पहिरोका कारण केदारनाथ पैदल मार्ग अस्थायी रूपमा बन्द
काठमाडौं :प्रसिद्ध धार्मिक स्थल केदारनाथ धाम जाने पैदल मार्गमा भारी वर्षापछि गएको पहिरोका कारण यात्रा अस्थायी रूपमा स्थगित गरिएको छ।
गौरीकुण्डबाट करिब एक किलोमिटर अगाडि ‘छोडी’ भन्ने स्थानमा बुधबार बिहान ६:०१ बजे पहिरो र ठूला ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो। रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दन सिंह रजवारका अनुसार श्रद्धालुहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई विभिन्न सुरक्षित स्थानहरूमा रोकिएको छ।
सूचना पाउनासाथ जिल्ला विपद् सञ्चालन केन्द्रले आफ्ना अधिकृत तथा गौरीकुण्डको टोलीलाई नियन्त्रणका लागि परिचालन गरेको थियो। हाल सम्बन्धित विभागका टोलीहरू घटनास्थलमा पुगेर पहिरो पन्छाउने र मार्गलाई सुरक्षित बनाउने काम गरिरहेका छन्। बाटो चाँडोभन्दा चाँडो खुलाउन सबै सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम भइरहेको प्रशासनले जनाएको छ।
घटनास्थलमा डीडीआरएफ, वाईएमएफ, विपद् मित्र, एमपीएफ र प्रहरी टोलीहरू परिचालन गरिएका छन्। परिस्थिति थप जटिल बनेमा तत्काल परिचालन गर्ने गरी एनडीआरएफर एसडीआरएफका टोलीहरूलाई पनि तयारी अवस्थामा राखिएको छ।
जिल्ला प्रशासनले सम्पूर्ण श्रद्धालुहरूलाई धैर्य गर्न, प्रशासनद्वारा जारी निर्देशनहरूको पालना गर्न र कुनै पनि प्रकारका अफवाहको पछि नलाग्न आग्रह गरेको छ। बाटो पूर्ण रूपमा सुरक्षित भएपछि मात्र यात्रा पुनः सञ्चालन गरिने प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !