‘कक्रोचहरू’ सँग झुक्ला सरकार ? वाङचुकपछि अब सीजेपीसँग भेट्दै केन्द्रीय मन्त्री
भारत : भारतको केन्द्र सरकार र कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा प्रदर्शन गरिरहेका विद्यार्थीहरूबीच बुधबार फेरि एक पटक वार्ता हुँदैछ। सामाजिक अभियन्ता सोनम वाङचुकसँग राति अबेर भएको महत्वपूर्ण बैठकपछि सरकारी स्रोतहरूले यो गतिरोध चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन्।
जन्तर–मन्तरमा बढिरहेको ठूलो भीडलाई हेर्दा सरकार ‘कक्रोचहरू’ को दबाबमा झुक्न सक्ने देखिएको छ । तर अहिलेसम्म केन्द्र सरकारले दबाबमा परेर कुनै निर्णय नगर्ने संकेत दिएको छ । यही कारण पछिल्लो २४ घण्टामा सरकारले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई अगाडि सार्दै विरोधीहरूमाथि जवाफी रणनीति अपनाएको छ ।
सीजेपीको प्रमुख मागमध्ये शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पनि रहेको बताइएको छ । आज केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले सीजेपीका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन् । केही घण्टाअघि जितेन्द्र सिंह र केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले गुरुग्रामस्थित मेदान्ता अस्पताल पुगेर वाङचुकसँग भेट गरेपछि यो वार्ता हुन लागेको हो । वाङचुक अनशनपछि हाल सोही अस्पतालमा उपचाररत छन्।
संसदमा छलफलको मागमा सहमति
न्यूज १८ ले सरकारी स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार, मध्यरातमा भएको बैठकमा सबैभन्दा महत्वपूर्ण विषय वाङचुकको त्यो माग थियो, जसमा उनले जारी विद्यार्थी आन्दोलनबारे संसदमा छलफल गराउनुपर्ने बताएका थिए । सरकार संसदमा छलफल गराउन सहमत भएको अनुमान गरिएको छ । यसले लामो समयदेखि चलिरहेको विवाद समाधान गर्न ठूलो सहयोग पुग्न सक्ने विश्वास गरिएको छ । सरकारी स्रोतहरूले वार्ताबाट समाधान निस्कने पूर्ण आशा रहेको र सरकारतर्फबाट संवादका ढोका खुला रहेको बताएका छन् ।
विपक्षीको प्रदर्शन र राजनीतिक गतिविधि
दिल्लीमा जारी प्रदर्शनबीच मंगलबार राजनीतिक गतिविधि पनि तीव्र देखियो । राहुल गान्धी र प्रियंका गान्धी वाड्रासहित विपक्षी नेताहरू प्रदर्शनकारीको समर्थनमा उत्रिए । उनीहरूले प्रदर्शनकारी विद्यार्थीसँगै प्रधानमन्त्री नरेन्द्र मोदीको निवासतर्फ मार्च गर्ने प्रयास गरे । दिल्ली प्रहरीले उनीहरूलाई बाटोमै रोकेर नियन्त्रणमा लिएको थियो र केही समयपछि छोडेको थियो । संसदको वर्षे अधिवेशनमा पनि यो विषयलाई लिएर लगातार हंगामा भइरहेको छ र विपक्षी दलहरू छलफलको मागमा अडिग छन् ।
प्रतिक्रिया दिनुहोस !