को हुन् विजेता दहिया ? सीजेपीले प्रवक्ता पदबाट किन हटायो ?
भारत : ‘संसद चलो’ मार्च भएको एक दिनपछि, मंगलबार, ककरोच जनता पार्टी (सीजेपी) ले विजेता दहियालाई पार्टीको प्रवक्ता पदबाट हटाएको छ। पार्टीले एक्समार्फत यसको जानकारी दिएको हो । सोमबार संसद मार्चका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । यही क्रममा विजेता दहियासँग सम्बन्धित भनिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, उक्त भिडियोको स्वतन्त्र पुष्टि भएको छैन ।
गत जुन महिनामा सामाजिक सञ्जालमार्फत चर्चामा आएको सीजेपीले तीन जना प्रवक्ताको घोषणा गरेको थियो । अनुसन्धान पत्रकार सौरभ दासलाई मुख्य प्रवक्ता बनाइएको थियो भने राजनीतिक अनुसन्धानकर्ता, लेखक तथा फिल्म निर्माता विजेता दहिया र आईआईटी कानपुरका पूर्वविद्यार्थी आशुतोष रांका लाई प्रवक्ता नियुक्त गरिएको थियो ।
विवाद के हो ? विजेता दहियाले के भने ?
आलोचनाको जवाफ दिँदै दहियाले इन्स्टाग्राममा भिडियो जारी गरे । उनले आफू मार्चमा सहभागी भएको तर मार्च सकिएको जस्तो लागेपछि त्यहाँबाट निस्किएको बताए । उनले भने, ‘मैले बर्गर किन खाएँ ? आज यही सबैभन्दा ठूलो मुद्दा बनेको छ । मानिसले बर्गर किन खान्छ ? किनकि उसलाई भोक लागेको हुन्छ । मलाई पनि धेरै भोक लागेको थियो । राम्रो खाना खाँदा मन पनि राम्रो हुन्छ ।’
उनले आलोचकहरूले प्रदर्शनकारीहरूको त्याग र संघर्षलाई बेवास्ता गरिरहेको पनि बताए । उनले भने, ‘मानिसहरूले यो देख्दैनन् कि म दुई रातदेखि सुत्न पाएको छैन । प्रदर्शनमा सहभागी अरू साथीहरू पनि सुत्न पाएका छैनन् ।’ दहियाले मार्चपछि आफू पहिले घर गएर नुहाएको र त्यसपछि खाना खान गएको पनि बताएका थिए ।
सीजेपीले किन हटायो ?
मंगलबार सीजेपीले विजेता दहियालाई प्रवक्ता पदसँगै सबै आधिकारिक जिम्मेवारीबाट हटाएको घोषणा गर्यो । पार्टीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हाम्रा प्रवक्ता विजेता दहियाको अत्यन्त असंवेदनशील व्यवहारको हामी कडा निन्दा गर्छौं । जब शान्तिपूर्ण प्रदर्शनकारी र हाम्रो टोली प्रहरीले गरेको बर्बर हिंसाको सामना गरिरहेका थिए, त्यही बेला उनले भिडियो सार्वजनिक गरे ।’ पार्टीका अनुसार यस्तो व्यवहार अस्वीकार्य, गैरजिम्मेवार तथा आन्दोलनका मूल मूल्य र सिद्धान्तविपरीत रहेकोले उनलाई सबै जिम्मेवारीबाट मुक्त गरिएको हो ।
को हुन् विजेता दहिया ?
सीजेपीले उनलाई प्रवक्ता बनाउँदा उनी राजनीतिक अनुसन्धान, रणनीतिक विश्लेषण, लेखन, सामग्री निर्माण (कन्टेन्ट क्रिएसन) तथा फिल्म निर्माणमा अनुभवी रहेको जनाएको थियो । उनले ‘पावर अफ युनिभर्स’ र ‘टु हेल विथ द्याट जब’ नामका दुई बेस्टसेलर पुस्तक लेखेका छन् । त्यसैगरी उनले हरियाणवी फिल्म ‘दरारें’ र ‘ओपरी पराई’ को लेखन तथा निर्देशन गरेका छन् । उनले दिल्ली टेक्नोलोजिकल विश्वविद्यालय (डीटीयु) बाट अध्ययन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !