मध्यरातसम्म सेल्फी, बिहान मृत्युको खबर : नव विवाहिता मृत्युको रहस्य गहिरिँदै
भारत : बिहान जब म निदाएर उठें, मेरो मोबाइलमा मेरी छोरी र ज्वाइँको सेल्फी आएको थियो । मेरी छोरीले रात करिब डेढ बजे यो पठाएकी थिइन् । त्यसपछि बिहान आठ बजे ज्वाइँले फोन गरेर मेरी छोरीको मृत्यु भइसकेको बताए । यो भनाइ पी. राधा गायत्रीका पिता, पूर्व सैनिक पी. सुधाकरको हो । उनकी छोरीको शव ऋषिकेशस्थित एक होमस्टेबाट फेला परेको छ ।
प्रहरीका अनुसार गायत्री आइतबार राति आफ्ना पति सौम्य श्रीचरणसँग टिपरीधारस्थित ‘कियाना होमस्टे’ पुगेकी थिइन् । श्रीचरण पुणेस्थित एक आईटी कम्पनीमा कार्यरत छन् । प्रहरी र मृतकका परिवारका अनुसार दम्पती सोमबार श्रीचरणको जन्मदिन मनाउन त्यहाँ पुगेका थिए ।
सोमबार बिहान मसूरी प्रहरीलाई होमस्टेमा एक महिला अचेत अवस्थामा भेटिएको सूचना प्राप्त भयो । तत्काल एम्बुलेन्स पठाइयो । एम्बुलेन्स सेवासँग सम्बन्धित फार्मासिस्टले जाँच गर्दा महिलालाई मृत घोषणा गरियो । प्रारम्भिक अनुसन्धान अनुसार दम्पती १३ जुनमा ऋषिकेश पुगेका थिए र आइतबार राति करिब ११ः३० बजे होमस्टेमा चेक–इन गरेका थिए ।
आन्ध्र प्रदेशका मूल निवासी
प्रहरीका अनुसार दुवै परिवार मूल रूपमा आन्ध्र प्रदेशको विशाखापट्टनमका हुन् । श्रीचरणले बताए अनुसार राति दुवैले मदिरा सेवन गरेका थिए र बिहान करिब साढे तीन बजे सुत्न गएका थिए । बिहान उठ्दा पत्नी अचेत अवस्थामा थिइन्, नाकबाट रगत बगिरहेको थियो र वरिपरी पिसाब फैलिएको उनले दावी गरेका छन् । प्रहरीका अनुसार महिलाको शव भुइँमा निर्वस्त्र अवस्थामा भेटिएको थियो र ओछ्यानमा रगतका दाग थिए । कोठाबाट मदिराका दुई खाली बोतल र खानेकुराका सामग्री बरामद गरिएका छन् ।
पिताले उठाए प्रश्न
मृतकका पिता पी. सुधाकरले छोरीको मृत्युको परिस्थितिबारे छानबिनको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । मंगलबार देहरादूनको कोरोनेशन अस्पतालमा चिकित्सकहरूको प्यानलद्वारा शवको पोस्टमार्टम गरिएको थियो, जसको भिडियो समेत बनाइएको छ ।
क्षेत्राधिकारी (सीओ) जगदीश चन्द्र पन्तका अनुसार प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा शरीरमा बाहिरी चोटका कुनै संकेत भेटिएका छैनन् । उनले भनेका छन्–मृत्युको वास्तविक कारण पत्ता लगाउन भिसेरा सुरक्षित राखिएको छ । विस्तृत पोस्टमार्टम र विष विज्ञान (टक्सिकोलोजी) रिपोर्ट आएपछि मात्र अवस्था स्पष्ट हुनेछ ।
औषधिका पत्ताहरू फेला
मसूरी सीओका अनुसार घटनास्थलबाट केही औषधिका स्ट्रिपहरू भेटिएका छन्, जसलाई प्रमाणका रूपमा संकलन गरिएको छ । आन्तरिक अंगहरू सुरक्षित राखी विष विज्ञान परीक्षणका लागि पठाइएको छ । प्रहरी कार्यालय (थाना) प्रमुख देवेन्द्रसिंह चौहानका अनुसार महिलाको लो ब्लड प्रेसरको उपचार भइरहेको थियो । घटनाको सम्पूर्ण क्रम बुझ्नका लागि कोठाबाट भेटिएका सबै सामग्री संकलन गरिएको छ ।
कहिले भएको थियो विवाह ?
गायत्री र श्रीचरणको विवाह गत वर्ष नोभेम्बरमा भएको थियो । उनीहरूको परिचय एक साथीमार्फत भएको थियो । श्रीचरणका बुवा दुर्गा प्रसादका अनुसार गायत्री हैदराबादमा काम गर्थिन् भने श्रीचरण पुणेमा कार्यरत थिए । पछि उनीहरूको विवाह भयो । परिवार १९८९ देखि दिल्लीमा बस्दै आएको थियो । विवाहपछि गायत्री सासु–ससुरासँग दिल्ली आएकी थिइन् र पछि उनलाई गुरुग्राममा पनि जागिर मिलेको थियो ।
प्रतिक्रिया दिनुहोस !