अर्जेन्टिनी फुटबल र मेसीको स्वर्णिम अध्यायको दुःखद् अन्त्य

अर्जेन्टिनी फुटबल र मेसीको स्वर्णिम अध्यायको दुःखद् अन्त्य
सुन्नुहोस्

काठमाडौं : सन् २०२२ मा एसियाली राष्ट्र कतारमा तेस्रोपटक विश्वकप जित्दा अर्जेन्टिनाले केवल ३६ वर्षको प्रतीक्षाको अन्त्य मात्र गरेको थिएन, सन्न्यास फिर्ता गरेर फर्किएका लियोनल मेसीको करियरलाई पनि पूर्णताको मुकुट पहिर्‍याइदिएको थियो।

कतार विश्वकपपछि मात्रै फुटबल समर्थकले मेसीले अधुरा सपना पूरा गरेको अनुभूति गरेका थिए। यससँगै पछिल्लो समयका दुई महान हस्ती लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने विवाद पनि केही मत्थर भएको थियो। 

फिफा विश्वकप २०२६ ले यी दुई महान हस्तीलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फेरि एकपटक आमनेसामने गराएको थियो। दुवै खेलाडीको सम्भवतः अन्तिम विश्वकप भएकाले पनि उनीहरूको प्रदर्शनमाथि विश्वभरका समर्थक र विश्लेषकहरूले विशेष नजर लगाएका थिए। तर, रोनाल्डोको पोर्चुगल अन्तिम १६ बाटै घर फर्किंदा मेसीको जादुले पनि अर्जेन्टिनालाई उपाधि दिलाउन सकेन। 

अर्थात्, इतिहास, भावना र प्रतिष्ठाले मात्र उपाधि जितिँदैन। सात खेलको लामो यात्रापछि अर्जेन्टिना फाइनलमा त पुग्यो, तर निर्णायक खेलमा कमजोर प्रदर्शन गर्दा विश्वकप ट्रफी मात्रै हातबाट फुस्किएन, मेसीको सम्भावित अन्तिम विश्वकप पनि अपेक्षित रूपमा सुखद् बन्न सकेन। यही कारण पनि हुन सक्छ, सोमबार बिहान स्पेनका खेलाडी दोस्रो विश्वकप उपाधिको उल्लासमा रमाइरहँदा अर्जेन्टिनाका कप्तान मेसी भने एउटा सुनौलो अध्यायको दुःखद् अन्त्यको पीडामा भक्कानिरहेका थिए।

अर्जेन्टिनाले फाइनल खेल किन हार्‍यो ? के केवल एउटा खराब दिन थियो ?  वा त्यसको पछाडि रणनीतिक कमजोरी, खेलाडीको व्यवस्थापन, मानसिक दबाब वा पुस्तान्तरणका समस्या ? यससँगै अर्को गम्भीर प्रश्न पनि तड्कारो रूपमा उठेको थियो, अर्जेन्टिनी फुटबलको भावी दिशा र भविष्यको पनि।

फाइनलमा अर्जेन्टिनाले किन स्वाभाविक खेल खेल्न सकेन ?   
फाइनल खेलमा अर्जेन्टिनाको सबैभन्दा ठूलो समस्या आफ्नै शैली गुमाउनु घातक बन्न पुग्यो। प्रतियोगिताभर अर्जेन्टिनाले बल नियन्त्रण, मिडफिल्डको प्रभुत्व र संयमित आक्रमणमा आधारित रहेर खेल खेलेको थियो। तर, फाइनल खेलमा त्यो लय र प्रभुत्व देखिएन। स्पेनले सुरुदेखि नै बल नियन्त्रण गर्दै अर्जेन्टिनामाथि लगातार दबाब बनायो। अर्जेन्टिनाका डिफेन्डरले मिडफिल्ड र मिडफिल्डले फरवार्डलाई सहज रूपमा पास दिन सकेन। null

त्यसले गर्दा लामो पास खेल्न बाध्य भयो। जसले गर्दा अर्जेन्टिनाको प्राकृतिक लय नै बिगारिदियो। मिडफिल्डमा नियन्त्रण गुमेपछि मेसीले पनि सामान्यभन्दा धेरै तल झरेर बल लिनुपर्ने अवस्था आयो। फलस्वरूप, विपक्षी कोर्टमा उनले दबाब सिर्जना गर्न सकेनन्। अर्जेन्टिनाको शक्ति भनेकै ‘टिम फुटबल’ थियो। तर, फाइनलमा स्पेनका खेलाडीले त्यो शक्तिलाई छिन्नभिन्न बनाइदियो।

स्पेनसँग अतिरिक्त समयमा पराजित हुँदै उपाधि रक्षा गर्न असफल भएपछि अर्जेन्टिनाको ड्रेसिङ रुममा निराशा छाएको थियो। मैदानमा कप्तान लियोनल मेसी आँसु रोक्न संघर्ष गरिरहेका देखिए भने पत्रकार सम्मेलनमा पुगेका प्रशिक्षक लियोनल स्कालोनीले पनि भावुक हुँदै आफ्ना खेलाडीप्रति गर्व गर्न आग्रह मात्रै गरिरहेका थिए। ‘यो निकै पीडादायी क्षण छ।

मन र मुटु मात्रै दुखेको छैन, आत्मासम्म दुखेको छ। हाम्रा खेलाडीले मैदानमा आफूले सक्ने सबैथोक दिएका छन्। उनीहरूलाई दोष दिन मिल्दैन’, स्कोलानीले भने, ‘समर्थकहरूले निराश हुनुभन्दा पनि गर्व गर्नुपर्छ। यो टोलीले वर्षौंदेखि अर्जेन्टिनी फुटबललाई गौरवान्वित बनाएको छ। कहिलेकाहीँ फुटबलले जितभन्दा हार पनि सिकाउँछ।’

मेसीमाथि अत्यधिक निर्भरता
सन् २०२२ को विश्वकपमा अर्जेन्टिनाले मेसीलाई केन्द्रमा राखे पनि टोली पूर्ण रूपमा उनमा निर्भर थिएन। जुलियन आल्भारेज, एन्जो फर्नान्डेज, म्याक एलिस्टर, रोड्रिगो डी पल, मोलिनासँगै अन्य खेलाडीले पनि आफ्नो जिम्मेवारी सम्हालेका थिए। विपक्षीले मेसीलाई जब घेर्थे। त्यतिबेला वैकल्पिक रणनीतिक अपनाइन्थ्यो। विपक्षी प्रशिक्षकले पनि त्यसको भेउ पाउँदैनन् थिए। तर, यसपटक अर्जेन्टिनाले यो रणनीतिलाई कार्यान्वयन गर्न सकेन। मेसीलाई नियन्त्रणमा राखेपछि अर्जेन्टिनाको आक्रमण धेरै हदसम्म निष्प्रभावी बनेको थियो। 

थकानको असर
फाइनलमा पुगेका टोलीले सात खेल खेलिसकेका थिए। लामो यात्रा, अतिरिक्त समय, मानसिक दबाब र निरन्तर उच्च स्तरको प्रतिस्पर्धाले खेलाडीलाई शारीरिक रूपमा निकै थकित बनाएको विश्लेषकहरू बताउँछन्। अर्जेन्टिनाका केही मुख्य खेलाडीले प्रतियोगिताभर अत्याधिक समय मैदानमा बिताएका थिए।

नकआउट चरणका कठिन खेलहरूले पनि टोलीको ऊर्जा थप घटाएको थियो। त्यसको प्रभाव विशेषगरी दोस्रो हाफमा स्पष्ट देखियो। विपक्षी टोली तुलनात्मक रूपमा तीव्र गतिमा खेलिरहँदा अर्जेन्टिनाको खेल भने निकै सुस्त बनेको थियो। त्यसले गर्दा विपक्षी पोष्टमा आक्रमण नै गर्न सकेन। स्पेनले १२ सट टार्गेटमा राख्दा अर्जेन्टिनाले कुनै प्रहार गर्ने सकेन।

रणनीतिक प्रतिकारमा असफल 
विश्व फुटबलका सफल प्रशिक्षकको पहिचान उत्कृष्ट सुरुआती योजना बनाउने मात्र होइन, खेल चलिरहँदा त्यसको गतिमा परिवर्तन गर्ने र विपक्षीको रणनीतिलाई निस्तेज पार्ने पनि हुन्छ। फाइनल खेलमा स्पेनका प्रशिक्षकले रणनीति परिवर्तन गर्दा अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले त्यसको प्रभावकारी रूपमा जवाफ दिन सकेनन्। खेलाडी परिवर्तन, संरचना परिवर्तन र आक्रमणको नयाँ विकल्प खोज्ने निर्णय प्रभावकारी बन्न सकेन। केही परिवर्तन ढिला भए भने केही परिवर्तनले खेलको गति नै बदल्न नसकेको विश्लेषकहरू बताउँछन्।

रक्षापंक्तिको असामान्य त्रुटि
अर्जेन्टिनाको सफलताको आधार नै सन्तुलित रक्षापंक्ति हो। अर्जेन्टिनाको रक्षापंक्तिले कैयौंपटक यसलाई प्रमाणित पनि गर्दै आएको थियो। तर, फाइनलमा व्यक्तिगत गल्ती, समन्वयको कमी निकै महँगो सावित बन्न पुग्यो। विपक्षी टोलीले त्यही गल्तीलाई गोलमा परिणत गर्दै उपाधि चुम्न सफल भयो।

अर्जेन्टिनाले धेरै अवसर सिर्जना नगरे पनि, गोल खान नहुने अवस्थामा गोल खान पुग्यो। त्यही नै खेलको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो भने अर्जेन्टिनाले पनि उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

मेसी किन प्रभावशाली देखिएनन् ?   
विश्व फुटबलका महानतम् खेलाडीमध्ये एक मेसीलाई लिएर सबैको अपेक्षा असाधारण थियो। तर, फाइनलमा उनी आफ्नो उच्च स्तरमा देखिएनन्। यसका पछाडि केही कारण भने अवश्य थियो। किनभने सबैको केन्द्रबिन्दु मेसी नै थिए। सबैले सिंगो अर्जेन्टिनालाई भन्दा पनि मेसीलाई कसरी रोक्ने भनेर योजना बनाउँथे। जसले यो रणनीति शतप्रतिशत अवलम्बन गर्न सक्थ्यो, उसले अर्जेन्टिनालाई पनि नियन्त्रणमा राख्यो।

फाइनलमा पनि स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले यही रणनीति अपनाएका थिए। मेसीले बल पाउनेबित्तिकै स्पेनका दुई खेलाडी नजिक पुग्थे। अगाडि बढ्न मात्रै होइन, दायाँबायाँ घुम्ने ठाउँ पनि दिइँदैनथे। त्यसले गर्दा मेसीले आफ्नो स्वाभाविक खेल खेल्न सकेनन् भने अर्जेन्टिनाको आक्रमण पनि चुस्त बन्न सकेन।

मेसीको उमेर प्रभाव
३९ वर्षनजिक पुगेका मेसीले अझै पनि असाधारण प्रभावशाली खेल पस्किँदै आएका छन्। तर, विश्लेषकहरू उमेरसँगै तीव्र गति, निरन्तर दबाबमा राख्ने क्षमता र लामो समय उच्च गतिमा खेल्ने शक्ति स्वाभाविक रूपमा कम हुने बताउँछन्।

प्रशिक्षक स्कालोनी भने मेसीको खुलेर प्रशंसा गर्छन्। ‘मलाई आशा छ, सबैले मेसीप्रति गर्व गर्ने छन्। उनले फुटबलमा जे गरेका छन्, त्यो असाधारण छ। मेरो नजरमा उनी इतिहासकै महान् खेलाडी हुन्’, स्कालोनी भन्छन्, ‘उनले सदैव टोलीमा ऊर्जा भरिरहेका छन्।’

धेरै जिम्मेवारी
मेसी, अर्जेन्टिनाका कप्तान मात्र थिएनन्। उनी टोलीका रणनीतिकार पनि थिए। मानसिक प्रेरणा र सिर्जनात्मक केन्द्र पनि थिए। जब एउटै खेलाडीले यति धेरै भूमिका निर्वाह गर्छन्, स्वाभाविक रूपमा त्यसको असर खेलमा देखिन्छ। आइतबार रातिको फाइनल खेल हेर्ने धेरैको मनमा पनि यही कुरा लागेको हुनुपर्छ। 

अर्जेन्टिनाको टोलीमा पुस्तान्तरणको समस्या छ ?   
यो विश्वकपपछि सबैभन्दा ठूलो बहस यही हुनेछ। सन् २०२२ को विश्वविजेता टोलीमाथि अत्यधिक भरोसा गर्नु भावनात्मक रूपमा सही देखिए पनि फुटबलमा प्रत्येक चार वर्षले धेरै परिवर्तन ल्याउने विश्लेषकहरू बताउँछन्।

हामीले आफ्नो सम्पूर्ण सामथ्र्य लगाएर खेल्यौं भन्ने कुरामा म स्पष्ट छु। साँचो भन्नुपर्दा, उनीहरू (स्पेन) हामीभन्दा उत्कृष्ट थिए। हामीले खेल हार्‍यौं र यसलाई स्वीकार गर्छौँ। तर, यसको मतलब यो होइन कि हामीले अहिलेसम्म गरेका सम्पूर्ण प्रयासहरू बिर्सिनेछौं। त्यसैले म समर्थकहरू, खेलाडीहरू र देशलाई धन्यवाद दिन चाहन्छु।– लियोनल मेसी कप्तान, अर्जेन्टिना

नयाँ पुस्ताका केही खेलाडीलाई पर्याप्त भूमिका दिन नसक्दा अर्जेन्टिनाले उपाधि जोगाउन नसकेको विश्लेषकहरूको धारणा छ। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने यो कुरा नकार्छन्। उनी टोलीमा प्रतिभावान् खेलाडीको कमी नरहेको बताउँदै उनीहरूलाई दिनुपर्ने अवसर पनि पर्याप्त दिएको दाबी गर्छन्। 

मेसीबिनाको अर्जेन्टिना सम्भव छ ?   
लगातार ६ विश्वकप खेलिसकेका मेसीले अब राष्ट्रिय टोलीबाट विश्राम वा सन्न्यास घोषणा गर्ने निर्णय गरे भने अर्जेन्टिनाको टोली कस्तो बन्नेछ ? मेसीको बर्हिगमनपछि अर्जेन्टिना कमजोर टोली बन्ने त होइन भन्ने प्रश्न पनि अहिले जोडतोडले उठिरहेको छ। तर, फुटबल विश्लेषकहरू यो कुरा मान्न तयारी छैनन्। अर्जेन्टिना मात्रै नभई सिंगो दक्षिण अमेरिकामा खेलाडी उत्पादन प्रणाली अझै पनि विश्वकै उत्कृष्ट मानिने भएकाले मेसीको सन्न्यासपछि पनि अर्जेन्टिना दावेदार टोली रहने उनीहरूको विश्वास छ। 

अर्जेन्टिनासँग अझै पनि विश्वस्तरीय प्रतिभाको भण्डार छ। एन्जो फर्नान्डेज, अलेक्सिस म्याक एलिस्टर, जुलियन आल्भारेज, लाउटारो मार्टिनेज तथा नयाँ पुस्ताका खेलाडीहरू आगामी विश्वकपको मुख्य हतियार बन्न सक्छन्।

मेसीको ठाउँ कसले लिने ?   
फुटबल विश्लेषहरू अहिलेको सबैभन्दा कठिन प्रश्न नै यही रहेको बताउँछन्। उनीहरू मेसीलाई प्रतिस्थापन गर्ने खेलाडी अहिले नै खोज्नु लगभग असम्भवजस्तै रहेको बताउँछन्। किनभने मेसी केवल गोल गर्ने खेलाडी थिएनन्, उनी खेलको गति नियन्त्रण गर्ने, अवसर सिर्जना गर्ने, निर्णायक क्षणमा पास उपलब्ध गराउने, दबाबमा टोलीलाई शान्त बनाउने र विपक्षीलाई मानसिक रूपमा कमजोर बनाउन सक्ने खुबी भएका खेलाडी थिए। त्यसैले यस्तो प्रभाव एउटै खेलाडीबाट पूर्ति गर्न निकै कठिन हुने फुटबल पण्डितहरूको मत छ। त्यसैले अर्जेन्टिनाले ‘नयाँ मेसी’ खोज्नुभन्दा पनि सामूहिक फुटबल खेल्ने संस्कृतिलाई अझ मजबुत बनाउने बाटो अपनाउनु पर्ने उनीहरूको तर्क छ। 

विश्वकपमा हारपछि प्रशिक्षकको भूमिका झन् कठिन हुन्छ। लियोनल स्कालोनीले टोली सम्हालिरहे भने उनको पहिलो काम हुनेछ, नयाँ कप्तान तयार गर्नु। युवा खेलाडीलाई मुख्य भूमिकामा केन्द्रित गर्नु। साथै मेसीपछिको रणनीतिक संरचना निर्माण गर्नु। सन् २०२२ मा स्कालोनीले विश्वविजेता टोली निर्माण गरेका थिए। अब उनको अर्को परीक्षा विश्वविजेतापछिको टोली पुनर्निर्माण गर्नु हो। 

यो कुरालाई स्कालोनी आफैं पनि स्वीकार गर्छन्। उनी आगामी यात्रा र बाटो अझै अनिश्चित रहेको बताउँछन्। ‘म महासंघका पदाधिकारीसँग यस विषयमा गम्भीर विमर्श गर्नेछु। म के गर्न चाहन्छु भन्नेबारे मेरो एउटा सोच छ’, उनले भनेका छन्, ‘मेरो सम्झौता अवधि सकिएपछि पनि महासंघले मेरा बारेमा सोच्नुपर्ने आवश्यकता छ। किनभने मलाई थाहा छैन कि फेरि यति ठूलो काम गर्न सकिन्छ वा सकिँदैन। यसबारेमा विस्तृत विमर्श गर्न आवश्यक छ।’

विश्वकपलगायतका ठूला प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि पनि धेरै राष्ट्रले बलियो टोली निर्माण गरेका छन्। विश्व फुटबलको इतिहास हेर्ने हो भने ब्राजिल, जर्मनी, इटाली, फ्रान्स, स्पेन सबैले एउटा पुस्ता सकिएपछि अर्को पुस्ता निर्माण गरेको छ। 

अब अर्जेन्टिनाले पनि त्यही बाटो अपनाउनुपर्ने आवश्यकता रहेको विश्लेषकहरू बताउँछन्। अर्थात् उपाधि गुमेको पीडाभन्दा ठूलो प्रश्न अब यो छ, मेसीपछिको अर्जेन्टिनाले आफ्नो अर्को स्वर्णिम युग कसरी निर्माण गर्छ ? यही प्रश्नको उत्तरले आगामी विश्वकपहरूको कथा पनि लेखिनेछ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.