पहिला जेठ २ मा फर्काउनुस् : नेपाल

पहिला जेठ २ मा फर्काउनुस् : नेपाल

श्री केपी शर्मा ओली,
अध्यक्ष
नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)।

विषय: पार्टीको एकता कायम राख्न आग्रह।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट विघटन भई उक्त दुई पार्टीहरू पूर्ववत् अवस्थामा रहने तथा पुन: एकता गर्ने भए निर्वाचन आयोगमा जानु भन्ने भएपछि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाई छलफल गरिनु पथ्र्यो। त्यसो नगरी तपाईंले गत फागुन २८ गते पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधान मिचेर केन्द्रीय कमिटी भङ्ग गरी कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो। त्यसरी आयोजक कमिटी गठन गर्दा हामी लगायतका केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय गर्नुभयो। 

त्यतिले मात्र नपुगेर तपाईंले केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटीका सदस्यसमेत चार जनालाई पार्टी सदस्यबाट नै निलम्बित गर्ने तानाशाही निर्णय गर्नुभयो। प्रतिनिधिसभाका हामी ३० जना सदस्यलाई आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै स्पष्टीकरण सोध्नुभयो। पार्टी स्थायी कमिटीमा मनपरी किसिमले नियुक्ति गर्दै कार्यविभाजन गरी निर्देशन जारी गर्नुभयो। 

प्रदेश समन्वय कमिटीमा स्वेच्छाचारी किसिमले पजनी गर्दै तपाईंले अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीहरूलाई विघटन गर्नुभयो। जनसंगठन र पेशागत संगठनहरूमा पनि त्यसरी नै स्वेच्छाचारी किसिमले आफ्नो गुट बाहेकका व्यक्तिहरूलाई जिम्मेवारीबाट हटाउनुभयो। तपाईंका यस्ता पार्टी विधानविपरीत तथा लोकतान्त्रिक मान्यताविपरीतका क्रियाकलापहरू सच्याउन हामीले विभिन्न समयका प्रत्यक्ष वार्ताहरूमा समेत आग्रह गर्‍यौं। तर, त्यसप्रति तपाईंले कुनै सुनुवाइ गर्नुभएन। यसबाट देश, जनता र पार्टीमा पर्ने असरप्रति असंवेदनशील भएर तपाईंले प्रतिनिधि सभामा यही वैशाख २७ गते विश्वासको मत लिने कुरा गर्नुभएको छ। यस्तो विषयमा समेत तपाईंले पार्टीभन्दा बाहिर समर्थनका लागि अनुनयविनय गर्नुभयो भने पार्टीमा आफ्नो गुटबाहेकको  पंक्तिप्रति शत्रुवत् व्यवहार देखाइरहनु भएको छ। तपाईंले वार्ता गर्ने वा पार्टी एकता गर्ने भनी आफू निकट व्यक्तिहरूलाई खटाएझै गर्नुभएको काम कति नक्कली रहेछ भन्ने यही वैशाख २६ गते दिनुभएको अहंकार र विद्वेषपूर्ण वक्तव्यबाट छर्लङ्ग हुन्छ। वक्तव्यमा तपाईलें आफ्ना पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरूमा पर्दा हाल्न अरूमाथि प्रहार गर्नुभएको छ। यस्तो स्थितिमा निम्नलिखित कुराहरूको आधारमा मात्र तपाईंले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्न सकिने यथार्थबारे जानकारी गराउन चाहन्छौं। 

१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचारसंहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने। 

२) नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने। 

३) पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने। 

४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूका बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने। 

५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकताअनुसार सञ्चालन गर्ने।

६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने। यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने। 

हामीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता र पार्टीको हितका लागि अगाडि सारेका उपयुक्त कुराहरूलाई गम्भीर रूपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपार्ईं र तपाईं निकट सबै नेता, कार्यकर्ता र सदस्यहरूलाई आह्वान गर्दछौं। हाम्रा उक्त जायज आवाजहरूलाई बेवास्ता गरियो भने तपाईं पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ। त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ। यसका लागि पनि जिम्मेवार तपाईं नै हुनुहुनेछ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको रक्षार्थ सञ्चालित अभियानकर्ता स्थायी कमिटी, केन्द्रीय कमिटी र अन्य सबै कमिटी, नेता र कार्यकर्ताहरूको तर्फबाट – 

माधवकुमार नेपाल
वरिष्ठ नेता,नेपाल कम्युनिष्ट पार्टी (एमाले)।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.