किम जोङ उनले कसरी सुधारे उत्तर कोरियाको अर्थतन्त्र ? कसरी बने शक्तिशाली ?
उत्तर कोरिया : उत्तर कोरिया धेरै दशकदेखि अन्तर्राष्ट्रिय विज्ञहरूले ‘जीविकोपार्जन संकट’ भनेर वर्णन गर्ने अवस्थाबाट गुज्रिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ करिब १ करोड १० लाख मानिस, अर्थात् कुल जनसंख्याको झण्डै ४५ प्रतिशत, कुपोषणको समस्याबाट प्रभावित छन् । मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरू निरन्तर सार्वजनिक भइरहेका देशमा यस्तो अवस्था देखिएको हो । वर्षौंदेखिको सरकारी नियन्त्रणमा रहेको अर्थतन्त्र, बाहिरी संसारबाट अलग रहने नीति तथा सार्वजनिक सेवाभन्दा सुरक्षा संयन्त्रलाई प्राथमिकता दिने नीतिले देशको अवस्था झन् जटिल बनाएको छ ।
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले यसलाई ‘मानवअधिकारको संकट’ भनेका छन् । किम परिवारको तेस्रो पुस्ताका नेता किम जोङ–उनले भने आफ्नो शासनलाई थप सुदृढ बनाएका छन् । दोस्रो विश्वयुद्धपछि उत्तर कोरिया स्थापना भएदेखि नै किम परिवार सत्तामा रहँदै आएको छ । आज उत्तर कोरिया संसारकै सबैभन्दा बन्द र अलग–थलग रहेका मुलुकहरूमध्ये एक मानिन्छ ।
कोभिडपछि देखिएको परिवर्तन
तर अहिले अवस्था केही परिवर्तन हुँदै गएको संकेत देखिन्छ । कोभिड महामारी समाप्त भयो, अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रभाव केही कम भयो र उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तर अघि बढाउँदै रुससँगको सम्बन्धलाई पनि थप मजबुत बनायो । यसैबीच, धेरै दशकपछि पहिलो पटक अर्थतन्त्रमा सुधारका संकेत देखिन थाले । गत मार्चमा संसदलाई सम्बोधन गर्दै किमले उत्तर कोरियाले ‘असाधारण परिवर्तन’ अनुभव गरेको दाबी गरे ।
उनले भने, ‘अब हाम्रो देश यस्तो अवस्थामा छैन कि अरू राष्ट्रको धम्कीबाट डराउनु परोस् ।’ अर्थतन्त्र वास्तवमै कति सुधारिएको छ ? उत्तर कोरियाभित्र वास्तवमा के भइरहेको छ भन्ने जानकारी पाउन निकै कठिन छ । सरकारले बाहिरी संसारमा सूचना जान नदिन कडा नियन्त्रण गर्ने भएकाले पत्रकार र अनुसन्धानकर्ताहरू प्रायः देश छाड्न सफल भएका उत्तर कोरियाली नागरिक, दक्षिण कोरियाली गुप्तचर निकाय तथा सीमित विदेशी आगन्तुकहरूको अनुभवमा निर्भर रहनुपर्छ । यद्यपि उपलब्ध जानकारीले केही सकारात्मक संकेत देखाएका छन् ।
दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार २०२४ मा उत्तर कोरियाको जीडीपी वृद्धि दर ३.७ प्रतिशत पुगेको थियो, जुन पछिल्ला आठ वर्षकै उच्च आर्थिक वृद्धि मानिएको छ । विशेषज्ञहरूका अनुसार किम जोङ–उनको शासनकालमा अहिले उत्तर कोरियाको अर्थतन्त्र तुलनात्मक रूपमा सबैभन्दा राम्रो अवस्थामा पुगेको छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोका अर्थशास्त्री स्टेफन हेगार्ड भने, ‘उत्तर कोरियाली शासन पहिलेको तुलनामा धेरै समृद्ध भएको छ ।’
यसका प्रमुख कारणहरूमा :
रुसलाई हतियार तथा गोलाबारुद निर्यात ।
चीनसँग व्यापार विस्तार ।
अनौपचारिक बजारमाथि सरकारी नियन्त्रण ।
अन्तर्राष्ट्रिय प्रतिबन्धको कार्यान्वयनमा आएको शिथिलता ।
राजधानीमा देखिएका परिवर्तन
विश्लेषकहरूका अनुसार राजधानी प्योङयाङमा केही उल्लेखनीय परिवर्तन देखिएका छन् । सडकहरू पहिलेभन्दा बढी उज्यालो भएका छन् । धेरै अग्ला भवनमा लिफ्ट सञ्चालन हुन थालेको छ । मोबाइल फोनको प्रयोग बढेको छ । आयातित विद्युतीय सवारीसाधन देखिन थालेका छन् । खाना अर्डर गर्ने र ट्याक्सी बोलाउने मोबाइल एप प्रयोगमा आएका छन् ।
अष्ट्रेलियाली ट्राभल एजेन्ट रोवन बियर्डले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै भने, ‘मेरो अनुवादकले मोबाइल एपबाट ट्याक्सी बोलाए र केही मिनेटमै आइपुग्यो । यस्तो परिवर्तन देखेर म छक्क परें ।’ सरकारले वोन्सान–काल्मा समुद्री पर्यटन परियोजना जस्ता ठूला परियोजनाहरू पनि सम्पन्न गरेको छ। त्यसैगरी ‘२०×१०’ योजनाअन्तर्गत आगामी १० वर्षमा देशभर २० नयाँ कारखाना स्थापना गर्ने लक्ष्य पनि सार्वजनिक गरिएको छ ।
परमाणु शक्ति विस्तार
उत्तर कोरियाले आफूलाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रूपमा स्थापित गर्ने प्रयासलाई निरन्तर अघि बढाएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध वा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा भएका वार्ताले पनि किमलाई परमाणु कार्यक्रम रोक्न सकेन । किमको विश्वासमा परमाणु हतियार नै बाह्य ‘खतरा’ बाट शासन जोगाउने मुख्य माध्यम हो । यसका लागि उत्तर कोरियाले नयाँ पुस्ताका मिसाइल विकास गरिरहेको छ । पश्चिमी विश्लेषकहरूका अनुसार उसले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी तथा अमेरिकासम्म पुग्न सक्ने अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल पनि विकास गरिरहेको छ ।
जनताको अवस्था अझै कठिन
यद्यपि अर्थतन्त्रका केही सूचक सुधारिए पनि आम नागरिकको जीवन सहज बनेको छैन । सन् १९९४ देखि १९९८ सम्म उत्तर कोरियाले ठूलो भोकमरीको सामना गरेको थियो । यसलाई अनुसन्धानकर्ताहरूले ‘ग्रेट फेमिन’ भनेका छन् भने सरकारले ‘कठिन मार्च’ भनेर उल्लेख गर्छ ।
त्यस समयमा भोकमरी र रोगका कारण लाखौं मानिसको मृत्यु भएको अनुमान छ । आज पनि देशमा सरकारविरुद्ध बोल्न पाइँदैन । दक्षिण कोरियाली टिभी कार्यक्रम हेर्न वा के–पप सुन्न समेत कडा सजाय हुन सक्छ ।
देश छाड्ने प्रयास गर्नेहरूमाथि गोली चलाइने आरोप लाग्दै आएको छ । असहमतिलाई मृत्यु दण्डसम्मको सजाय दिइने व्यवस्था रहेको बताइन्छ । कोभिड महामारीका बेला सरकारले अनौपचारिक बजारमाथि थप नियन्त्रण गरेपछि धेरै नागरिकको आम्दानीको अन्तिम स्रोत समेत बन्द भएको थियो । दक्षिण कोरिया पुगेकी उत्तर कोरियाली नागरिक किम यु–मीले भनिन्, ‘किम जोङ–उनको शासनमा सबैभन्दा ठूलो समस्या भनेको हामीलाई पैसा कमाउन समेत अनुमति थिएन ।’
रुस र चीनको भूमिका
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि किम जोङ–उनले त्यसलाई अवसरका रूपमा लिए । पश्चिमी गुप्तचर निकायहरूका अनुसार उत्तर कोरियाले करिब १५ हजार सैनिक रुसलाई सहयोगका लागि पठाएको छ । त्यसपछि उत्तर कोरियाली कारखानामा रुसका लागि हतियार उत्पादन बढ्यो । रुस र उत्तर कोरियाबीच सैन्य तथा आर्थिक सम्बन्ध अझ मजबुत भयो ।
जुन २०२४ मा दुई देशबीच व्यापक रणनीतिक साझेदारी सम्झौता भयो, जसमा पारस्परिक रक्षा सहयोग पनि समावेश छ । विशेषज्ञहरूका अनुसार रुसबाट प्राप्त पैसा, प्रविधि र सैन्य सहयोगले उत्तर कोरियाको भारी उद्योग, खानी, मेसिन निर्माण र रासायनिक उद्योगलाई पुनर्जीवित गर्न मद्दत पुगेको छ । तर विश्लेषकहरूको भनाइमा, रुसले तत्काल राहत दिन सक्ने भए पनि उत्तर कोरियाको दीर्घकालीन आर्थिक विकासमा चीनको जस्तो ठूलो भूमिका खेल्न सक्ने क्षमता भने सीमित छ ।
प्रतिक्रिया दिनुहोस !