भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो

भागरथी हत्या प्रकरण : परीक्षणका लागि भेजाइनल स्वाब काठमाडौं पठाइयो

बैतडी : दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । 

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । स्वाब परीक्षणले थप अनुसन्धानका लागि सहज हुने प्रहरी प्रवक्ता जनक धाँमीले जानकारी दिए।

उनले भने, 'घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ ।' डिएनए परीक्षणका लागि ‘भेजाइनल स्वाब’लगायतका नमूना सङ्कलन गरिएका हुन् । भागरथीको ‘भेजाइनल स्वाब’मा शङ्का लागेको व्यक्तिको शुक्रकिटसँग मिलेमा दोषी ठहर हुने प्रहरीले बताएको छ ।  

स्वाब एक सहायक सामग्री भएकाले बलात्कार गर्ने व्यक्तिको डिएनए छुटेको भएमात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए। उनले भने, ' स्वाब परीक्षण रिपोर्टले कसरी मृत्यु भयो भन्ने कुराको प्रमाणित गर्छ ।'

शवको परीक्षण कार्य जिल्ला अस्पतालमा शनिबार गरिएको भए पनि अझै सार्वजनिक गरिएको छैन । शव परीक्षण गरिएको भए पनि रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । उनले भने, 'रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउछौँ ।'

शव परीक्षण रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन् । बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए।
    
उनले भने, 'वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझने कुरै हुँदैन,' माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।  भागरथी दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत रहेकी थिइन् ।  

पाँच दिनसम्म पनि हत्यारा पत्ता लागेन  

प्रहरीले घटनालाई गम्भीररुपमा लिएको बताए पनि घटना भएको पाँच दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन । घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अनुसन्धान र अध्ययनका लागि हाम्रो माथिल्लो निकाय पनि परिचालन भएको छ उहाँले भन्नुभयो, “दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ ।”

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक  उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ । 

प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका साथै तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो । यस क्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकोले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।  

किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर  आन्दोलन गरिरहेको छ । आइतबारदेखि तीन दिनका लागि शैक्षिक हड्ताल गरिएको सङ्घर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिनुभयो । 

सङ्घर्ष समितिले पहिलो चरणमा तीन दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आम हड्ताल गर्ने घोषणा गरेको छ ।  यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए ।   

भागरथीले न्याय पाउनुपर्ने र दोषीलाई पत्ता लगाउन मागसहित जिल्लास्थित राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् । जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि र्‍यालीसहित दोषीलाई यथाशीघ्र पक्राउको माग गर्दै नाराबाजीसमेत गरिएको छ ।रासस  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.