फुटबल र संगीतको विश्वव्यापी संगम

फुटबल र संगीतको विश्वव्यापी संगम

काठमाडौं : विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप उत्कृष्ट खेलाडी र रोमाञ्चक प्रतिस्पर्धाको पर्व मात्र होइन, यो विश्वभरका विभिन्न संस्कृति, भाषा र संगीतलाई एउटै मञ्चमा जोड्ने उत्सव पनि हो।

हरेक चार वर्षमा आयोजना हुने विश्वकपका आधिकारिक गीतहरूले प्रतियोगिताको उत्साहलाई मैदानदेखि विश्वका कुनाकाप्चासम्म पुर्‍याउने काम गर्दै आएको छ। यही कारणले फिफाले प्रत्येक संस्करणमा विश्वप्रसिद्ध कलाकारहरूलाई समेट्दै विशेष गीत सार्वजनिक गर्ने परम्परा चलाउँदै आएको छ।

विश्वकपका आधिकारिक गीतहरू केवल मनोरञ्जनका लागि तयार गरिएका संगीत होइनन्, यी गीतले प्रतियोगिताको भावना, खेलाडीको संघर्ष, समर्थकको उत्साह, विभिन्न संस्कृति र विश्व एकताको सन्देशलाई प्रस्तुत गर्दछ। यही कारणले विश्वकप सकिएपछि पनि धेरै गीतहरू दशकौंसम्म लोकप्रिय रहिरहन्छन्।

सन् १९९८ को फ्रान्स विश्वकपमा प्युर्टो रिकन गायक रिकी मार्टिनले गाएको ‘द कप अफ लाइफ’ले विश्वकप गीतलाई नयाँ उचाइमा पुर्‍याएको थियो। “गो, गो, गो ! अले, अले, अले !’ भन्ने नारासहितको यो गीत आज पनि फुटबल समर्थकमाझ उत्तिकै लोकप्रिय छ। यो गीतले विश्वकपका आधिकारिक गीतहरूलाई विश्वव्यापी मनोरञ्जन उद्योगसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको थियो। 

सन् २०१० मा दक्षिण अफ्रिकाले पहिलो पटक अफ्रिकी महादेशमा विश्वकप आयोजना गर्दा कोलम्बियाकी चर्चित गायिका साकिराले गाएको ‘वाका वाका’ इतिहासकै सबैभन्दा सफल विश्वकप गीतका रूपमा स्थापित भएको छ। अफ्रिकी सांगीतिक शैली, आकर्षक नृत्य र सकारात्मक सन्देशले भरिएको यो गीत विश्वभर लोकप्रिय बनेको थियो। अहिले पनि विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र सामाजिक सञ्जालमा यो गीत व्यापक रूपमा प्रयोग हुने गरेको छ। यसले युट्युबलगायतका डिजिटल प्लेटफर्ममा अर्बौं पटक हेरिएको र सुनेको कीर्तिमान बनाएको छ।

सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपका लागि अमेरिकी र्‍यापर पिटबुल, गायिका जेनिफर लोपेज र ब्राजिलियन कलाकार क्लाउडिया लिट्टेले ‘वि आर वान’ गीत प्रस्तुत गरेका थिए। ब्राजिलको सांगीतिक स्वाद, साम्बा लय र विश्व फुटबलको ऊर्जा समेटिएको यो गीतले प्रतियोगिताको उत्साहलाई अझ बढाएको थियो। यद्यपि, केही ब्राजिलियन समर्थकहरूले स्थानीय सांगीतिक पहिचान पर्याप्त रूपमा समेट्न नसकेको भन्दै गीतको आलोचना पनि गरेका थिए। यसका बाबजुद गीत विश्वभर चर्चित बन्न सफल भएको थियो।

रुसमा सम्पन्न सन् २०१८ को विश्वकपमा अभिनेता तथा गायक विल स्मिथ, अमेरिकी गायक निकी जाम र कोसोभो मूलकी गायिका एरा इस्त्रेफीले ‘आइभ इट अप’ गीत सार्वजनिक गरेका थिए। आधुनिक पप, हिप–हप र ल्याटिन संगीतको संयोजनमा तयार गरिएको यो गीतले विश्वकपको उत्साहलाई विश्वभर फैलाएको थियो। यस गीतले विशेषगरी युवा पुस्तामाझ राम्रो लोकप्रियता हासिल गरेको थियो।

कतारमा सन् २०२२ मा आयोजित फिफा विश्वकपले भने विगतभन्दा फरक अवधारणा अपनाएको थियो। यस संस्करणमा एउटा मात्र आधिकारिक गीतमा सीमित नरहेर विभिन्न कलाकारका गीतहरू समावेश गरिएको सांगीतिक अभियान सञ्चालन गरिएको थियो। त्यसअन्तर्गत दक्षिण कोरियाली विश्वप्रसिद्ध के–पप समूह बीटीएसका सदस्य जङकुकले गाएको ‘डिमर्स’  सबैभन्दा चर्चित गीत बनेको थियो। विश्वकपको उद्घाटन समारोहमा जङकुकले प्रत्यक्ष प्रस्तुति दिँदा विश्वभरका करोडौं दर्शकले मनोरञ्जन लिएका थिए। यसबाहेक ट्रिनिडाड कार्डोना, डाभिडो, आइसालगायतका कलाकारका गीतहरू पनि विश्पकपका विभिन्न चरणमा सार्वजनिक गरिएका थिए।

फिफाले पछिल्ला वर्षहरूमा विश्वकपको संगीतलाई अझ समावेशी र बहुसांस्कृतिक बनाउने रणनीति अपनाएको छ। विभिन्न महादेशका कलाकार, फरक–फरक भाषा र सांगीतिक शैलीलाई समेट्दै विश्व फुटबलको साझा भावनालाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयास फिफाले गरिरहेको छ। यसले विश्वकपलाई खेलसँगै सांस्कृतिक मेलाका रूपमा पनि स्थापित गरेको छ।
यस पटकको फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। यस विश्वकपका लागि फिफाले ‘फिफा साउन्ड’

परियोजनामार्फत विश्वका चर्चित कलाकारहरूलाई समेटेर नयाँ सांगीतिक अभियान सुरु गरेको छ। यस परियोजनामा लिसा, अनिट्टा, रेमा, बर्ना ब्वाय, ड्याडी यान्की, स्टम्र्जी, जेली रोल, क्यारिन लियोनलगायत अन्तर्राष्ट्रिय कलाकार सहभागी भएका छन्। फिफाका अनुसार प्रतियोगितासँग सम्बन्धित आधिकारिक एल्बममा विभिन्न सांगीतिक शैलीका १८ वटा गीत समावेश गरिएका छन्। यी गीतहरूले उत्तर अमेरिकाको सांस्कृतिक विविधता, फुटबलप्रतिको उत्साह र विश्व एकताको भावनालाई झल्काउने अपेक्षा गरिएको छ।

विश्वकपसँग सबैभन्दा बढी जोडिएकी कलाकार हुन्, कोलम्बियाकी शाकिरा। सन् २०२६ विश्वकपलाई लक्षित गर्दै शाकिराले नयाँ सांगीतिक प्रस्तुति सार्वजनिक गरेकी थिइन्। May be an image of dancing

‘दाइ दाइ’ बोलको गीतले फुटबल, संस्कृति र विश्व एकताको भावनालाई समेटेको छ। जसले सामाजिक सञ्जाल र स्ट्रिमिङ प्लेटफर्ममा व्यापक चर्चा बटुलेको छ। शाकिराको ऊर्जावान प्रस्तुति र बर्ना ब्वायको अफ्रोबिट्स शैलीको संयोजनले यस गीतलाई विश्वभरका फुटबल समर्थकमाझ विशेष आकर्षणको केन्द्र बनाएको छ। धेरै संगीत समीक्षकहरूले ‘दाइ दाइ’ लाई शाकिराको ऐतिहासिक ‘वाका वाका’ पछि विश्वकपसँग जोडिएको अर्को महत्वपूर्ण सांगीतिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्। गीतबाट प्राप्त हुने रोयल्टी फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डमा जानेछ। जसमार्फत विश्वभरका बालबालिकाको शिक्षा र फुटबलका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ।

संगीत समीक्षकहरूका अनुसार शाकिराले आफ्नो विशिष्ट स्वर, ऊर्जावान प्रस्तुति र बहुसांस्कृतिक सांगीतिक शैलीमार्फत विश्व फुटबल र संगीतबीचको सम्बन्धलाई अझ सशक्त बनाएकी छन्। यही कारण आज पनि विश्वकपका उत्कृष्ट आधिकारिक गीतहरूको चर्चा हुँदा शाकिराको नाम पहिलो पंक्तिमै आउने गर्छ।

संगीत विज्ञहरूका अनुसार विश्वकपका गीतहरूले फुटबल प्रतियोगिताको प्रचारप्रसारमा मात्र होइन, पर्यटन, सांस्कृतिक आदान–प्रदान र विश्वव्यापी मनोरञ्जन उद्योगलाई पनि ठूलो योगदान पुर्‍याएका छन्। धेरै कलाकारका लागि विश्वकपको आधिकारिक गीत गाउनु अन्तर्राष्ट्रिय करियरको महत्वपूर्ण उपलब्धि पनि मानिन्छ। त्यसैले प्रत्येक विश्वकपअघि कुन कलाकारले आधिकारिक गीत गाउने भन्ने विषय पनि विश्वभर चर्चा र चासोको केन्द्र बन्ने गरेको छ। फिफा विश्वकपका आधिकारिक गीतहरूले पुस्तौंसम्म सम्झिने सांगीतिक इतिहास निर्माण गरेको छ।

खेल सकिए पनि ती गीतहरू समर्थकको मनमा बाँचिरहेका हुन्छन्। खेलाडीले मैदानमा जितका लागि संघर्ष गरिरहँदा कलाकारहरूले संगीतमार्फत विश्वभरका समर्थकलाई एउटै भावनामा बाँध्ने काम गरिरहेका हुन्छन्। यही कारण विश्वकपका आधिकारिक गीतहरू फुटबलको इतिहासको अविभाज्य हिस्सा बन्ने गरेको छ र भविष्यमा पनि विश्व फुटबललाई संगीतसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा रहने विश्वास गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.