जेलमा रहेकी अर्बपति महिलाका झोला लिलामीमा, पुग्ला पीडितको अर्बौं डलर फिर्ता गर्न ?

जेलमा रहेकी अर्बपति महिलाका झोला लिलामीमा, पुग्ला पीडितको अर्बौं डलर फिर्ता गर्न ?

भियतनाम : लक्जरी कार, महँगा ह्यान्डब्याग र याटहरू (बिलासी जहाज) को लिलामी भए पनि इतिहासकै सबैभन्दा ठूलो ठगी प्रकरणमध्ये एककी मुख्य अभियुक्त, भियतनामी व्यवसायी ट्रुओङ माई लानले पीडितहरूलाई तिर्नुपर्ने अर्बौं डलर फिर्ता गर्न पर्याप्त रकम जुटाउन सकेकी छैनन् ।

एक समय भियतनामकी सबैभन्दा धनी व्यवसायीमध्ये गनिने ६९ वर्षीया ट्रुओङ माई लानलाई करिब ४४ अर्ब अमेरिकी डलर बराबरको आर्थिक घोटालामा संलग्न भएको ठहर गर्दै दुई वटा आजीवन कारावासको सजाय सुनाइएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार उनले आफ्ना सहयोगी र विभिन्न ‘शेल कम्पनी’ हरू प्रयोग गरेर देशका ठूला बैंकमध्ये एकबाट ठूलो रकम ऋण तथा नगदका रूपमा निकालेकी थिइन् ।

सन् २०२४ मा उनलाई १२ अर्ब डलर हिनामिना गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो । अदालतले उक्त रकमको कम्तीमा तीन चौथाइ फिर्ता गरे मृत्युदण्डबाट जोगिन सक्ने बताएको थियो । तर पछि भियतनामले हिनामिनासहित आठ प्रकारका अपराधमा मृत्युदण्डको व्यवस्था हटाएपछि उनको सजाय आजीवन कारावासमा परिवर्तन गरिएको थियो । यद्यपि, उनले आफ्ना पीडितहरूलाई तिर्नुपर्ने करिब २७ अर्ब डलरमध्ये निकै सानो हिस्सा मात्रै फिर्ता गर्न सकेकी छन् ।

गत मे महिनामा लानका दुईवटा हर्मेस बिर्किन झोला अनलाइन लिलामीमार्फत बिक्री गरिए । ती झोलाबाट करिब ५ लाख ३९ हजार अमेरिकी डलर उठेको थियो । लानले ती झोला आफ्ना छोराछोरी र नातिनातिनाका लागि सम्झनाका रूपमा फिर्ता दिन आग्रह गरेकी थिइन् । तीमध्ये एउटा उनले इटालीमा किनेकी थिइन् भने अर्को उनलाई एक मलेसियाली अर्बपतिले उपहार दिएका थिए ।

गत महिना उनका तीनवटा लक्जरी कार पनि लिलामीमा राखिए । चार सिटको सेतो मेब्याक कारको प्रारम्भिक मूल्य करिब २ लाख ६५ हजार डलर तोकिएको थियो भने पाँच सिटे निलो बीएमडब्ल्युको ३६ हजार ७ सय डलर र कालो लेक्ससको २९ हजार डलर राखिएको थियो । अन्ततः मेब्याक करिब ६ लाख ३० हजार डलरमा बिक्री भयो ।

वकिल न्गुएन थी हुएन ट्राङका अनुसार लिलामीबाट आएको रकममध्ये पहिले अदालतको फैसला कार्यान्वयन, लिलामी खर्च तथा कानुनी शुल्क तिरिनेछ । हालसम्म लानले करिब ४ लाख ५५ हजार डलर मात्रै फिर्ता गरेकी छन् । हो ची मिन्ह सिटीको फैसला कार्यान्वयन निकायले क्षतिपूर्ति जुटाउन उनका सम्पत्तिहरूको व्यवस्थापन र बिक्री प्रक्रिया अझै जारी राखेको छ ।

यस वर्षको सुरुतिर अधिकारीहरूले ‘द रेभरी साइगोन’ नामक उनको याट करिब २० लाख डलरमा बेच्ने प्रयास गरेका थिए । तर पटक–पटक लिलामी गर्दा पनि खरिदकर्ता नपाएपछि प्रारम्भिक मूल्य १८ प्रतिशतले घटाउनु परेको थियो । उनका अन्य दुई जहाज, जसको मूल्य करिब १ लाख ७५ हजार डलर प्रत्येक थियो, ती पनि अझै बिक्री हुन सकेका छैनन् ।

स्थानीय सञ्चारमाध्यम भिएनएक्सप्रेसका अनुसार भियतनाममा जफत गरिएका सम्पत्तिहरू लिलामीमार्फत बिक्री गर्न कठिन हुने गर्छ । कतिपय वस्तुहरू १० पटकभन्दा बढी लिलामीमा राखिए पनि खरिदकर्ता भेटिएका छैनन् । लानले एक समय विलासी घर र व्यावसायिक भवनहरूको विशाल रियल इस्टेट साम्राज्य निर्माण गरेकी थिइन् । तर पछि उनी विश्वकै ठूलो आर्थिक ठगी प्रकरणमध्ये एकमा संलग्न रहेको आरोपमा पक्राउ परिन् ।

अनुसन्धानकर्ताहरूका अनुसार उनले नियामक निकाय र सरकारी अधिकारीहरूलाई घुस दिएर आफ्ना गतिविधि लुकाउने प्रयास समेत गरेकी थिइन् ।१२ अर्ब डलर हिनामिना सम्बन्धी मुद्दाबाहेक, सम्पत्ति ठगी, मनी लन्डरिङ तथा अवैध रूपमा सीमा पार रकम स्थानान्तरण गरेको अर्को मुद्दामा पनि उनलाई थप एक आजीवन कारावासको सजाय सुनाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.