ह्यारी र मेघन चार वर्षपछि पहिलो पटक परिवारसहित बेलायत जाँदै
बेलायत : बेलायतका राजकुमार ह्यारी मेघन र उनको परिवार आगामी महिना बेलायत भ्रमणमा जाने भएका छन् । बेलायती सञ्चारमाध्यम बीबीसी, टेलिग्राफ र आईटीभी न्यूजका अनुसार ड्युक तथा डचेस अफ ससेक्स ह्यारी र मेघन कार्केल आफ्ना दुई सन्तान आर्ची (७) र लिलिबेट (५) सहित बेलायत जाने अपेक्षा गरिएको छ । परिवारका रूपमा उनीहरूको यो चार वर्षयताकै पहिलो बेलायत भ्रमण हुनेछ ।
हाल क्यालिफोर्नियामा बसोबास गरिरहेका ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारको सक्रिय भूमिकाबाट पछि हट्दै उत्तर अमेरिका सरेका थिए । त्यसयता उनीहरू र बेलायती राजपरिवारबीचको सम्बन्ध सार्वजनिक रूपमा चिसिएको छ । टेलिभिजन अन्तर्वार्ता तथा आत्मकथामार्फत ससेक्स दम्पतीले बेलायत छोड्नुका कारण ट्याब्लोइड सञ्चारमाध्यमको अत्यधिक हस्तक्षेप, बेलायती संस्थाहरूमा रहेको जातीय विभेद, अनलाइन दुव्र्यवहार, जटिल पारिवारिक सम्बन्ध तथा आर्थिक स्वतन्त्रताको चाहना रहेको बताएका थिए ।
पछिल्ला वर्षहरूमा ४१ वर्षीय ह्यारीले बेलायतका केही छोटा भ्रमण गरेका छन् । उनले सन् २०२२ मा रानी एलिजावेथ द्वितीयको अन्त्येष्टि तथा सन् २०२३ मा उनका पिता राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागिता जनाएका थिए । गत वर्षको सेप्टेम्बरमा ह्यारीले आफ्ना पितासँग १९ महिनापछि पहिलो पटक प्रत्यक्ष भेट गरेका थिए ।
यस वर्ष जनवरीमा भने उनी डेली मेलका प्रकाशकविरुद्ध गैरकानुनी रूपमा सूचना सङ्कलन गरेको आरोपसम्बन्धी मुद्दाको सुनुवाइमा सहभागी हुन बेलायत पुगेका थिए । ह्यारीले विगतमा आफ्नो परिवारसँग पुनर्मिलनको चाहना व्यक्त गरेका थिए । पितासँगको भेटपछि राजपरिवारभित्रको दरार कम हुन थालेको हो कि भन्ने अड्कलबाजी पनि भएको थियो । यद्यपि आगामी भ्रमणका क्रममा राजा चाल्र्सले आफ्ना नातिनातिनीसँग भेट्नेछन् वा छैनन् भन्ने विषय अझै स्पष्ट भएको छैन ।
उनीहरू अन्तिम पटक सन् २०२२ मा दिवंगत रानी एलिजाबेथको प्लेटिनम जुबिली समारोहका अवसरमा प्रत्यक्ष भेटेका थिए । उनीहरूको भ्रमण ह्यारीले एक दशकअघि स्थापना गरेको इन्भिक्टस खेलकुद प्रतिष्ठान अन्तर्गत सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता ‘इन्भिक्टस गेम्स’ सुरु हुन एक वर्ष बाँकी रहेको अवसरमा आयोजना गरिने कार्यक्रममा केन्द्रित रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !