अवैध क्रसर जोगाउँदै
जनकपुरधाम : अवैद्य क्रसर उद्योगको विरोध गरेकै कारण क्रसर व्यवसायी विपिन महतोको समूहले धनुषामा दिलिप भनिने ओमप्रकाश महतोको हत्या ग¥यो। जिल्लाको मिथिला नगरपालिका ढल्केवरमा क्रसर उद्योगको अवैद्य उत्खनन्विरुद्ध उत्रेका युवा दिलिपलाई डोजरले किचेर निर्मम हत्या गरियो।
औरही खोलामा टिपरले बालुवा गिट्टी चोरी गरिरहेको थाहा पाएर टिपर समात्न गएका दिलिपलाई क्रसर व्यवसायी सहितका मानिसले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। निर्मम हत्याको यस घटनाले अहिले धनुषामा मात्र होइन, देशै स्तब्ध बनेको छ। चुरे संरक्षणका लागि एक युवाले आवाज उठाउनेबित्तिकै उनको घाँटी निमोठियो। अवैद्य रूपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने क्रसर व्यवसायीको मनोबल प्रहरी प्रशासन र सरोकारवाला निकायको मौनताकै कारण बढेको जिल्ला समन्वय समिति धनुषाका उपसंयोजक दिपक झाको ठम्याइ छ। क्रसर उद्योगहरूको अनुगमन गर्ने समितिले पछिल्लो एक महिनादेखि अनुगमनको काम बन्द गरेको झाले बताए। उनले भने, ‘हामीले अनुगमन पनि छाड्यौं र बैठक पनि बसेको छैन। यसको कारण अनुगमनका निर्णयको कार्यान्वयन नहुनु हो।’
अवैद्य रूपमा नदी उत्खनन् गर्नेहरू निकै आक्रामक रहेको र यो समस्या निकै विकराल भएको हुँदा निर्णयहरूको प्रभावकारी कार्यान्वयन नभएको झाको ठम्याइ छ। उनले भने, ‘अनुगमन समितिका निर्णयलाई नियमन गर्ने काम स्थानीय निकायको हो तर उहाँहरूलाई कुनै मतलव छैन।’ उनले थपे, ‘राति राति क्रसर चल्दा जिल्लासम्म आवाज आउँदैन तर स्थानीय निकायले त सुन्नु पर्ने हो। नत्र प्रहरीले सुन्नुपर्छ तर कसैले मतलब राखेको छैन।’
झाको भनाई खण्डन गर्दै मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले भने, ‘राति खोलामा उत्खनन् हुन्छ। के हामी सबै ठाउँमा छापा हान्दै जानू ? ’ उनले क्रसरहरूलाई अनुमति नदिएको बताए। ‘राति जेसिबीको बत्ती निभाएर नदी खन्छन्, यस्तोमा जनशक्तिविहीन नगरपालिकाले कसरी अनुगमन गर्ने ? ’, महतोले थपे। उनले प्रहरीलाई इंगित गर्दै भने, ‘यस्ता अवैद्य गतिविधिमा प्रहरीले सहयोग गर्नुपर्छ।’
प्रहरीकै मिलोमतोमा अवैद्य क्रसर उद्योगीले निर्धक्क भएर नदी उत्खनन् गरिरहेको अनुगमन समिति र जनप्रतिनिधिको आरोपलाई प्रदेश २ का डीआईजी प्रद्युम्नकुमार कार्की निराधार बताउँछन्। नदीजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउने, लाइसेन्स दिने र अनुगमन गर्ने काम सम्बन्धित नगरपालिकाको भएको उनको भनाइ छ। यस विषयमा नेपाल प्रहरीको कुनै भूमिका नरहेको उनको भनाइ छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँणेल अवैद्य क्रसर उद्योग नियन्त्रण गर्न नियमनकारी निकायकै भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, ‘हालै धनुषामा जुन घटना भयो त्यो निकै दुःखद हो तर अनुगमनकै कारण गतवर्षभन्दा यस वर्ष अवैद्य क्रसर उद्योग ह्वातै घटेका छन्।’
प्रतिक्रिया दिनुहोस !