पर्यटकको रोजाइँमा फोक्सुण्डो ताल : पाँच महिनामा १६ सय ३२ जनाले गरे अवलोकन
डोल्पा : डोल्पाको फोक्सुण्डो गाउँपालिका -८ मा पर्ने फोक्सुण्डो ताल आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । निलो हिराको रुपमा परिचित नेपालकै गहिरो फोक्सुण्डो ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
गत साउन महिनादेखि कात्तिक महिनासम्म मात्रै स्वदेशी र विदेशी गरेर एक हजार छ सय ३२ पर्यटकले फोक्सुण्डो तालको अवलोकन गरेको फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
डोल्पाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको फोक्सुण्डो ताल अवलोकन गर्न विदेशीभन्दा स्वदेशी पर्यटक धेरै भित्रिएको उनको भनाइ छ । पाँच महिनाको अवधिमा सार्क राष्ट्र र अन्य राष्ट्र गरेर तीन सय छब्बीस जना पर्यटकले फोक्सुण्डो घुमेको र जसबाट १० लाख ५३ हजार राजश्व प्राप्त भएको निकुञ्जले जनाएको छ ।

जारी आर्थिक वर्षको सुरुदेखि कात्तिक महिनासम्म वन पैदावार बिक्री वितरण,पर्या पर्यटन,दण्ड सजायलगायतका शीर्षकबाट कूल ६५ लाख ७० हजार ६ सय ८८ राजश्व संकलन भएको निकुञ्जले जानकारी दिएको छ । फोक्सुण्डो ताल,त्रिपुरासुन्दरी मन्दिर,शे–गुम्बा,धो तराप जस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले पनि केही वर्षयता पर्यटकको सङ्ख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने युवा लक्ष्मण देवकोटाले बताए ।
अझ नेपालगञ्जदेखि डोल्पा आउने जहाज नियमित,भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने उनको भनाइ छ । व्यापार ,व्यवसाय प्रवर्द्धनका हिसाबमा डोल्पालीलाई विदेशी भन्दा पनि स्वदेशी पर्यटक आउन फाइदा हुने सदरमुकाम दुनैका होटेल व्यवसायीहरू बताउँछन् ।
नेपालगञ्ज–सुर्खेत–जाजरकोट–रुकुमहुँदै मोटरसाइकल र गाडीमा सजिलै डोल्पा दुनैसम्म पुग्न सकिने भएकाले पनि जहाजभन्दा अघिकाशं पर्यटक मोटरसाइलमा डोल्पा पुग्ने गर्दछन् । डोल्पामा चिसो अत्याधिक बढे पनि अझैसम्म फोक्सुण्डो घुम्न आउने पर्यटक आउनेक्रम जारी रहेको फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !