ग्रेट वाल मोटरले सार्वजनिक गर्यो ३५ वर्षको उपलब्धीहरू
जीडब्लुएम अर्थात ग्रेट वाल मोटरले आफ्नो स्थापनाको ३५औं वर्षगाँठको अवसरमा कम्पनीको अन्तर्राष्ट्रियकरण यात्राका ऐतिहासिक उपलब्धिहरू सार्वजनिक गरेको छ। एउटा सानो स्वदेशी अटोमोबाइल निर्माता कम्पनीबाट सुरु भएर आज जीडब्लुएम विश्वका १७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति स्थापित गरिसकेको छ। मध्यपूर्वमा पहिलो ढुवानीदेखि सुरु भएको यो यात्रा क्रमशः युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, युरेसिया हुँदै थाइल्यान्ड, जर्मनी, ब्राजिल र मेक्सिकोसम्म फैलिएको छ।
प्रत्येक नयाँ बजारमा प्रवेशसँगै कम्पनीले स्थानीय उत्पादन, स्थानीय सञ्चालन र विश्वव्यापी आपूर्ति शृंखला एकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै आफ्नो विश्वसनीयता र ग्राहक आधार सुदृढ बनाउँदै आएको बताएको छ। यस लामो र निरन्तर यात्रामा जीडब्लुएमले प्रविधि नवप्रवर्तनलाई सधैं प्राथमिकतामा राखेको छ। आज कम्पनीको पाँच प्रमुख उत्पादन शृंखला - ह्यावल, वेई, ट्यांक, ओरा र पोअर - ले विश्वभरका विभिन्न खण्डका ग्राहकहरूको आवश्यकता पूरा गर्ने व्यापक र विविधतापूर्ण पोर्टफोलियो निर्माण गरेको छ।
यसैको परिणामस्वरूप ह्यावल एसयूभीको विश्वव्यापी कुल बिक्री ५० लाख इकाइभन्दा बढी पुगेको छ, जुन विश्वभरका ग्राहकहरूले कम्पनीप्रति राखेको विश्वासको स्पष्ट प्रमाण भएको कम्पनीको भनाइ छ। यसका साथै नयाँ–ऊर्जा र अफरोड प्रविधिको मापदण्ड पुनपर्रिभाषित गर्ने हाई४ प्रविधिको सार्वजनिकीकरण, र ब्राजिलमा स्थानीय उत्पादन प्लान्ट स्थापनाजस्ता कदमहरूले कम्पनीलाई दिगो र स्मार्ट गतिशीलताको क्षेत्रमा विश्वव्यापी नेतृत्वदायी स्थानमा पुर्याएको छ। विश्वभरका ग्राहकहरूको विश्वास जित्दै ग्रेटवाल मोटरले १ करोड सवारीसाधन बिक्रीको ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
यी ब्रान्डहरूमध्ये, जीडब्लुएमको इलेक्ट्रिक उपब्रान्ड ओराले आफ्नो अनौठो र भावनात्मक डिजाइन ल्यांग्वेजका कारण विश्वभर व्यापक प्रशंसा र पहिचान कमाएको छ। ओराको रेट्रो–फ्युचरिस्टिक डिजाइन शैलीले प्रविधि र सौन्दर्यलाई एकसाथ मिलाउँदै ग्राहकहरूको मन जितेको छ।
यसैको कदर स्वरूप ओराले अन्तर्राष्ट्रिय स्तरमा ‘बेस्ट डिजाइन’ लगायत थुप्रै प्रतिष्ठित पुरस्कार र सम्मानहरू हासिल गरिसकेको छ। यी उपलब्धिहरूले जीडब्लुएमको इन्जिनियरिङ क्षमता मात्र होइन, सिर्जनात्मक र भावनात्मक डिजाइन सोचमा पनि कम्पनी विश्वकै अग्रणी निर्माताहरूसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको पुष्टि गर्दछ।
यस वैश्विक उपलब्धिलाई थप सुदृढ बनाउँदै, जीडब्लुएमले हालै आफ्नो नयाँ ब्रान्ड भ्याल्यु सिस्टम र मिशन ‘टेक टु इन्जोय एभ्री जर्नी’ सार्वजनिक गरेको छ। यो मिशनले ‘अल सिनारियोज, अल पावरट्रेन्स, अल युजर्स’ भन्ने उत्पादन संरचना मार्फत विश्वभरका ग्राहकहरूका लागि वास्तविक र दिगो मूल्य सिर्जना गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। जीडब्लुएमका लागि प्रत्येक यात्रा - चाहे त्यो सहरको ट्राफिकमा होस् वा अफरोड साहसिक यात्रामा-प्रविधिको माध्यमबाट थप सहज, सुरक्षित र आनन्ददायी बनाउने लक्ष्य राखिएको छ।
यसै वैश्विक विस्तार अभियानअन्तर्गत, अब जीडब्लुएम नेपालमा पनि उपलब्ध भएको र यो कम्पनीको दक्षिण एसियाली बजारमा थप विस्तारको महत्वपूर्ण कडी भएको जीडब्लुएम नेपालले बताएको छ । नेपाली बजारमा जीडब्लुएमको आधिकारिक आयातकर्ताको रूपमा भीजी इम्पेक्स प्रालिले जिम्मेवारी सम्हालेको छ, जसले नेपाली ग्राहकहरूलाई जीडब्लुएमका उच्च गुणस्तरीय र प्रविधि-समृद्ध गाडीहरू उपलब्ध गराउने लक्ष्य राखेको छ।
यस साझेदारीअन्तर्गत, नेपाली ग्राहकहरूका लागि चाँडै जीडब्लुएमको नयाँ इलेक्ट्रिक एसयूभी अर्थात ईभी एसयूभी लन्च हुँदैछ र यसले स्वच्छ, स्मार्ट र आधुनिक गतिशीलताको अनुभव नेपाली बजारमा ल्याउने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ। सो ईभी एसयूभी जीडब्लुएमको अत्याधुनिक इलेक्ट्रिक प्रविधि, सुरक्षा मापदण्ड र स्मार्ट फिचरहरूलाई समेट्दै नेपाली सडकको आवश्यकता अनुरूप डिजाइन गरिएको छ।
जीडब्लुएम आफ्नो ‘ग्लोबल इकोसिस्टम स्ट्रेटेजी’ अन्तर्गत विश्वव्यापी रूपमा गुणस्तरीय, दिगो र प्रविधि-संचालित वृद्धिको नेतृत्व गर्न निरन्तर प्रतिबद्ध रहेको छ। नेपालमा यसको औपचारिक प्रवेश र आगामी ईभी एसयूभीको लन्चले केवल कम्पनीको वैश्विक विस्तार रणनीतिलाई थप बलियो बनाउने मात्र होइन, नेपाली अटोमोबाइल बजारमा नयाँ युगको थालनी गर्ने अपेक्षा समेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस !