सहकारीको अफिस नै बन्द छ। अब मैले आफ्नो उपचार कसरी गराउने ?’

अर्का बचतकर्ता रामबाबु कलवारले छोरीको बिहेका लागि भनेर सहकारीमा पैसा जम्मा गरेका थिए। उनले पनि त्यो रकम फिर्ता पाउन सकेका छैनन्। ‘जग्गा बेचेर श्रीमतीको नाममा खाता खोली ६ लाख रुपैयाँ जम्मा गरेको थिएँ। त्यसको अलावा दैनिक ५००–१००० को दरले पनि पैसा जम्मा गर्दै आएको थिएँ’, उनी भन्छन्, ‘छोरीको बिहे बेला पैसा झिक्न जाँदा सहकारीमा ताला लागेको देखेर आफंै पो जिल्ल परियो। 

सहकारीका साहुहरूको अत्तोपत्तो छैन। कर्मचारी पनि सम्पर्कविहीन छन्।’ अर्का पीडित विक्रम सर्राफको दुखेसो पनि उस्तै छ। भन्छन्, ‘एक वर्ष पहिले हामीहरू पैसा माग्न पुगेपछि शाखा प्रमुखले पाँच–पाँच हजारको दरले दिन्छौं भनेका थिए। तर, एकसुको पनि फिर्ता पाइएन। खुनपसिना चुहाएर कमाएको पैसा डुब्यो।’

आफ्नो पैसा फिर्ता र सञ्चालकलाई कारबाहीको माग गर्दै पीडितले वीरगन्जमा प्रदर्शन गर्दै आएका छन्। उनीहरूले वीरगन्ज महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन्। तापनि अहिलेसम्म रकम फिर्ता पाउन सकेका छैनन्। सहकारीका कर्मचारीले एक वर्षदेखि जम्मा भएको पैसा फिर्ता नदिएपछि पीडितले गत जेठ ३२ गते आदर्शनगरस्थित कार्यालयमा धर्ना दिएका थिए। त्यसपछि पनि कुनै सुनुवाइ नहुँदा पुस २७ गते पनि उनीहरूले वीरगन्जमा विरोध प्रदर्शन गरे। 

‘पुस २७ मा जुलुस निकालेर प्रदर्शन गर्‍यौं। अब सहकारीका फरार मुख्य सञ्चालक जीवी राईसहितकालाई पक्राउ गरी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा पनि ज्ञापनपत्र बुझाउँछौं’, संघर्ष समितिका संयोजक अग्रवाल भन्छन्, ‘त्यसपछि जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई पीडितहरूले सामूहिक रूपमा भेटेर दबाब दिन्छौं।’

महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवद्र्धन शाखाका प्रमुख सुनील कर्णका अनुसार सानोपाइलाविरुद्ध १ सय १५ भन्दा बढी बचतकर्ताको लिखित उजुरी परेको छ। महानगरमा परेको उजुरीका आधारमा सहकारीले एक अर्बभन्दा बढी रकम हिनामिना गरी सदस्यलाई फिर्ता नगरेको देखिएको कर्णको भनाइ छ। जिल्ला प्रहरी कार्यालय पर्सामा पनि ५२ वटा उजुरी परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा बताउँछन्। 

पक्राउ पुर्जीपछि जीवी राईसहित सञ्चालक फरार

सहकारीले एक वर्षदेखि बचतकर्ताको रकम फिर्ता दिन आनकानी गरेको भन्दै उजुरी परेपछि महानगरपालिकाले गत जेठ १६ गतेभित्र सञ्चालकहरूलाई बोलायो। तर, उक्त समयभित्र सहकारी सञ्चालक उपस्थित भएनन्। महानगरपालिकाले गत जेठ ३१ गते सार्वजनिक सूचना नै जारी गर्दै सात दिनभित्र हाजिर हुन निर्देशन दियो। सहकारीका सञ्चालकले त्यसलाई पनि अटेरी गरे। 

महानगरपालिकाले गत असार २४ गते संस्थाका मुख्य सञ्चालक तथा संरक्षक जीवी राईसहित सञ्चालकलाई महानगरपालिका कार्यालयमै झिकाएर छलफल चलायो। उक्त छलफलमा सञ्चालक र व्यवस्थापकले समस्या समाधानका लागि १५ दिनको समय मागे। संस्थाको आर्थिक अवस्थाबारे प्रस्ट हुने गरी श्वेतपत्र जारी गर्ने भने। यद्यपि संस्थाले जारी गरेको श्वेतपत्र चित्तबुझ्दो नभएपछि महानगरपालिकाको टोली सहकारी कार्यालयमा अनुगमनमा पुग्यो। तर, अनुगमनमा जाँदा त्यस दिन सहकारी कार्यालयमा संरक्षक, सञ्चालक, पदाधिकारी र व्यवस्थापक कोही पनि नभेटिएको कर्ण बताउँछन्। 

महानगरले भदौ ४ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकको चलअचल सम्पत्ति रोका गरेर उनीहरूलाई पक्राउ गर्न विभिन्न निकायमा पत्राचार गरेको थियो। कर्णका अनुसार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमक्ष सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको थियो। 

नेपाल राष्ट्र बैंकसमक्ष सहकारीका संरक्षक, पूर्वसञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूसमेतको बैंक खाताका साथै चल–अचल सम्पत्ति रोक्का गर्न सिफारिस गरिएको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसमक्ष संस्थाका संस्थापक एवं संरक्षक जीवी राई, अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य अशोक यादव, थानबहादुर बुढा मगर र धीरज दास, संस्थाका व्यवस्थापक असरफ अली, पूर्वउपाध्यक्ष नेहा पौडेल, पूर्वसचिव तस्बिरन मियाँ, पूर्वकोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरी कारबाहीका लागि सिफारिस गरिएको थियो।

पर्सा जिल्ला अदालतले गत असोज पहिलो साता सहकारीका सञ्चालक, व्यवस्थापक, सदस्य र कर्मचारीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतले सहकारीका संस्थापक जीवी राई, वर्तमान अध्यक्ष अनन्त बाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, पूर्वउपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्र बाबु राई, पूर्वसचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वकोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्यहरू थानबहादुर बुढा मगर, धीरजकुमार दास, पूर्वसदस्य अशोक यादव, प्रवन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियोे। 

जसमध्ये कोषाध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधेचन्द्र यादव मात्र समातिएका छन्। रम्तेललाई काठमाडौंस्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मीनभवनले गत भदौ २५ गते पक्राउ गरेको थियो। पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यसमेत रहेका रम्तेलले सहकारीमार्फत झन्डै एक हजार बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो। यादवलाई भने पर्सा प्रहरीले गत असोज ५ गते पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहको भनाइ छ। उनका अनुसार फरार रहेकाहरूको खोजी जारी छ। 

बचतकर्ताले जम्मा गरेको रकम फिर्ता माग्दै प्रदर्शन र धर्ना दिन थालेपछि कर्मचारी पनि  कार्यालय छाडेर सम्पर्कविहिन छन्। कार्यालयमा महत्वपूर्ण कगजात र उपकरणहरू पनि छैनन्। महानगरपालिकाको टोलीले सहकारीको शाखा कार्यालय गत पुस २७ गते सिल गरेको छ। मेयर राजेशमान सिंहको निर्देशनमा बिहीबार वडाध्यक्ष जयप्रकाश अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रह्मदेवप्रसाद यादव र प्रहरी सहायक निरीक्षक राम ईश्वर महतोको रोहवरमा सहकारी सिल गरिएको कर्णको भनाइ छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.