फिफा विश्वकप २०२६ : मेसी चम्किँदा रोनाल्डो दबाबमा

फिफा विश्वकप २०२६ : मेसी चम्किँदा रोनाल्डो दबाबमा
सुन्नुहोस्

काठमाडौं : फिफा विश्वकप २०२६ ले दुई महान हस्ती लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फेरि एकपटक आमनेसामने उभ्याएको छ। दुवै खेलाडीका लागि यो सम्भवतः अन्तिम विश्वकप भएकाले उनीहरूको प्रदर्शनमाथि विश्वभरका समर्थक र विश्लेषकहरूले विशेष नजर लगाइरहेका छन्। 

विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो जादुमय खेललाई निरन्तरता दिँदा पोर्चुगलका कप्तान रोनाल्डोले भने धेरैको अपेक्षाअनुसार आफूलाई प्रमाणित गर्न सकेनन्। अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० गोलको प्रभावशाली जित निकाल्दा मेसी एक्लैले ह्याट्रिक पूरा गरेका थिए। ३८ वर्षीय मेसीले विश्वकप इतिहासकै पहिलो ह्याट्रिक मात्र गरेनन्, विश्वकपमा सर्वाधिक १६ गोल गर्ने कीर्तिमान पनि बराबरी गर्न सफल भए। उनी विश्वकपको लगातार ६ संस्करण खेल्न पहिलो पुरुष खेलाडीसमेत बन्न सफल भए। 

मेसीको प्रदर्शनले सावित गरेको छ कि उमेर केवल संख्या मात्र हो। खेलको गति, बल नियन्त्रण, आक्रमण, पास र गोल गर्ने क्षमतामा उनी अझै पनि अर्जेन्टिनाका सबैभन्दा भरपर्दो हतियार देखिएका छन्। प्रशिक्षक लियोनल स्कोलोनीले समेत मेसीको प्रभाव र उनका उपलब्धिहरू आश्चर्यको विषय नरहेको प्रतिक्रिया दिएका छन्।

 
जर्मनीका मिरोस्लाभ क्लोजले १२ वर्षअघि जर्मन विश्वकपमा दुई गोल गर्दै विश्वकप इतिहासकै सर्वकालीन उच्च गोलकर्ताका रूपमा १६ गोलका साथ आफ्नो नाम लेखाएका थिए। १२ वर्षमा खोलो फर्काउने क्रममा मेसीले अल्जेरियाविरुद्ध सानदार ह्याट्रिक गर्दै विश्वकप इतिहासमा आफ्नो नाममा पनि १६ गोल पुर्‍याए। फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा क्लोजको कीर्तिमान मेसीले पनि बराबरी गरेका छन्। 

क्लोजले विश्वकपमा निर्माण गरेको अर्को कोसेढुंगासँग पनि मेसीले बराबरी गरेका छन्। यसअघि जर्मन स्ट्राइकरको नाममा रहेको विश्वकपका खेलमा १७ जित हासिल गर्ने कीर्तिमानमा पनि मेसीले बराबरी गरेका छन्। ३८ वर्ष ३ सय ५७ दिनको उमेरमा विश्वकपमा ह्याट्रिक गर्ने इतिहासकै पहिलो खेलाडी पनि बन्न सफल भए, मेसी। यसअघि विश्वकपमा ह्याट्रिक गर्ने पाको खेलाडीको कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो। रोनाल्डोले सन् २०१८ को विश्वकपमा स्पेनविरुद्धको खेलमा ३३ वर्ष १ सय ३० दिनको उमेरमा ह्याट्रिक गरेका थिए। 

अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसीले यसअघि नै आफ्नो नाम लेखाइसकेका थिए। उनीपछि अर्जेन्टिनाका गाब्रियल बाटिस्टुटा (१०), डिएगो म्याराडोना (८), ग्विलेर्मो स्टाबिल (८), मारियो केम्पेस (६) र गोन्जालो हिग्विन (५) छन्। अल्जेरियाविरुद्धको ह्याट्रिकपछि मेसीको नाममा अर्को कीर्तिमान पनि बनेको छ। त्यो हो, दक्षिण अमेरिकी महादेशबाटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीमा उनले आफ्नो नाम लेखाएका छन्। यो कीर्तिमान यसअघि ब्राजिलका रोनाल्डोको नाममा १५ गोलका साथ थियो। रोनाल्डोको विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान सन् २०१४ मा क्लोजले तोडेका थिए।

अल्जेरियाविरुद्धको खेलका लागि बुधबार बिहान मैदान उत्रिनेबित्तिकै अर्जेन्टिनी कप्तानको नाममा कम्तीमा एक दिनका लागि अर्को कीर्तिमान लेखिएको थियो। उनी विश्वकपका ६ फरक संस्करण खेल्ने एक्लो खेलाडी बनेका थिए। उनीसँगै यसअघि पाँचपटक विश्वकप खेलिसकेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बिहीबार राति कंगोसँग खेलेका थिए। 

यसअघि एन्टोनियो कार्भाजल, लोथर म्याथुज, राफा मार्कवेज र आन्द्रियास ग्वाडार्डोले ५ विश्वकप खेलेका थिए। मेसीले विश्वकपमा पहिलो गोल गरेको र बुधबार बिहान गरेको अहिलेसम्मको पछिल्लो गोल गर्दाको अवधिमा २० वर्षको अन्तर छ। जुन आफैंमा अर्को कीर्तिमान हो। यसअघि विश्वकपको पहिलो गोल र पछिल्लो गोलबीच लामो अन्तरको कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो। रोनाल्डोको पहिलो र पछिल्लो गोलबीच १६ वर्ष १ सय ६० दिनको अन्तर थियो। 

पोर्चुगलका कप्तान रोनाल्डोका लागि भने फिफा विश्वकप २०२६ को सुरुवात सहज र उत्कृष्ट बन्न सकेन। कंगोसँगको पहिलो खेलमा पोर्चुगल १–१ को बराबरीमा रोकिँदा ४१ वर्षीय रोनाल्डोले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। उनले दोस्रो हाफमा प्राप्त दुई महत्वपूर्ण अवसर खेर फालेका थिए भने खेलभर निकै कमपटक मात्रै उनको खुट्टमा बल परेको थियो। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने रोनाल्डोप्रति विश्वास व्यक्त गरेका छन्। विश्व फुटबलकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता रोनाल्डोको अनुभव र नेतृत्व टोलीका लागि अझै महत्वपूर्ण रहेको उनको विश्वास छ।

मेसी र रोनाल्डो दुवैले विश्वकपमा ६ पटक सहभागिता जनाउने दुर्लभ उपलब्धि हासिल गरेका छन्। तर, प्रतियोगिताको सुरुवाती प्रदर्शन हेर्दा मेसी आफ्नो स्वर्णिम लयमा देखिएका छन् भने रोनाल्डोले शुभेच्छुकलाई सुखी पार्न र आलोचकलाई जवाफ दिन अझै प्रभावशाली प्रदर्शन गर्नुपर्ने देखिएको छ। विश्वकपको प्रारम्भिक चित्रले एउटा सन्देश स्पष्ट दिएको छ, मेसी अझै पनि अर्जेन्टिनाको विश्वकप अभियानका मुख्य खेलाडी हुन् भने रोनाल्डो आफ्नो महान करियरको अन्तिम अध्यायलाई सम्झनलायक बनाउन संघर्षरत छन्। मेसीले आफ्नो अनुभव, खेल कौशल, नेतृत्व क्षमता र व्यक्तिगत प्रदर्शनमार्फत अर्जेन्टिनालाई उपाधि दाबेदार टोलीका रूपमा प्रस्तुत गरिरहेका छन्। मैदानमा उनको उपस्थितिले मात्र टोलीका अन्य खेलाडीलाई आत्मविश्वास प्रदान गरिरहेको छ। 

उमेरले ३८ वर्ष पार गरिसके पनि मेसीको खेलमा देखिएको परिपक्वता, सिर्जनशीलता र निर्णायक क्षमताले उनी अझै पनि विश्व फुटबलका सर्व श्रेष्ठ खेलाडीमध्ये एक रहेको प्रमाणित गरेको छ। रोनाल्डोका लागि भने यो विश्वकप अपेक्षाभन्दा चुनौतीपूर्ण देखिएको छ। कठिन परिस्थितिमा टोलीलाई प्रेरणादायी नेतृत्व गर्ने क्षमता, गोलका लागि अदम्य भोक र निर्णायक क्षणमा नायक बन्ने बानीका कारण रोनाल्डोले कुनै पनि बेला खेलको दिशा बदल्न सक्छन्। त्यसैले पोर्चुगलको आगामी यात्रामा उनको भूमिका अझ महत्वपूर्ण बन्ने निश्चित छ।

विश्व फुटबलका समर्थकहरूका लागि मेसी र रोनाल्डोलाई विश्वकपको मञ्चमा अन्तिम पटक हेर्ने अवसर पनि हुन सक्छ। त्यसैले उनीहरूले गर्ने हरेक गोल, हरेक पास, मनाउने खुसी र हरेक क्षण इतिहासको पानामा कैद हुनेछ। मेसी र रोनाल्डोले फुटबलमा दिएको योगदान भने परिणामभन्दा धेरै माथि रहनेछ। उनीहरू केवल महान खेलाडीमात्र होइनन्, एक पुस्तालाई फुटबलप्रति प्रेरित गर्ने युगका प्रतिनिधि पात्र हुन्। 

त्यसैले फिफा विश्वकप २०२६ उपाधिको लडाइँमात्रै नभएर दुई महान फुटबल हस्तीको गौरवशाली यात्राको अन्तिम उत्सवका रूपमा पनि स्मरणीय बन्नेछ भन्ने विश्वास आम फुटबल प्रेमीको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.