फेसबुकबाटै आक्रामक चुनाव प्रचार
हेटौंडा : पहिले पहिले चुनावमा चोकचोकमा भाषण र र्यालीका आवाज सुनिन्थे, सार्वजनिक स्थलका भित्ताहरु पर्चा पम्प्लेट र चुनावी नाराले रंगिन्थे। अहिले समय परिवर्तन भएको छ। भाषण र र्यालीका फोटो तथा भिडियो अहिले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालका भित्तामा प्रशस्त देख्न पाइन्छ।
पछिल्ला निर्वाचनमा निर्वाचन आयोगले सार्वजनिक स्थानमा पर्चा पम्प्लेट टाँस्न दिएको छैन भने सार्वजनिक स्थानमा पार्टीका झण्डासमेत राख्न निषेध गरिएको छ। अघिल्ला निर्वाचनहरुमा चुनावका नारा र दलका प्रचारले सार्वजनिक स्थानका भित्ताहरू रंगीन हुने गरेकोमा अहिले त्यसको विकल्पको रुपमा सामाजिक सञ्जालका भित्ताहरू रंगीन हुने गरेका छन्। पार्टीका झण्डा तथा पर्चा पम्प्लेट सार्वजनिक स्थानमा टाँस्नुको विकल्प पनि सामाजिक सञ्जाल बन्न थालेको छ।
एकै पटक धेरै मानिससम्म पुग्न सकिने भएकाले उम्मेदवारहरूले प्रचारका निम्ति यस्ता सञ्जालको प्रयोग गरेको देखिन्छ। इन्टरनेटमा पहुँच भएकाहरू कुनै न कुनै माध्यममार्फत सामाजिक सञ्जालमा संलग्न हुने भएकाले पार्टीको प्रचारप्रसारका लागि यो माध्यम प्रभावकारी भएको छ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दिएका मकवानपुरका उम्मेदवार तथा राजनीतिक दलले पनि चुनाव प्रचारप्रसारमा सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहेका छन्। मकवानपुरका उम्मेदवारहरूले सामाजिक सञ्जाल फेसबुकको उपयोग गरेको देखिन्छ। गत कात्तिक १६ गते मनोनयन दर्ता गराएसँगै सम्बन्धित उम्मेदवारलाई जिताऔं अभियान नामक फेसबुक एकाउन्टहरू खुलेका छन्।
कांग्रेस र राप्रपाको गठबन्धनबाट बनेको लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका कमल थापाको नाममा ‘कमल थापा जिताऔं अभियान' नामक फेसबुक एकाउन्ट खोलेर प्रचारप्रसार भइरहेको छ। त्यस्तै भने वाम गठबन्धनबाट उम्मेदवार बनेका कृष्णप्रसाद दाहालको नाममा पनि ‘कृष्णप्रसाद दाहाल जिताऔं अभियान' नामक फेसबुक पेज खुलेको छ। प्रतिनिधिसभाको क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडा र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार 'महालक्ष्मी उपाध्याय डिनालाई जिताऔं अभियान' भन्दै छुट्टा छुट्टै फेसबकु एकाउण्ट खुलेको छ।
क्षेत्र नम्बर एकको (क) बाट उम्मेदवारी दिएका धर्म लामिछाने, क्षेत्र नम्बर एकको (ख) बाट उम्मेदवारी दिएका डोरमणि पौडेलको नाममा पनि चुनाव प्रचारप्रसारको लागि छुट्टै फेसबुक एकाउण्ट खोलिएको छ। क्षेत्र नम्बर दुईको (क) बाट उम्मेदवारी दिएका यतिराज सापकोटा, (ख) बाट उम्मेदवारी दिएका इन्द्र बानियाँको पनि फेसबुकमार्फत छुट्टै एकाउण्ट खोलेर प्रचारप्रसार गरिएको छ। क्षेत्र नम्बर दुईको (क)बाट कुमारी मोक्तान र (ख)बाट उम्मेदवार बनेका राजाराम स्याङ्तानको नाममा पनि फेसबुक एकाउण्ट खोलिएको छ।
यसको अलाबा सम्बन्धित पार्टीका नेता तथा कार्यकर्ताले पनि फेसबुकमार्फत प्रत्यक्ष प्रसारण, फोटो, भिडियो, पर्चा, पम्प्लेट राखेर प्रचार गरिरहेका छन्। गत वैशाख ३१ गते भएको भएको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा पनि व्यापक रुपमा सामाजिक सञ्जालको प्रयोग गरिएको थियो। गत २०७० सालको संविधानसभाको निर्वाचनको तुलनामा पछिल्ला निर्वाचनमा प्रचारप्रसारको लागि सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल नेपालको जनसंख्याको ६२ प्रतिशतसम्म इन्टरनेट पहुँच छ। करिब ४५ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्दछन्।
सम्बन्धित समाचारः
- चुनाव प्रचारका अनेक शैली : लोकधुनदेखि फिल्मका ट्रयाकसम्म
- सामाजिक सञ्जालमा चुनाव प्रचार
- फेसबुक र ट्वीटरमा चुनावी भिडन्त
- चुनावका नाममा सामाजिक सञ्जालबाट करोडौं रकम विदेशियो
प्रतिक्रिया दिनुहोस !