चौथोपटक तिलौराकोटको उत्खनन् सुरु
कपिलवस्तु : बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन् सुरु गरिएकाे छ। अत्याधुनिक प्रविधिका उपकरणको प्रयोग गरी पुरातात्विक मुल्य मान्यता अनुसार विधिवतरुपमा उत्खनन् सुरु गरिएको हो। चौथो पटक सुरु गरिएको उत्खनन् टोलीमा बेलायतको दुर्हम विश्व विद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका विज्ञ, राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरातत्वविद् संलग्न छन्।
उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन सहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले दाबी गरे। टोलीले तिलौराकोट र अन्य बुद्धस्थलको यसअघि नै उत्खनन् कार्य गर्दै आएको छ। अहिले गरिरहेको विज्ञहरुको टोलीले ५५ दिन लगाएर उत्खनन् गर्ने पनि अधिकृत कुँवरले जानकारी दिए ।
उनका अनुसार तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन् गरिने छ। यसअघि तिलौराकोट दरबारभित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्रोधराम कुदानमा पनि उत्खनन् गरिएको बताइएको छ। पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् २०१४ देखि उत्खनन् र अनुसन्धानको कार्य थाल्दै आएको हो।
यसपटक तिलौराकोट क्षेत्रको उत्खननसँगै केही महत्वपूर्ण बुद्धस्थलमा अध्ययन अन्वेषण गरिने भएको छ। तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिँया, नवलपरासीको रामग्राममा अन्वेषण गरिने भएको छ। उक्त अन्वेषणको काममा भुभौतिक सर्वे ९मेसिन०, फिल्ड सर्वे, भिजिटर सर्वेलगायतका उपकरण प्रयोग गरिने बताइएको छ। ती स्थानमा रिक्स म्यापिङ, टोटल स्टेसन, अन्डरलाइनिङको काम गरिने भएको हो।
यस वर्ष जापानीज नागरिक कासाईको सहयोगमा उत्खनन् गर्न लागिएको हो। अहिलेसम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको पुरातत्वविद तथा उत्खनन् परियोजनाका सह संयोजक कोषप्रसाद आचार्यले बताए।
उत्खनन्बाट तिलौराकोटको प्राचीनकाल क्रमस पत्ता लाग्ने र भित्र प्रबेश गर्ना साथ प्राचीन शहरको ऐतिहासिक रुपरंग देख्न सकिने गरी उपलब्धी फेला पार्ने विश्वास लिइएको छ। उत्खनन टोलीमा दुर्हम विश्वबिद्यालयका १२ जना विज्ञसहित पुरातत्वविद गरी २० जना रहेका छन्। त्यस्तै त्रिभुवन विश्वविद्यालय स्नाकोत्तरमा कल्चर विषय अध्ययनरत विद्यार्थी र लुम्बिनी बौद्ध विश्व विद्यालयका विद्यार्थी पनि सहभागी हुने छन्।
प्रतिक्रिया दिनुहोस !