शिक्षा मन्त्रीको राजीनामा माग्दै अनशनमा बसेका सोनम वाङचुकले तोडे अनशन
नयाँ दिल्ली : नीट परीक्षा प्रश्नपत्र लीक प्रकरणलाई लिएर विद्यार्थीहरूले गरिरहेको आन्दोलनको समर्थनमा विगत २६ दिनदेखि अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार मध्यराति आफ्नो अनशन तोडेका छन् ।
उनले २६ दिनपछि केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह-लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोडेका हुन् । उक्त विषयको जानकारी वाङचुकले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर मार्फत गराएका छन् ।
अनशन तोड्नुअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले पत्र लेखेर आफूलाई अनशन तोड्न आग्रह गरेको वाङचुकले उल्लेख गरेका छन्। विभिन्न शर्तहरूमाथि भएको लामो छलफल तथा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णयमा पुगेको उनले बताएका छन्।
सामाजिक सञ्जाल मार्फत नै उनले चाँडै नै अर्को भिडियोमार्फत ती शर्तहरूबारे विस्तृत जानकारी दिने बताएका छन् । साथै उनले कोही कसैले कुनै किसिमको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन अपिल गरेका छन् ।
नीट-युजी प्रश्नपत्र लीक प्रकरणलाई लिएर विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा प्रदर्शनरत छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्, जसको समर्थनमा वाङचुक विगत २६ दिनदेखि अनशनमा बसेका थिए।
प्रतिक्रिया दिनुहोस !