मोबाइल नपाएपछि आफ्नै परिवारका सदस्यलाई फसाउन युवकले गरे छिमेकीको हत्या
रौतहट : गत असार १ गते सर्लाहीको बसबरिया गाउपालिका–१ मानपुर गाउँमा सुतिरहेका बेला घाँटी रेटेर एक ५२ बर्षीय व्यक्तिको हत्या गर्ने आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलनमार्फत हत्या आरोपमा पक्राउ परेका बसबरिया गाउँपालिका–१ मानपुर निवासी २५ वर्षीय सन्तोषकुमार रायलाई सार्वजनिक गरेपछि घटनाले सामाजिक अपराध र हत्या जस्ता अपराध गर्ने ठूलो कारण नचाहिने देखाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोबाइलको विषयमा भएको विवाद, पैसा नदिएको रिस तथा परिवारले सुधार केन्द्र पठाउने भन्दै तयारी समेत थाएकाले आक्रोशमा आएर रायले हत्या गरेको खुलेको सर्लाही प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रबिन्द्रनाथ पौडेलले जानकारी दिए । आफ्नै घरमा सुतिरहेका ५३ वर्षीय होसनारायण राय यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर आफ्नै परिवारका सदस्यलाई फसाउने योजना गरेर हत्या गरेको उपरीक्षक पौडेलले जानकारी दिए ।
प्रहरीले कसरी थाल्यो अनुसन्धान ?
घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवा, प्राविधिक टोली तथा मधेश प्रदेश प्रहरी कार्यालयको के–९ (डग) टोली परिचालन गरी व्यापक अनुसन्धान सुरु गरिएको थियो । घटनास्थलमा रहेका प्रमाण, कल डिटेल र लोकेसन विश्लेषण (सीडीआर, बीटीएस), सीसीटीभी फुटेज तथा अन्य प्राविधिक आधारहरूको अध्ययन गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा मृतकसँगै घरमा रहेका परिवारका सदस्यहरूले मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको बताएका थिए । घटनाकै राति वारदातस्थलबाट करिब दुईदेखि तीन सय मिटर दूरीमा पार्किङ गरिएको ना ४५ प २६८५ नम्बरको ग्ल्याम्बर १२५ सीसी मोटरसाइकल चोरी भएको सूचना पनि प्रहरीलाई प्राप्त भएको थियो ।
अनुसन्धानका क्रममा उक्त मोटरसाइकल प्रयोग गरी स्थानीय सन्तोषकुमार राय घटनास्थल पुगेको तथा घटनापछि उनी गाउँबाटै सम्पर्कविहीन भएको तथ्य खुलेको प्रहरीले जनाएको छ । चोरी भएको मोटरसाइकल असार १४ गते लालबन्दी नगरपालिका–२ नवलपुरस्थित निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले सन्तोषको खोजी तीव्र बनाएको थियो । अन्ततः घटना घटेको ९ दिनपछि असार १६ गते दिउँसो बरहथवा नगरपालिका–७ बरहथवा बजार नजिक लुकीछिपी बसेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।
पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा सन्तोषले हत्या गरेको स्वीकार गरेका छन् । उनले वारदातअघि मोटरसाइकल चोरी गरी सोही साधन प्रयोग गरेर घटनास्थल पुगेको, हत्या गरेपछि मोटरसाइकलमा भागेर पछि नवलपुरमा छाडेको बयान दिएका छन् । घटनामा प्रयोग गरिएको हँसिया बरहथवा नगरपालिका–१३ बिनमा टोल नजिक सडक छेउको खेतमा फ्याँकेको बताए पनि हालसम्म उक्त हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा सन्तोषले असार ६ गते मोबाइलको विषयमा भएको विवाद, आफूले पटक–पटक पैसा माग्दा नपाएको तथा परिवारले सुधार केन्द्र पठाउने कुरा गरेकाले रिसको आवेगमा हत्या गरेको बयान दिएका छन् । उनले घटनापछि आफ्नै परिवारलाई फसाउने उद्देश्य समेत रहेको प्रारम्भिक बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्तोषलाई यसअघि पनि खराब आचरणका कारण परिवारले सुधार केन्द्रमा राखिएको खुलेको छ । प्रहरीले पक्राउ परेका सन्तोष कुमार रायविरुद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !