प्राइम टाइम छाडेर मोदीले रोजेको इन्स्टाग्रामको राजनीतिक अर्थ

प्राइम टाइम छाडेर मोदीले रोजेको इन्स्टाग्रामको राजनीतिक अर्थ

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति ११:५२ बजे देशभरका युवा आन्दोलनसँग सम्बन्धित विषयमा आफ्नो इन्स्टाग्राम खाताबाट भिडियो सन्देश सार्वजनिक गरे। राजनीतिक विश्लेषकहरूले यसलाई युवापुस्तालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने नयाँ डिजिटल रणनीतिका रूपमा व्याख्या गरेका छन्।

मोदीले यसअघि नोटबन्दी, कोभिड-१९ महामारी वा राष्ट्रका महत्वपूर्ण विषयमा प्रायः प्राइम टाइममा टेलिभिजन र सरकारी युट्युब च्यानलमार्फत राष्ट्रलाई सम्बोधन गर्ने गरेका थिए। तर, यसपटक भने उनले मोबाइलको फ्रन्ट क्यामेराबाट ठाडो (भर्टिकल) भिडियो रेकर्ड गरी इन्स्टाग्राममार्फत सन्देश दिए।

यस सन्देशमा उनले आफूले प्रायः प्रयोग गर्ने ‘मित्रों’ शब्दको सट्टा ‘फ्रेन्ड्स’ भनेर सम्बोधन गरेका थिए। यसलाई पनि युवासँगको सम्बन्ध थप निकट बनाउने प्रयासका रूपमा हेरिएको छ।

वरिष्ठ राजनीतिक पत्रकार नीरजा चौधरीका अनुसार इन्स्टाग्राम विद्यार्थी र युवा पुस्ताको सबैभन्दा प्रभावकारी माध्यम बनेकाले प्रधानमन्त्रीले यही प्लेटफर्म रोजेका हुन्। 'इन्स्टाग्राम आज विद्यार्थीहरूको प्लेटफर्म हो। त्यसैले प्रधानमन्त्रीले उनीहरूले गम्भीरतापूर्वक लिने माध्यमबाट सन्देश दिनु स्वाभाविक हो,' उनी भन्छिन्।

दिल्ली विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक चन्द्रचूड सिंह पनि प्रधानमन्त्री स्वयंले प्रत्यक्ष रूपमा विद्यार्थीलाई सम्बोधन गर्नु आवश्यक रहेको बताउँछन्। उनका अनुसार सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेपले आन्दोलनको तीव्रता कम हुन सक्ने अपेक्षा गरेको देखिन्छ।

भारतमा जारी विरोध प्रदर्शनमा सहभागी अधिकांश युवाले आफ्नो अनुभव र सन्देश इन्स्टाग्राममार्फत सार्वजनिक गरिरहेका छन्। मोबाइल फोन, सस्तो माइक्रोफोन र सेल्फी स्टिककै भरमा उनीहरूले आफ्ना आवाज लाखौं मानिससम्म पुर्‍याइरहेका छन्।

दिल्ली विश्वविद्यालयकी २२ वर्षीया छात्रा सखीका अनुसार मुख्यधारको सञ्चारमाध्यमले आन्दोलनकारी युवाको पर्याप्त प्रतिनिधित्व नगरेपछि इन्स्टाग्राम उनीहरूको वैकल्पिक माध्यम बनेको हो। 'हामीले भन्न खोजेको कुरा तुरुन्तै सार्वजनिक गर्न सकेका थिएनौं। त्यसैले हामी इन्स्टाग्राममा आयौं। मुख्यधारको मिडियाले नदेखाए पनि हाम्रो आफ्नै प्लेटफर्म थियो,' उनले भनिन्।

२० जुलाईको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको आरोप लागेपछि सखीले तीनवटा रील पोस्ट गरेकी थिइन्। तीमध्ये एउटालाई मात्रै ३ करोड ५६ लाखभन्दा बढी पटक हेरिएको छ भने उनका फलोअर करिब ३ हजारबाट बढेर ७० हजार पुगेका छन्।

सामाजिक सञ्जालसम्बन्धी अध्ययनहरूका अनुसार भारतमा इन्स्टाग्रामका ५० करोडभन्दा बढी खाता छन्, जसका अधिकांश प्रयोगकर्ता १८ देखि ३० वर्ष उमेर समूहका छन्।

सखीका अनुसार फेसबुक अहिले अभिभावक पुस्ताको माध्यम बनेको छ भने ह्वाट्सएप अघिल्लो पुस्तामा बढी लोकप्रिय छ। टिकटक प्रतिबन्धपछि छोटो भिडियो हेर्न र आफ्ना विचार व्यक्त गर्न जेनजीका लागि इन्स्टाग्राम नै प्रमुख प्लेटफर्म बनेको उनको भनाइ छ।

मोदीको सन्देश र राजनीतिक अर्थ
प्रधानमन्त्री मोदीले आफ्नो भिडियोमा पेपर लिक प्रकरणमा कडा कारबाही गर्ने तथा त्यस्ता मुद्दाको सुनुवाइका लागि फास्ट ट्र्याक अदालत गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विश्लेषकहरूका अनुसार यसको उद्देश्य विद्यार्थीलाई सरकारले उनीहरूको चिन्ता गम्भीरतापूर्वक लिएको सन्देश दिनु थियो।

सन् २०१४ यता भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री मोदीलाई डिजिटल प्रचार र सामाजिक सञ्जाल रणनीतिमा अग्रणी मानिँदै आएको छ। तर, अहिलेको जेनजी फरक डिजिटल परिवेशमा हुर्किएकाले पार्टीले आफ्नो डिजिटल रणनीतिमाथि पुनर्विचार गर्नुपर्ने बहस सुरु भएको छ।

आरएसएस निकट विचारक रतन शारदाले भाजपाको सामाजिक सञ्जाल संयन्त्रले युवाको असन्तुष्टि समयमै बुझ्न नसकेको टिप्पणी गरेका छन्। उनका अनुसार पार्टीको डिजिटल रणनीति ‘मिम’ र ‘ह्वाटअबाउटरी’मै सीमित भएको छ।

यद्यपि राजनीतिक विश्लेषक राहुल वर्मा भने ‘ह्वाट्सएप पुस्ता’ र ‘इन्स्टाग्राम पुस्ता’बीच स्पष्ट विभाजन गर्न नहुने बताउँछन्। उनका अनुसार अहिले आन्दोलनमा देखिएका धेरै युवा विगतमा भाजपाकै समर्थक थिए। उनी थप्छन्, 'किसान आन्दोलन वा नागरिकता संशोधन ऐन (सीएए)विरोधी आन्दोलनजस्तो कुनै एक नीति केन्द्रित आन्दोलनभन्दा अहिलेको असन्तुष्टि प्रशासनिक कमजोरीसँग जोडिएको छ। त्यसैले सरकारसँग बलियो प्रतिवाद (काउन्टर न्यारेटिभ) तयार थिएन।

उनका अनुसार यही कारण प्रधानमन्त्री मोदीले जेनजीसम्म आफ्नो सन्देश पुर्‍याउन इन्स्टाग्रामलाई माध्यम बनाएका हुन्।

प्राध्यापक चन्द्रचूड सिंह भने युवाको असन्तुष्टिलाई केवल सामाजिक सञ्जालको चस्माबाट हेर्न नहुने बताउँछन्। उनका अनुसार अहिलेको पुस्ताको निराशा धेरै गहिरो र व्यापक छ, जसलाई केवल डिजिटल अपिलले समाधान गर्न सकिँदैन। सन् २०१४ पछि पहिलोपटक मतदान गर्न थालेको जेनजीमा परिवर्तनको अपेक्षा र राजनीतिक थकान दुवै देखिन थालेको हुनसक्ने उनको विश्लेषण छ।

-बीबीसी हिन्दीबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.