उपत्यकामा भीषण वर्षा
काठमाडौं : शुक्रबार दिउँसो उपत्यकाका विभिन्न ठाउँमा परेको मुसलधारे वर्षाका कारण काठमाडौंका मुख्य सडकहरू जलमग्न बने ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तीन घण्टाको अवधिमा सबैभन्दा बढी ललितपुरको टीकाथलीमा ४१.८ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै, बबरमहल क्षेत्रमा १४ मिलिमिटर वर्षा भएको छ । एकैछिन परेको भारी वर्षाका कारण तीनकुने, माइतीघर र बानेश्वरलगायतका क्षेत्रमा सडक जलमग्न भई सवारी आवागमनमा समेत असर परेको थियो । साँझसम्म उपत्यकाका अन्य क्षेत्रमा भने धेरै वर्षा मापन भएको छैन ।
उपत्यकाबाहिर पनि शुक्रबारदेखि मुलुकका धेरैजसो भूभागमा वर्षा भइरहेको छ । विभागका अनुसार शुक्रबार साँझ ५ बजेको एक घण्टामा सबैभन्दा धेरै सुर्खेतको रातानाङ्लामा ४४.८ मिलिमिटर वर्षा भएको छ ।
मौसमविद्हरूका अनुसार शनिबार तराईका केही स्थानमा मध्यम वर्षा हुनेछ भने आइतबारदेखि बिहीबारसम्म देशका अधिकांश भागमा वर्षाको प्रभाव रहनेछ । शनिबार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । अचानक हुने भारी वर्षाका कारण हुन सक्ने जोखिमबाट जोगिन विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस !