काठमाडौं : अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ ले विश्व फुटबललाई नयाँ च्याम्पियन, नयाँ कीर्तिमान र नयाँ नायक दियो।
प्रतियोगिताभर केलियन एमबाप्पे, लियोनल मेसी, लामिन यमल, जुड बेलिङ्घम र एर्लिङ हालान्डजस्ता स्टार खेलाडीले अपेक्षित प्रदर्शन गरे। तर, विश्वकपको वास्तविक आकर्षण त्यस्ता खेलाडी पनि बने, जो प्रतियोगिता सुरु हुँदा चर्चाको केन्द्रमा थिएनन्। तर, निर्णायक क्षणमा टोलीका लागि असाधारण प्रदर्शन गर्दै समर्थकमाझ ‘कल्ट हिरो’ का रूपमा स्थापित भए।
विश्वकपको इतिहासमा जस्तै २०२६ संस्करणमा पनि केही खेलाडीले आफ्नो समर्पण, साहस र अप्रत्याशित प्रदर्शनका कारण विशेष पहिचान बनाउन सफल भए। उनीहरूले व्यक्तिगत चर्चा मात्र पाएनन्, आफ्नो टोलीको सफल यात्रामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
यस विश्वकपको सबैभन्दा चर्चित ‘कल्ट हिरो’मध्ये एक बने, केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा। विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै केप भर्डेले सबैको ध्यान तान्दा भोजिन्हाले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई नकआउट चरणसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिए। अपेक्षाभन्दा धेरै माथिको प्रदर्शन गरेका उनले सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यमसम्म व्यापक प्रशंसा बटुले र सानो राष्ट्रको ठूलो सपना साकार पार्ने खेलाडीका रूपमा परिचित भए।
केप भर्डेकै फरवार्ड सिड्नी लोपेस काब्राल पनि प्रतियोगिताका स्मरणीय पात्र बन्न सफल भए। उनले गरेको आकर्षक गोल विश्वकपकै उत्कृष्ट गोलमध्ये एकका रूपमा चर्चा भयो। सीमित अवसरलाई सदुपयोग गर्दै उनले आफूलाई भविष्यका प्रतिभाशाली खेलाडीका रूपमा स्थापित गर्न सफल भए।
अफ्रिकी राष्ट्र इजिप्टका हाइसेम हसन पनि २०२६ विश्वकपका ‘ब्रेकआउट स्टार’ बन्न सफल भए। प्रतियोगिताअघि धेरै समर्थकका लागि अपरिचित रहेका उनले गति, सिर्जनात्मक खेल र निर्णायक आक्रमणमार्फत आफूलाई विश्व फुटबलमा चिनाए। धेरै विश्लेषकले उनलाई प्रतियोगिताको सबैभन्दा सुखद आश्चर्यका रूपमा मूल्यांकन गरेका छन्।
आयोजक राष्ट्र मेक्सिकोका युवा डिफेन्डर मातेओ चाभेज पनि समर्थकमाझ लोकप्रिय बने। समूह चरणमा चेक रिपब्लिकविरुद्ध गोल गर्दै उनले टोलीलाई महत्त्वपूर्ण जित दिलाएका थिए। रक्षात्मक भूमिकासँगै आक्रमणमा समेत प्रभावकारी देखिएका चाभेजले घरेलु समर्थकको ठूलो प्रशंसा प्राप्त गरे र विश्व फुटबलमा आफ्नो सम्भावना देखाए।
दक्षिण अफ्रिकाका थापेलो मासेकोले पनि विश्वकपमा सम्झनलायक छाप छोडे। दक्षिण कोरियाविरुद्ध निर्णायक गोल गर्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाउन उनको अथक मेहनत, तीव्र गति र दबाबमा पनि आत्मविश्वासपूर्ण प्रदर्शनका कारणसमर्थकमाझ प्रेरणादायी पात्र बन्न सफल भए।
स्विट्जरल्यान्डका युवा मिडफिल्डर योहान मान्जाम्बीले पनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीमध्ये आफूलाई स्थापित गरे। क्यानडाविरुद्ध निर्णायक भूमिका खेलेका उनले आक्रामक र रक्षात्मक दुवै जिम्मेवारी प्रभावकारी रूपमा सम्हालेका थिए।
तेस्रो स्थान हासिल गरेको इङ्ल्यान्डका डिफेन्डर जेड स्पेन्स प्रतियोगिताका ‘फ्यान फेभरेट’ खेलाडी बन्न सफल भए। लगातार ऊर्जावान प्रदर्शन, महत्वपूर्ण ट्याकल र आक्रामक शैलीका कारण उनी समर्थकमाझ लोकप्रिय बनेका थिए र टोलीले उपाधि जित्न नसके पनि स्पेन्सले आफ्नो प्रदर्शनमार्फत अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाउन सफल भए।
प्रतिक्रिया दिनुहोस !