नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू नेपाल फर्किन लागेको जानकारी दिएका छन्। पूर्वप्रधानमान्त्री समेत रहेका देउवाले आफू नेपाल फर्किँदा सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्नसक्ने बताएका हुन्।
'म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु। राष्ट्रियता, प्रजातन्त्र र समाजबाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु,' विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।
आफ्नो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्त्वपूर्ण निर्णयहरू गरिएको उल्लेख गर्दै देउवाले ती निर्णयहरू नेपाली कांग्रेसले निर्धारण गरेका प्राथमिकता अनुरूप नै रहेको उल्लेख गरेका छन्।
हेर्नुस् उनको विज्ञप्ति:
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् नेता, जननायक तथा नेपाली कांग्रेसका सर्वोच्च प्रेरणास्रोत जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ। उहाँको स्मृतिप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् नेता तथा जननायक बिपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्ने अवसर पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो। उहाँले ममाथि गर्नुभएको विश्वास, दिनुभएको जिम्मेवारी र सिकाउनुभएको लोकतान्त्रिक संस्कारले मेरो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देशन गरेको छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सहितको मेलमिलाप र जनताको सर्वोच्चताप्रति उहाँको अटल निष्ठा नै मेरो राजनीतिक जीवनको प्रेरणास्रोत रहँदै आएको छ।
त्यही प्रेरणा र विश्वासका साथ मैले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्तादेखि पार्टीको नेतृत्वसम्म आइपुग्ने यात्रामा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्ने अवसर पाएँ । जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेकौँ कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा मेरो अडान कहिल्यै परिवर्तन भएन। किनकि मेरो विश्वास सधैं एउटै रह्यो - प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुँदैन, र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन ।
आज नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी प्रवृत्तिविरुद्ध अविचलित संघर्ष गर्दै आफ्नो गौरवपूर्ण आठ दशकको यात्रा पूरा गरेको नेपाली कांग्रेस समक्ष फेरि एउटा ऐतिहासिक चुनौती, अवसर र दायित्व एकसाथ उभिएको छ। आफ्नो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र गरेको छैन, राष्ट्रले सामना गरेका कठिन घडीहरूमा पनि जिम्मेवार भूमिका निर्वाह गरेको छ । देशलाई हत्या हिंसा र द्वन्द बाट शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने नेतृत्वदायी भुमिका का साथै संविधानसभामार्फत संविधान निर्माण, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड - १९ महामारीका चुनौतीबीच जनताको जीवन र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन कांग्रेसले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको इतिहास हाम्रो सामूहिक अनुभव हो । यही अनुभवले वर्तमान चुनौतीको सामना गर्न हामीलाई अझ दृढ र जिम्मेवार बनाएको छ।
विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि मेरो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको छ । नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको छु । आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन । यस्तो संस्कृतिको विरोध गर्नु र त्यसलाई पराजित गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व र अस्तित्वको आधार हो। यस मूल्यमा कुनै पनि प्रकारको सम्झौता विगतमा सम्भव थिएन, आज पनि छैन र भविष्यमा पनि हुने छैन ।
प्रजातन्त्र भनेको जनताको सामूहिक आत्मनिर्णयको अधिकार हो। जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति हो । लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता पनि दीर्घकालसम्म सुरक्षित रहन सक्दैनन् । त्यसैले लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो । गत फागुनमा सम्पन्न निर्वाचन हिंसा, त्रास र असहज राजनीतिक वातावरणको पृष्ठभूमिमा सम्पन्न भए पनि जनताले, विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई हामीले सम्मान गर्यौ। प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउन रचनात्मक सहयोग गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता थियो ।
तर दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन् । न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिंदै छ । यस्तो परिस्थितिमा नेपाली कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आम जनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ।
हाम्रा सर्वकालीन पथप्रदर्शक जननायक बिपी कोइरालाले २०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिमार्फत व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र, लोकतन्त्र र राष्ट्रिय एकतालाई सर्वपरि मान्दै स्वदेश फर्किनुभएको इतिहास आज पनि उत्तिकै प्रेरणादायी छ । त्यो इतिहास केवल सम्झनाका लागि होइन, वर्तमान चुनौतीको सामना गर्न मार्गदर्शन गर्ने जीवित आदर्श पनि हो। प्रजातन्त्र, राष्ट्रियता र समाजवाद साथै राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि, सामाजिक न्याय, समानता, समावेशिता र अवसरको समान पहुँच नेपाली कांग्रेसका आधारभूत मूल्य र मार्गदर्शक सिद्धान्त हुन् । यी केवल हाम्रो राजनीतिक एजेन्डा मात्र होइनन्, राष्ट्र निर्माणप्रतिको हाम्रो अटल प्रतिबद्धताका आधार पनि हुन् ।
मेरो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्त्वपूर्ण निर्णयहरू गरिएका थिए । ती निर्णयहरू नेपाली कांग्रेसले निर्धारण गरेका प्राथमिकता अनुरूप नै थिए । तर वर्तमान परिस्थितिले हामी सबैलाई अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको छ। आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ । प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ ।
यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु। राष्ट्रियता, प्रजातन्त्र र समाजबाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु।
जय नेपाल !
शेरबहादुर देउवा
नेपाली कांग्रेस
प्रतिक्रिया दिनुहोस !