विश्वकप फाइनल : मेस्सी र यामलबीचको पुस्तान्तरणको क्षण, कसले जित्ला अन्तिम लडाइँ?
काठमाडौं : फुटबल अनिश्चितताको खेल हो। अनुमानहरू धेरैपटक गलत साबित हुन्छन्। त्यसैले सोमबार विहान हुने फिफा विश्वकप २०२६ को फाइनलमा के हुनेछ भनेर कसैले निश्चित रूपमा भन्न सक्दैन। तर, एउटा कथा भने सबैको ध्यानको केन्द्र बनेको छ, के अर्जेन्टिनाका लियोनेल मेस्सीले आफ्नो युगलाई अझै केही समय कायम राख्नेछन्? वा, स्पेनका युवा स्टार लामिन यामलले नयाँ पुस्ताको नेतृत्व सम्हाल्दै विश्व फुटबलमा नयाँ युगको सुरुआत गर्नेछन्?
विश्व फुटबलका महान् खेलाडी (GOAT) मानिने मेस्सी र भावी महान् खेलाडीका रूपमा हेरिएका यामलबीचको यो सम्भावित 'हस्तान्तरण' को कथाले विश्वभरका समर्थकलाई रोमाञ्चित बनाएको छ। तर, अर्को सम्भावना पनि उत्तिकै छ, मेस्सीले विश्वकप जित्दै अझै पनि आफू नै सर्वश्रेष्ठ रहेको सन्देश दिन सक्छन्।
१९ वर्षअघिको त्यो तस्बिर एउटा तस्बिर
प्रतियोगिता जितेका एक परिवारका केही महिनाका शिशु लामिन यमाललाई त्यसबेला २० वर्षीय बार्सिलोनाका युवा खेलाडी मेस्सीले नुहाइदिएको तस्बिर अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित फोटोमध्ये एक बनेको छ।
त्यतिबेला कसैले कल्पना पनि गरेको थिएन कि एउटै फ्रेममा रहेका ती दुई पात्र दुई दशकपछि विश्वकप फाइनलमा एकअर्काको विपक्षमा उभिनेछन्।
कतिपयका लागि त्यो केवल संयोग हो। कतिपयले त्यसलाई भाग्यको संकेत मान्छन्। अहिले भने त्यो तस्बिरले विश्व फुटबलको एउटा ऐतिहासिक अध्यायसँग जोडिएको अर्थ बोकेको छ।

मेस्सी अहिले ३९ वर्षका छन्। यामलले केही दिनअघि मात्रै १९ वर्ष पूरा गरेका छन्। यामल जन्मिनुअघि नै मेस्सी विश्वकप खेलिसकेका थिए, गोल गरिसकेका थिए र विश्व फुटबलमा आफ्नो पहिचान बनाइसकेका थिए।
तर, उमेरको फरक भए पनि यामलले बनाएको प्रारम्भिक कीर्तिमान असाधारण छ। १९ वर्ष पुग्दासम्म उनले बार्सिलोनाबाट १५१ खेल खेल्दै ४९ गोल गरेका छन्। उही उमेरमा मेस्सीले ३२ खेलमा ९ गोल मात्रै गरेका थिए।
इतिहासका महान खेलाडीहरू डिएगो म्याराडोना, योहान क्रुइफ, क्रिस्टियानो रोनाल्डो, एर्लिङ हालान्ड र किलियन एम्बाप्पेजस्ता खेलाडीहरूको प्रारम्भिक करियरसँग तुलना गर्दा पनि यामल धेरै अगाडि देखिन्छन्। केवल ब्राजिलका महान् खेलाडी पेले मात्र यस मामिलामा अपवाद मानिन्छन्।
यामलले बार्सिलोनाका लागि दुई पटक ला लिगा जितिसकेका छन् भने सन् २०२४ को युरोकपमा स्पेनलाई उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए।
यस विश्वकपमा यामलको प्रदर्शन उनको स्तरअनुसार प्रभावशाली देखिएको छैन। उनले अहिलेसम्म एक गोल गरेका छन् भने कुनै असिस्ट दिएका छैनन्।
यसका पछाडि कारण पनि छन्। अप्रिल २२ मा घाइते भएका उनी प्रतियोगिता सुरु हुनुअघि लामो समय मैदानबाहिर थिए। स्पेनको पहिलो खेलमा उनी बेन्चबाट मैदान छिरेका थिए, त्यतिबेलासम्म उनले ५४ दिन कुनै प्रतिस्पर्धात्मक खेल खेलेका थिएनन्।
यसबाहेक स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेको रणनीतिमा उनको भूमिका बार्सिलोनाको भन्दा फरक छ। क्लबमा आक्रामक स्वतन्त्रता पाउने यामल राष्ट्रिय टोलीमा भने टोलीको संरचना र अनुशासनलाई प्राथमिकता दिने भूमिकामा छन्।
फाइनलले बनाउँछ नयाँ नायक
इतिहासले देखाएको छ, महान खेलाडीहरूको पहिचान फाइनलबाट स्थापित हुन्छ। यामलले फाइनलमा चम्किएर स्पेनलाई विश्वकप जिताए भने विश्व फुटबलले नयाँ युगको सुरुआत स्वीकार गर्नुपर्नेछ। त्यो क्षण मेस्सीको युगबाट यामलको युगतर्फको संक्रमणको रूपमा इतिहासमा दर्ज हुन सक्छ।
तर, अर्को सम्भावना पनि उत्तिकै बलियो छ। मेस्सीले फेरि एकपटक आफ्नो जादू देखाउँदै अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप जिताउन सक्छन्। त्यसो भए अर्जेन्टिनाले लगातार दुई विश्वकप र लगातार दुई कोपा अमेरिकाको उपाधि जित्ने दुर्लभ इतिहास रच्नेछ, जुन उपलब्धि अहिलेसम्म कुनै राष्ट्रले हासिल गरेको छैन।
यस्तो भयो भने युवा यामलका लागि त्यो भविष्यको मापदण्ड बन्नेछ, जहाँ पुग्न अझै धेरै संघर्ष गर्नुपर्नेछ। फुटबलको सुन्दरता नै यसको अनिश्चिततामा छ। सायद फाइनलमा मेस्सी र यामल दुवै सामान्य प्रदर्शन गर्न सक्छन् र खेलको नायक अर्कै खेलाडी बन्न सक्छ। आखिर फुटबलमा व्यक्तिगत प्रतिभाभन्दा टोलीको प्रदर्शन नै निर्णायक हुन्छ।
तर, विश्व फुटबलका करोडौं समर्थकको चाहना भने फरक छ। सबैको अपेक्षा छ, फाइनलमा यी दुईमध्ये एकले खेलको दिशा बदल्नेछन्। त्यसपछि या त यामलले भविष्यका महान् खेलाडीको रूपमा विश्व फुटबलको नयाँ अध्याय सुरु गर्नेछन्, वा मेस्सीले आफ्नो अन्तिम विश्वकपलाई अर्को स्वर्णिम उपलब्धिसँगै अविस्मरणीय बनाउँदै इतिहासको सर्वोच्च स्थान अझ मजबुत पार्नेछन्।
- Gabriele Marcotti/इएसपीएनबाट अनुवाद
प्रतिक्रिया दिनुहोस !