यातायातमा बेथिति : सेटिङमा सरुवा हाजिरै नभई काज
भक्तपुर : सरुवा भएको कार्यालयमा हाजिर हुनै परेन। आफूले मागेकै कार्यालयमा काज सरुवा भयो। दरबन्दी एउटामा, हाजिर अर्कैमा। कामकाज एउटामा तलब अर्कैबाट। सरुवाको यस्तो बेथिति शक्ति केन्द्रमा पहुँच हुनेहरूका लागि सामान्य विषय हो। तर, सुशासनको रटान र यो बेथिति एकैसाथ चल्न सक्ने विषय भने होइनन्।
बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले गत असार २६ गते गरेको यस्तै निर्णयले यतिबेला सुशासनलाई गिज्याइरहेको छ। आठौं तहका अधिकृत रोहित पोखरेलको निमित्त सचिवस्तरीय निर्णयले असार २६ गते यातायात व्यवस्था कार्यालय राधेराधे, भक्तपुरमा सरुवा भयो। सरुवा गरिएकै दिन फेरि अर्को निर्णय भन्दै यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, ललितपुरमा काज सरुवा गरियो। एउटा कर्मचारीका लागि एकैदिन दुईवटा निर्णय गर्नुपर्ने स्थितिमा मन्त्रालय किन पुग्यो ? स्रोत भन्छ, ‘यातायातमा सरुवा सेटिङ हुन्छ।’
चाखलाग्दो कुरा त के भने पोखरेल साना/ठूलामै कार्यरत थिए। सरुवा अवधि छल्न उनी तीन महिना अघि काजमा मन्त्रालय पुगे। मन्त्रालयमा उनले यस्तो जादु चलाए कि उनलाई पुरानै कार्यालय साना/ठूला पुर्याउन राधेराधेमा सरुवाको नाटक रचियो।
उनलाई राधेराधेका काम गराउने मन्त्रालयको चाहनै होइन, यो त प्रक्रिया मिलाउन गरिएको नाटक हो भन्ने कसरी पुष्टि हुन्छ भने पोखरेललाई सरुवा गरेको असार २६ गते नै मन्त्रालयले सोही तहको कर्मचारी प्रतिभादेवी ढकाललाई राधेराधेमा कामकाज गर्नेगरी काज सरुवा गरेको छ।
- बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले एकै दिन एउटै कर्मचारीका लागि सरुवा र काज सरुवाको निर्णय गर्यो।
- अधिकृत रोहित पोखरेललाई राधेराधेमा सरुवा गरिए पनि सोही दिन फेरि ललितपुरको साना–ठूला सवारी कार्यालयमा काज सरुवा गरियो।
- प्रशासनविद्हरूले यस्तो अभ्यासले पारदर्शिता र सुशासनमाथि प्रश्न उठाउने बताएका छन्।
पाँच वर्ष राधेराधे बसिसकेकी ढकाललाई पुरानै कार्यालय राधेराधे प्यारो भयो। आकर्षक कार्यालय मानिने साना/ठूला पोखरेलको पोल्टामा पर्यो। अनि कानुनी प्रक्रिया मिलाउन सरुवा र काजको नाटक मञ्चन गरियो। स्रोतले बताएअनुसार साना/ठूलामा रहेका अम्बिक घिमिरेलगायत र राधेराधेमा पनि विनोद बस्नेतलगायत ७–८ वर्षदेखि सरुवा मिलाएर बसेका कर्मचारी भेटिन्छन्। सरुवा व्यवस्थित गर्न भन्दा मन्त्रालयका पदाधिकारी पनि आफ्ना मान्छे व्यवस्थापनमै अल्झिएका देखिन्छन्।
तलबभत्ता राधेराधेबाटै खानेगरी मन्त्रालयबाट काज सरुवा भएकी ढकाललाई तलबभत्ता खुवाउन बजेट नभएको यातायात व्यवस्था कार्यालय भक्तपुरका कार्यालय प्रमुख प्रवीन श्रेष्ठ बताउँछन्। उनले आफ्नो कार्यालयमा दरबन्दी कायम भई सरुवा भएका पोखरेल भने एकदिन पनि हाजिर नभएका पुष्टि गरे।
भक्तपुरको राधेराधे र ललितपुरको एकान्तकुना कुनै टाढाको कार्यालय होइनन्। कर्मचारी अपायक भएर होइन, सेटिङ बुझेको कार्यालय खोज्दै हिँडेका हुन्। कर्मचारी आफ्नो सेटिङ भएका कार्यालय भरिसक्य छोड्न नमान्ने र जानैपर्ने बाध्यता आइलागे फेरि फर्केर आउने पुरानै प्रवृत्ति भएको यस क्षेत्रका जानकारहरू बताउँछन्। यातायात व्यवस्था कार्यालय अदृश्य कमाइधन्दा हुने कार्यालयका रूपमा बदनाम छन्। सरकारको कर्मचारी खटनपटनले पनि त्यसैलाई नै मलजल गरिरहेको भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज मोक्तान गुनासो गर्छन्।
प्रशासन जानकारहरूका अनुसार सरुवा र काज दुवै कानुनले व्यवस्था गरे पनि सरुवा भएको कार्यालयमा हाजिर नै नगराई अर्को कार्यालयमा कामकाज गराउने अभ्यासले प्रशासनिक पारदर्शितामाथि प्रश्न उठ्छ। यसबारे प्रतिक्रिया लिन खोज्दा मन्त्रालयका कर्मचारी तयार भएनन् भने सूचना अधिकारी सागरविक्रम बस्नेतको मोबाइल शुक्रबार दिनभर स्विच अफ भयो।
बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले भने आफूले पुरानो बेथिति अन्त्य गर्ने प्रतिक्रिया दिएका छन्। तीनवटा मन्त्रालय मिलेर नयाँ मन्त्रालय बनेको र आफू भर्खरै मन्त्री बनेको बताउँदै उनले भने, ‘संगठनात्मक संरचना सुधारमा ध्यान दिनेछु, जरा गाडेर बसेका कर्मचारी सरुवा गर्छु।’ आफ्नो मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत भएपछि सरुवासम्बन्धी गुनासो र बेथिति हट्ने उनले दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !