सामुदायिक वनका चौकीदार नै काठ तस्कर !
कालिकोटः वन संरक्षणका लागि सामुदायिक उपभोक्ता समितिहरुले सर्बसाधारणबाट पैसा उठाएर तलव दिने गरी वन चौकीदार राख्छन् । अधिकांश वन चौकीदारको सक्रियताका कारण संरक्षित पनि भएका छन् ।
जिल्ला वन कार्यालय कालिकोटले बिहीबार रमणीय सामुदायिक वनका चौकीदार सुकीले ऐडी र स्थानीय रवीन्द्र खड्काको घरबाट २ सय ११ थान अवैध काठ जफत गरेपछि बनका चौकीदारबाटै काठ तस्करी हुने गरेको पाइएको हो ।
जिल्ला वन कार्यालय प्रमूख रामचन्द्र कँडेलले बिहिबार जिल्ला वन कार्यालयबाट खटिएका गोविन्द बुढाको नेतृत्वमा प्रहरी सहितको टोलीले रमणिय सामुदायीक वनका चौकीदार सुकिले ऐडी र स्थानीय रवीन्द्र खड्काको घरबाट २ सय ११ थान अवैध काठ जफत गरिएको जानकारी दिए ।
उनका अनुसार रमणीय सामुदायिक वनका चौकीदार सुकीले ऐडीको घरबाट कडी ३५ थान, फलेक ३४ थान र स्थानीय रवीन्द्र खड्काको घरबाट कडी ७० थान र फलेक ७४ थान जफत गरिएको छ । जिल्ला वन कार्यालयका प्रमुख कँडेलका अनुसार रमणीय सामुदायिक वनका चौकीदार सुकिले ऐडी र स्थानिय रवीन्द्र खड्का दुवैलाई पक्राउ गरी सदरमुका ल्याइएको छ ।
‘उनीहरुविरुद्ध वनसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छौँ’, उनले भने, ‘सामुदायिक वनलाई पनि अनुसन्धानका लागि पत्र काटेको छु । स्थानीयका अनुसार सामुदायिक वनकै मिलोमतोमा काठ तस्करी भइरहेको हो ।
‘यसलाई रोक्न हामी कडाखालको अप्रेशन गर्छौँ’, उनले थपे, ‘मैले जिल्ला वन कार्यालयका अनुसन्धान अधिकृतलाई रमणीय सामुदायीक वन उपभोक्ता समितिलाई समेत अनुसन्धान थाल्न निर्देशन दिएको छु । हामीले काठ तस्करीविरुद्ध कडा अभियान थालेका छौँ ।’
प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले रमणीय सामुदायिक वनका चौकीदार सुकीले ऐडी र स्थानीय रवीन्द्र खड्काको घरमा अवैध काठ रहेको उजुरी अख्तितार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि जिल्ला वन कार्यालय र प्रशासनको सयुक्त पहलमा प्रहरी खटाए काठ जफत गरिएको बताए ।
उनले अख्तियारबाट जिल्ला वन कार्यालयलाई पत्र आएपछि पनि काठ बरामद गर्न ढिलाइ हुँदा अख्तियारले प्रशासनलाई समेत ताकेता गरेको बताए । ‘अवैध काठ राख्ने व्यक्ति काठसहित पक्राउ परिसकेका छन् । अब बन ऐन अन्तरगत मुद्दा दर्ता हुन्छ’, उनले भने ।