मुग्लिन-नारायणगढ सडक : पहिरोले दिनभर सास्ती

मुग्लिन-नारायणगढ सडक : पहिरोले दिनभर सास्ती

मुग्लिन : पहिरो खसेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक लगातार ११ घण्टाको प्रयासपछि खुलेको छ । मंगलबार बिहान ५ बजे इच्छाकामना गाउँपालिका-५ टोपेखोलामा पहाड खस्दा पूर्ण रूपमा अवरूद्ध भएको सडकमा दिउँसो पौने चारबजे दुईतर्फी सवारी खुलेको हो । पहिरो हटाउन ११ घण्टासम्म लगातार तीनवटा एक्साभेटरले काम गरेको थियो । करिब १२ घण्टाको जामपछि बल्ल यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

मुग्लिन नारायणगढ सडकखण्डको स्तरोन्नतिको काम अन्तिम चरणमा पुग्दै गर्दा वर्षा लागेसँगै पहिरोले हरेक दिनजसो यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

विशेष गरी मुग्लिनदेखि जलवीरेसम्मको क्षेत्र पहिरोको बढी जोखिमयुक्त क्षेत्र मानिन्छ । सोमबार राति परेको पानीको कारण मुग्लिनको छेवैमा पनि सानासाना ढुंगा खसेका थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार चारकिलोमा पनि दुई ठाउँमा सानोसानो पहिरो खसेको थियो । आयोजनाले यस सडक खण्डमा ३३ स्थानलाई पहिरोग्रस्त क्षेत्र निर्धारण गरेको छ ।

पहिरो हटाइएपछि यात्रुको चाप धेरै भएकाले सवारी पास गर्न समस्या भएको थियो । बिहान ६ बजेदेखि पहिरोस्थलमा रहेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार लामो जामपछि बाटो खुलेकाले सवारी व्यवस्थापनमा समस्या भएको हो । मुग्लिनतर्फ करिब १० किलोमिटर र नारायणगढतर्फ १२ किलोमिटर दूरीमा सवारी जाम भएको थियो ।

भोकभोकै यात्रु

दाङबाट काठमाडौँ हिँडेका मनोज वैश्य बिहान ४ बजे चारकिलो आइपुगेका थिए । अगाडि टोपेखोलामा ठूलो पहिरो खसेपछि उनी जाममा परे । बिहानैदेखि जामको सामना गरेर बसेका उनी बाटो खुल्ने आसमा चारकिलोमै दिन बिताए । नजिकै होटल तथा खाजा पसल नभएकोले चाउचाउ खाएर भोक मारे ।

‘बिहानै आइपुगियो, कतिखेर जाम खुल्ने हो थाहै छैन,’ उनले भने, ‘अहिलेसम्म एक पोका चाउचाउको भरमा बसिरहेका छौँ ।’ कतिपय यात्रु पसल नै नभएको ठाउँमा परेका यात्रु भने पानीको भरमा बस्न बाध्य भए ।

वीरगञ्जबाट पोखरा हिँडेकी अञ्जली साहले पहराबाट निस्केको पानी खाएर बसिरहेको बताइन् । ‘पहिरो हटाउन किन यति ढिलाइ गरेको हो भन्ने बुझ्नै सकिएन,’ उनले भनिन्, ‘नजिकमा पसल नभएकाले केही खान पाएको छैन ।’

काठमाडौँमा पस्मिना उद्योगमा काम गर्दै आएका सर्लाहीका राकेश राउत घरबिदामा आएर फर्किएका थिए । मंगलबार कार्यालयमा हाजिर हुन भनेर घरबाट हिँडेका उनको दिन बीचबाटोमै बित्यो । ‘हिजै अफिस पुग्नुपर्ने मान्छे । एकदिन बिदा थपेर राति घरबाट हिँडेको झन् यस्तो समस्यामा पो फसियो,’ उनी भन्छन्, ‘सडक आयोजनाको कमजोरीले गर्दा पहिराको समस्या आएको हो ।’

सडक निर्माणकै क्रममा सम्भावित स्थानमा सजगता अपनाउनुपर्नेमा त्यसो नगरिएकोले कतिखेर कहाँ पहिरो खस्छ भन्ने नै थाह नभएको उनको भनाइ छ ।

काठमाडौँबाट सुर्खेत हिँडेका माइक्रो चालक मंगल मानन्धरले भने बीपी राजमार्गमा जस्तो तरिका अपनाए यहाँको पहिरो रोकथाम गर्न सकिने सुझाए । बिहान ११ बजे मुग्लिन पार गरेका उनी पनि पाँच घण्टा जाममा परे ।

सञ्जय साह वीरगञ्ज काठमाडैाँ रूटका बस चालक हुन् । पहिरो खसेको समयमा पहिरो नजिकै आइपुगेका उनले पहिरोको आवाज सुनेपछि गाडी रोके । ‘अलि पर पहिरो खसेको रहेछ,’ उनले भने, ‘त्यसपछि मनमा डर पनि लाग्यो । रातको समय यात्रुलाई कसरी सुरक्षित यात्रा गराउने भन्ने लाग्यो । अनि गाडीमा सुतेका सबै यात्रुलाई अगाडि पहिरो खसेको भनेर जानकारी गराएँ र गाडीलाई सुरक्षित स्थानमा राखेँ ।’ चितवन प्रहरीले बिहान पाँच बजे पहिरो खसेको भनिए पनि उनी भने पाँच बज्नुभन्दा पहिले नै पहिरो खसेको बताउँछन् । 

बिहान चारबजेभन्दा अघि नै पहिरो खसेको उनको भनाइ छ । बर्खाको समय जोखिमयुक्त यात्रा गर्नुपर्ने भए पनि आफ्नो रोजीरोटीको कारण चुप लागेर बस्न नमिलेको उनी बताउँछन् ।

कारण कमजोर भू-सतह

मुग्लिन नारायणगढ सडक आयोजनाले भने पहिरो रोक्ने प्रयास भइरहेको दाबी गरेको छ । कोशिस गर्दागर्दै पनि कमजोर भू-सतहले गर्दा पहिरो खस्ने समस्या भएको आयोजनाका वरिष्ठ इञ्जिनियर गोविन्द खनालले बताए ।

‘कमजोर भू-सतहसँगै भूकम्पको रेखा पर्ने ठाउँ भएकोले पनि समस्या समाधान हुन नसकेको हो,’ उनी भन्छन्, ‘तैपनि पहिरो रोकथामको प्रयास भने भइरहेको छ ।’ पहिरो रोकथामको लागि रक नेटिङ, रक बोल्टिङ, बोलस्टर र बायो इञ्जिनियरिङजस्ता विधि अपनाएर काम गरिरहेको उनले बताए ।

यी क्षेत्रहरू सबैभन्दा बढी आयोजनाको तेस्रो खण्डमा पर्दछन् । पहिरो रोकथामको लागि नयाँ विधि अपनाए पनि सबै ठाउँमा समस्या समाधान नहुने देखिएपछि पुनः विज्ञहरूमार्फत अध्ययन गरेर अन्य विधि अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । सडक स्तरोन्नतिको काम सकिनै लागे पनि यात्रुहरूलाई सहज यात्रा गर्न सक्ने अवस्था अझै बनिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.