मस्कोको मुख्य तेल रिफाइनरीमा युक्रेनको शक्तिशाली ड्रोन आक्रमण
मस्को : युक्रेनले बिहीबार बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल रिफाइनरीलाई निशाना बनाउँदै पुनः शक्तिशाली ड्रोन आक्रमण गरेको छ। रुसी अधिकारीहरूका अनुसार युक्रेनले एकै हप्ताभित्र सो रिफाइनरीमा आक्रमण गरेको यो दोस्रो पटक हो। पछिल्लो समय युक्रेनले रुसका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी लामो दुरीको हवाई आक्रमण तीव्र पारेको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार मस्कोको दक्षिण-पूर्वी जिल्ला कापोत्न्यामा रहेको 'मस्को आयल रिफाइनरी' मा कयौँ ड्रोनहरू ठोक्किएका थिए। मस्कोतर्फ उडिरहेका ४८ भन्दा बढी ड्रोनहरूलाई रुसी वायुसेनाले आकाशमै खसालेको दाबी समेत उनले गरेका छन्।
अमेरिकी सञ्चार माध्यम सीएनएनले सार्वजनिक गरेको एक भिडियोमा रिफाइनरीको एक हिस्साबाट बाक्लो कालो धुवाँ निस्किरहेको र अर्को खण्डमा ठुलो विस्फोट हुँदा इन्धन भण्डारण गरिएको ट्याङ्कीको छत हावामा उडेको देखिन्छ।
रुसी समाचार संस्था 'तास' का अनुसार मस्को बाहिर पर्ने झुकोभ्स्की क्षेत्रमा एउटा ड्रोन आवासीय भवनमा खस्दा केही बार्दलीहरूमा क्षति पुगेको छ, तर मानवीय क्षति भने भएको छैन। ड्रोनका भग्नावशेषहरू अन्य स्थानमा खस्दा एउटा फिटनेस सेन्टर, औद्योगिक क्षेत्र, सपिङ सेन्टर र एउटा निजी घरमा क्षति पुगेको छ। यसैबिच, रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको छुट्टै ड्रोन आक्रमणमा परी एक जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
गत मगबार पनि सोही रिफाइनरीमा आक्रमण भएको थियो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सेनाले ५०० किलोमिटर टाढा रहेका रुसी संरचनाहरूमा प्रहार गर्न सक्ने लामो दुरीका हतियारहरू प्रयोग गरिरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !