अफगानिस्तानमा आकस्मिक बाढीले २३ जनाको मृत्यु, १०० बढी बेपत्ताको खोजी जारी
अफगानिस्तान : अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ ।
सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्याइरहेको छ, र जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये अफगानिस्तान पनि एक हो ।
नुरिस्तानमा आएको बाढीपछि १०० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । खोजी कार्य जारी रहँदा मौसमविद्हरूले त्यस क्षेत्रमा पुनः बाढी आउन सक्ने चेतावनी दिएका छन् । अफगानिस्तानको यातायात तथा नागरिक उड्डयन मन्त्रालयको मौसम विज्ञान विभागले सोमबार साँझ जारी गरेको पूर्वानुमानअनुसार देशका ३४ मध्ये १० वटा प्रान्तमा भारी वर्षा, चट्याङ, हुरीबतास, धुलोको आँधी तथा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । प्रान्तीय राजधानी पारुनसहित धेरै स्थानमा बाढीले घरहरू माटो र भग्नावशेषमा परिणत भएका दृश्य सार्वजनिक भएका छन् ।
दक्षिण एसियाभर मनसुनको कहर
यस वर्षको मनसुनका कारण दक्षिण एसियाका धेरै देशमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । अफगानिस्तान, पाकिस्तान र भारत जस्तै, मौसमी वर्षापछि आउने आकस्मिक बाढीको उच्च जोखिममा रहेको देश हो । सोमबार भारतका उत्तरी र उत्तरपूर्वी राज्यहरूमा बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको जनाइएको छ ।
अफगानिस्तान किन बढी जोखिममा ?
दशकौं लामो युद्ध, कमजोर पूर्वाधार, वन विनाश तथा जलवायु परिवर्तनका कारण अफगानिस्तान यस्ता प्राकृतिक विपत्तिसँग जुध्न अत्यन्त कमजोर अवस्थामा छ । दुर्गम क्षेत्रमा अधिकांश घरहरू माटोले बनेका हुने भएकाले आकस्मिक बाढी वा भारी हिमपातबाट बच्न पर्याप्त सुरक्षित हुँदैनन् । सन् २०२४ मा वसन्त ऋतुमा आएको आकस्मिक बाढीका कारण ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । यस वर्षको सुरुवातमै देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ११० जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस !