एमाले विधान महाधिवेशन : यी हुन् पारित  प्रस्तावहरू

एमाले विधान महाधिवेशन : यी हुन् पारित  प्रस्तावहरू

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ। विसं. २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न भएको हो। महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सुझावसहित पारित गरेको छ।   
 
महाधिवेशन हलमा अध्यक्ष मण्डलका तर्फबाट सदस्य रघुजी पन्तले विभिन्न समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए। सो परस्ताव पारित गरिएको छ:

पारित प्रस्तावहरु  

१. यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणको आन्दोलन र क्रान्तिमा सङ्लग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नु हुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आदर्शलाई निरन्तर अनुशरण गरिरहने सङ्कल्प गर्दछ।

२. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका साथै पार्टीका पूर्व महासचिव तुलसीलाल अमात्य र नेपालको वाम–लोकतान्त्रिक आन्दोलन एवं महिला मुक्ति अभियानकी अग्रणी व्यक्तित्व सहाना प्रधान लगायत आन्दोलनका अग्रज कमरेडहरुप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछ। 
नवौं महाधिवेशन यता दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेडहरु रामनाथ ढकाल, महिम सुब्बा लिम्बु, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागार्इँ र योगनारायण यादव तथा पार्टीका पूर्व स्थायी कमिटी सदस्य, लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारी, केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्ना एवं केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य जागृत भेटवाल, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य माणिकलाल गौतम, वीरबहादुर सिंह, कमला सुवेदी, वीरबहादुर लामा, लोकप्रिय जनकलाकार जेबी टुहुरे लगायत यसबीचमा दिवंगत हुनुहुने कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

३. यो महाधिवेशन अनेकौं प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वहरुलाई अन्त्य गर्ने, संविधान र सङ्घीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधार लगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनु परे पनि जनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने सङ्कल्प गर्दछ।

४. यो महाधिवेशन नेकपा (एमाले) लाई विभाजन गरी छाड्ने दूषित मनशायका साथ ल्याइएको अध्यादेश, संविधानको अपव्याख्या र संवैधानिक अङ्गहरुका कतिपय मर्यादाबाहिरका काम र निर्णयका समेतका आधारमा नेकपा (एमाले)लाई विभाजन गराइएको घटनाप्रति क्षोभ प्रकट गर्दछ। भ्रमवस विभाजनको पक्षमा लागेका पार्टी कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्केर नेकपा (एमाले) लाई सुदृढ गर्ने र एकताबद्ध एमालेका नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्ने अभियानमा योगदान दिन हार्दिक  अपिल गर्दछ।

५: यो महाधिवेशन वर्तमान गठबन्धन सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेर लाखौं सुकुम्बासी  भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकहरुका अधिकार  र अपेक्षामाथि घात गरेकोमा निन्दा गर्दै संविधानले व्यवस्था गरेको आवासको हक, भूमिहीन दलितहरुको जमिनको हक लगायत अधिकारको प्रत्याभूतिका लागि निरन्तर सङ्घर्षरत रहने सङ्कल्प गर्दछ।

६. यो महाधिवेशन २०७८ साउन  १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीहरुद्वारा तुइन चुँडाइएर दार्चुलाका जयसिंह धामी बेपत्ता पारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस क्रममा सरकारले देखाएको लाचारीप्रति खेद व्यक्त गर्दछ। अविलम्ब दोषीमाथि कार्बाही सुनिश्चित गर्न र पीडित परिवारलाई न्याय एवं राहत प्रदान गर्न माग गर्दछ।

७. हालै गठबन्धन सरकारले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी प्रतिस्थापन विधेयक मार्फत् आयकर ऐन, २०५८ मा संशोधन गरी ल्याएको प्रावधानभित्र सत्तास्वार्थका लागि अवैध स्रोतलाई चोख्याउने दुराशय निहित रहेको छ। यो महाधिवेशन यस्तो प्रावधानले नेपाल पक्ष रहेका सुशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धी र प्रतिबद्धताको उल्लङ्घन हुने, विश्व समुदायमाझ नेपालको विश्वसनीयतामाथि आँच पुग्ने एवं नेपालले अनपेक्षित समस्याहरुको सामना गर्नु पर्ने  संभावना रहेकोप्रति गहिरो चासो व्यक्त गर्दछ। यस्तो गलत निर्णयलाई तत्काल सच्याउन माग गर्दछ।

८. वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा पूर्ववर्ती सरकारले ल्याएका धेरै विकास निर्माणका परियोजना, जनताको हितसँग जोडिएका निर्णय एवं नियुक्तिहरुलाई उल्ट्याउँदै आफ्नो विकास विरोधी चेहरालाई उद्घाटित गरेको छ। यो महाधिवेशन सरकारको विकास विरोधी यस्ता निर्णय र कदमहरुप्रति गंभीर आपत्ति प्रकट गर्दछ।

९. वर्तमान सत्ता गठबन्धनका कतिपय नेताहरुबाट व्यक्त नेकपा (एमाले) माथि आक्रमण गर्न दुरुत्साहित गर्ने खालका अभिव्यक्तिहरुप्रति महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ। महाधिवेशन सत्ता सञ्चालकहरुका यस्ता अभिव्यक्तिहरु अलोकतान्त्रिक, आपत्तिजनक र निन्दनीय रहेको यो महाधिवेशन ठहर गर्दछ।

१०. वर्तमान सरकारले गरेका कतिपय निर्णयहरुले दुई छिमेकीसँग सन्तुलित र विश्वासिलो सम्बन्ध राख्नु पर्ने राष्ट्रिय आवश्यकता र परराष्ट्र नीतिको मर्ममाथि आँच पुर्‍याएको ठहर गर्दै यो महाधिवेशन नेपालले छिमेकी लगायत सबै मित्र राष्ट्रहरुसँग नेपालको राष्ट्रिय हितमाथि आधारित स्वतन्त्र परराष्ट्र नीतिमा आधारित सन्तुलित, परिपक्व र विश्वासिलो सम्बन्ध राख्नु पर्ने आवश्यकतामा जोड दिन्छ।

११. नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भूभागमा रहेको बाह्य अतिक्रणलाई समाप्त गरी ती भूभागमा नेपालको हकभोग कायम गर्नको लागि गम्भीर कूटनीतिक पहल र वार्ता गर्न यो महाधिवेशन नेपाल सरकारसँग माग गर्दछ। 

१२. यो महाधिवेशन आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरुमा पार्टीको विजय सु निश्चित गर्न र यसका लागि आवश्यक सङ्गठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरुलाई आह्वान गर्दछ।

१३.  कोभिड महामारी आज विश्वकै चुनौतीमा रुपमा देखा परेको छ। नेपाललाई पनि यसले नराम्रो गरी प्रभावित गरेको छ। कोभिड महामारीको नियन्त्रणका लागि पूर्ववर्ती सरकारले गरेका खोप लगायत प्रबन्धहरुका कारण कोभिड क्रमशः नियन्त्रणमा आइरहेको यथार्थ हाम्रा सामु छ। यस सम्बन्धमा प्रदेश र स्थानीय सरकारहरुको भूमिका पनि महत्वपूर्ण रहेको छ। अग्रपङ्क्तिमा रहेर कोभिड विरुद्धको लडाईँको नेतृत्व गर्नु हुने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, एम्बुलेन्स चालकहरु, सफाइकर्मी र शव व्यवस्थापनमा सङ्लग्नहरुको योगदानको उच्च प्रशंसा गर्दै यो महाधिवेशन अझै पनि महामारीको जोखिम कायमै रहेको कुरालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालनाका लागि सबैसँग आग्रह गर्दछ।

१४. यो महाधिवेशन विभिन्न रुपमा जारी रहेका महिला विरुद्धका हिंसाका घटनाप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्दै यस खालका अपराधका विरुद्ध आवश्यक जागरण, सजगता र दबाबका लागि भूमिका खेल्न पार्टी पङ्क्तिलाई आह्वान गर्दछ। यस्ता अपराधमा सङ्लग्नहरुलाई कडा कानुनी कार्बाहीको माग गर्दछ।

१५.  यो महाधिवेशन नजिक आइरहेका सांस्कृतिक पर्वहरु–बडा दशैं, तिहार, नेपाल सम्बत् ११४२ तथा छठ लगायतको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुस्वास्थ्य, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।

१६. यस महाधिवेशनलाई भव्य रुपमा सफल पार्न पुर्‍याउनु भएको योगदानका लागि ललितपुर जिल्ला कमिटी र मातहत कमिटीहरु, जिल्लाका जनप्रतिनिधिहरु, गोदावरी नगरपालिका, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकर्मी, प्राविधिक मित्रहरु, भान्सा र आवासमा सहयोग पुर्‍याउने साथीहरु, सवारी चालकहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछ। महाधिवेशनको सुव्यवस्थाका लागि अहोरात्र खट्ने स्वयंसेवकहरुको उच्च प्रशंसा गर्दछ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.