भग्नावशेष बनेको विद्यालयबाट शिक्षिकाको बिलौना - विद्यार्थीका कोठा शोक मनाउने पर्खाल बने
इरान : ३३ वर्षीया शिक्षिका अमाइनेह नादेमी आफ्नो पुरानो विद्यालयका भग्नावशेषहरूका बीच होसियारीपूर्वक हिँडिरहेकी छन्। माथिल्लो तलाका भत्किएका कंक्रिटका ठूला टुक्राहरू जोखिमपूर्ण रूपमा झुण्डिरहेका छन्। केही कक्षाकोठाहरू अझै पनि जस्ताको तेस्तै छन्, जसका रङ्गीचङ्गी पर्खालहरूमा बेलुन र फूलका चित्रहरू कोरिएका छन्।
उनीलाई कुन ठाउँ कहाँ थियो भन्ने सबै याद छ—माथिल्लो तलामा छात्राहरूको कक्षाकोठा, तल छात्रहरूको कक्षाकोठा, प्रधानाध्यापकको कार्यकक्ष र प्रार्थना कक्ष। इरानको दक्षिणी सानो शहर मिनाबस्थित शजरेह तय्येबेह प्राथमिक विद्यालयमा उनी पहिलो कक्षाका छात्राहरूलाई पढाउँथिन्। तर अहिले त्यहाँ भग्नावशेषबाहेक केही बाँकी छैन।
गत फेब्रुअरी २८ का दिन अमेरिका-इजरायल र इरानबीच युद्ध शुरू भएकै पहिलो प्रहरमा यस विद्यालयमा भएको क्षेप्यास्त्र प्रहारले एउटा सामान्य शनिबारको बिहानलाई यस द्वन्द्वकै सबैभन्दा ठूलो र भयानक त्रासदीमा परिणत गरिदियो। मिनाब अभियोजक (सरकारी वकील) कार्यालयका अनुसार यस घटनामा गर्भवती महिला र उनको नजन्मेको शिशुसहित कुल १५६ जनाको मृत्यु पुष्टि भएको छ, जसमध्ये १२० जना बालबालिका थिए।
उपलब्ध प्रमाणहरूले अमेरिकी सेनाले उक्त विद्यालयमा प्रहार गरेको संकेत गर्छ। विद्यालय नजिकै 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'को परिसर रहेको थियो, जहाँ पटक-पटक आक्रमण भएको स्याटेलाइट दृश्यहरूले देखाउँछन्। अमेरिकाले आधिकारिक रूपमा जिम्मेवारी स्वीकार गरेको छैन यद्यपि अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सैन्य अनुसन्धानकर्ताहरूले अमेरिकी सेनाले अन्जानवश उक्त स्कुलमा आक्रमण गरेको हुनसक्ने अनुमान गरेका छन्।
यहाँको पीडा अझै ताजै छ। उद्धारकर्ताहरू अझै पनि अवशेषहरूको खोजी गरिरहेका छन्। 'यसलाई अब विद्यालय भन्न सकिँदैन,' अमाइनेह भन्छिन्, 'यी केवल मृत्यु, शोक र रगतको गन्ध आउने पर्खालहरू हुन्।'
रमजानको पवित्र महिना भएकाले बालबालिकाहरू कुरान पाठका लागि प्रार्थना हलमा भेला भएका थिए। त्यसपछि अमाइनेहले आफ्ना विद्यार्थीहरूलाई पढाउन शुरू गरेकी थिइन्।
तर, इरानभर युद्धका पहिलो आक्रमणहरू शुरू भएपछि प्रधानाध्यापकले विद्यालय बन्द हुने घोषणा गरे र शिक्षकहरूले अभिभावकहरूलाई खबर गरी बालबालिका लैजान आग्रह गरे। अमाइनेहको माथिल्लो तलाको कक्षाकोठामा केवल पाँच जना विद्यार्थी मात्र बाँकी थिए, जब उनले टाढा विस्फोटको आवाज सुनिन्। उनी बालबालिकालाई लिन दौडिइन्।
'म निस्कन खोज्दै मात्र थिएँ, विद्यालयमा क्षेप्यास्त्र प्रहार भयो,' अमाइनेह सम्झिन्छिन्, 'केही वस्तु मेरो र मेरा विद्यार्थीहरूको टाउकोमा ठोकियो—हामी सबै हावामा हुत्तियौँ।'
त्यसपछि बाक्लो कालो धुँवाले कक्षाकोठा भरियो। 'मैले अँगालोमा समातेका विद्यार्थीहरूलाई समेत देख्न सकिनँ। हामीले सास फेर्नै सकेनौँ।' त्यसपछि अर्को विस्फोट र बालबालिकाहरूको चीत्कारसँगै सिङ्गो विद्यालय एकैपटक भत्किएको उनी बताउँछिन्।
धुँवा केही हटेपछि उनले घाइते बालबालिकालाई तल रहेका मानिसहरूतर्फ पठाइन् र आगो र भग्नावशेष पन्छाउँदै गेटतिर पुगिन्, जहाँ अभिभावकहरूको ठूलो भीड थियो। धेरैजसो अभिभावकहरू खाली गोडा नै दौडिएर आएका थिए।
अमाइनेहले यस विद्यालयमा छ वर्षसम्म अध्यापन गराएकी थिइन्। उनी त्यस दिन ज्यान गुमाउने आफ्ना विद्यार्थी र सहकर्मीहरूको नाम सम्झिन्छिन्—पहिलो कक्षाकी अद्रिना (जसको सिँढीमै मृत्यु भयो), दोस्रो कक्षाकी फातेमेह, प्रधानाध्यापक, उप-प्रधानाध्यापक र अन्य शिक्षकहरू।
रेड क्रसका उद्धारकर्ता रेशा बेशरती घटनालगत्तै पुग्दा बाटोमा आफ्ना बालबालिका खोज्न आतुर परिवारहरूको भीड थियो।'हामीले कोही जीवितै भेटिन्छ कि भनेर खोज्न शुरू गर्यौँ, 'रेशा भन्छन्, 'तर दुर्भाग्यवश, कोही पनि जीवित थिएनन्।'
उनी भन्छन् कि मृतदेहहरू नराम्ररी क्षत-विक्षत अवस्थामा थिए। धेरै परिवारहरूले आफ्ना बालबालिकालाई उनीहरूले लगाएको जुत्ता वा कपडाका आधारमा मात्र पहिचान गर्न सकेका थिए।
'मेरा एक आफन्तले 'मेरो छोरालाई खोजिदेऊ' भन्दै बिलौना गरिरहेका थिए। उहाँको छोरा अब यो संसारमा छैन भनेर भन्ने हिम्मत मसँग थिएन। हामी सबै रोइरहेका मात्र थियौँ,' रेशा सम्झिन्छन्।
आक्रमणको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रमाणबिना नै यसको दोष इरानमाथि लगाएका थिए। रक्षामन्त्री पिटर हेगसेथले सैन्य अनुसन्धान भइरहेको र अमेरिकी सेनाले 'कहिले पनि नागरिकलाई लक्षित नगर्ने' बताएका थिए। पछि उनले उच्चस्तरीय अनुसन्धानको घोषणा गरे पनि ट्रम्प प्रशासनले हालसम्म अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको छैन।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार रक्षा गुप्तचर एजेन्सीले उपलब्ध गराएको पुरानो तथ्यांकका कारण उक्त विद्यालयलाई सैन्य स्थलको रूपमा गलत पहिचान गरिएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ।
विशेषज्ञहरूको भिडियो विश्लेषण अनुसार उक्त परिसरमा 'टोमाहक' क्रुज क्षेप्यास्त्र प्रहार गरिएको थियो, जुन क्षेप्यास्त्र इरान वा इजरायलसँग छैन। ऐतिहासिक स्याटेलाइट तस्बिरहरूले उक्त विद्यालय पहिले परिसरकै भाग भए पनि सन् २०१६ देखि छुट्टै पर्खाल र ढोकासहित सञ्चालनमा रहेको देखाउँछन्।
भत्किएको विद्यालयबाट केही दूरीमा रहेको चिहानघारीमा मारिएका धेरैजसो बालबालिका र शिक्षकहरूलाई गाडिएको छ। मासुमेह मेहरान शेखाबादी आफ्नी नौ वर्षीया छोरी सेतायेशको चिहानमा दिनहूँ आउँछिन्। 'त्यहाँ विद्यालय बाँकी थिएन,' उनी भन्छिन्, 'केवल धुँवा, बालबालिकाका कपाल र शरीरका टुक्राहरू मात्र थिए।'
भोलिपल्ट बिहान मात्र सेतायेशको मृत्युको पुष्टि भएको थियो। उनले लगाएको क्रिम रङ्गको मोजाका आधारमा उनको शव पहिचान गरिएको थियो। शिक्षिका बन्ने सपना बोकेकी सेतायेशकी आमा भन्छिन्, 'यी बालबालिकाको अपराध के थियो ? के उनीहरूले हतियार बोकेका थिए ? उनीहरूसँग त केवल सिसाकलम, किताब र झोला मात्र थियो।।। उनीहरू त केवल पढ्न गएका थिए।'
-स्राेत: बीबीसी
प्रतिक्रिया दिनुहोस !