ममदानीले नेतान्याहु न्यूयोर्क आए पक्राउ पर्ने भनेपछि इजरायलको कडा प्रतिक्रिया
न्यूयोर्क : न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभाको बैठकमा सहभागी हुन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु न्यूयोर्क आए उनीहरूलाई पक्राउ गर्ने सम्भावनाबारे आफ्नो कानुनी टोलीले अझै अध्ययन गरिरहेको बताएका छन् । ‘द न्यूयोर्क टाइम्स’ को पोडकास्ट ‘द इन्टरभ्यू’ मा ममदानीले आफ्नो कानुनी विभागले नेतान्याहुको सम्भावित गिरफ्तारीसँग सम्बन्धित कानुनी पक्षबारे सक्रिय रूपमा छलफल गरिरहेको बताए ।
उनले चुनावी अभियानका क्रममा पनि नेतान्याहुलाई पक्राउ गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । ममदानीले भने, ‘मेरो विश्वासमा प्रधानमन्त्री नेतान्याहुको स्थान हेगमा हो । उनी युद्ध अपराधका अभियुक्त हुन् र अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले उनीविरुद्ध आरोप लगाइसकेको छ । पछिल्ला केही वर्षमा उनका कदमका कारण सिर्जित अवस्थालाई हेर्दा धेरै मानिसको धारणा पनि यही छ ।’
जब उनलाई कानुनले यस्तो कदम चाल्न अनुमति दिन्छ कि दिँदैन भनेर सोधियो, उनले जवाफ दिए, ‘यस विषयमा हाम्रो कानुनी विभागसँग सक्रिय छलफल भइरहेको छ । तर हामीले राष्ट्रियस्तरमै केही व्यक्तिले आफ्नै हिसाबले कानुनको व्याख्या गर्ने वा कानुनी सीमाभन्दा बाहिर जाने प्रयास गरेको देखेका छौं । हाम्रो उद्देश्य त्यस्तो गर्नु होइन ।’
सन् २०२४ मा अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायलका केही अन्य नेताविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो । उनीहरूमाथि ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि गाजामा भएका कथित युद्ध अपराधको आरोप लगाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति जो बाइडेन दुवैले आईसीसीको उक्त वारेन्टको आलोचना गरेका थिए । यसैबीच ममदानीको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ । धेरैले यसलाई ममदानीको अतिरञ्जित र गैरजिम्मेवार राजनीतिक अभिव्यक्ति भनेका छन् ।
संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले एक्समार्फत प्रतिक्रिया दिँदै नेतान्याहुलाई पक्राउ गर्ने धम्की व्यवहारमा लागू हुन नसक्ने चार कारण प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘मेयर ममदानी, संयुक्त राष्ट्र महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री नेतान्याहुलाई पक्राउ गर्ने तपाईंको धम्की कार्यान्वयन हुन नसक्ने चार कारण छन् ।’
उनका अनुसार : पहिलो, अमेरिका अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) स्थापना गर्ने रोम विधानको पक्ष राष्ट्र होइन । दोस्रो, संयुक्त राष्ट्र मुख्यालय सम्झौताअनुसार महासभामा सहभागी हुन आउने विदेशी सरकार प्रमुखहरूलाई कूटनीतिक संरक्षण प्राप्त हुन्छ । तेस्रो, राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई प्राप्त कानुनी उन्मुक्ति (इम्युनिटी) पनि यस्तो अवस्थामा लागू हुन्छ । चौंथो, विदेश नीति र यस्ता कानुनी विषयमा संघीय सरकारको अधिकार स्थानीय प्रशासनभन्दा माथि हुन्छ, त्यसैले न्यूयोर्कका मेयरको इच्छाले मात्र यस्तो कदम चाल्न सकिँदैन ।
‘यो केवल राजनीतिक नाटक हो’
संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत ड्यानी डेननले ममदानीको भनाइ केवल चर्चामा आउन गरिएको राजनीतिक नाटक भएको बताए । उनले एक्समा लेखेका छन्, ‘जोहरान ममदानी न्यूयोर्क सञ्चालन गर्नमै असफल भएका छन् । मेयरको जिम्मेवारी पूरा गर्नुको सट्टा उनले इजरायलमाथि आक्रमण गर्दै विवाद सिर्जना गरेर चर्चामा आउने प्रयास गरेका छन् ।’
उनले थपे, ‘यसबाट केही परिवर्तन हुने छैन। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु न्यूयोर्क आउनेछन्, गर्वका साथ संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् र विश्वसामु इजरायलको पक्ष तथा आफ्ना नागरिकको सुरक्षाको अधिकार प्रस्तुत गर्नेछन्। यदि कसैलाई पक्राउ गर्नुपर्छ भने त्यो स्वयं न्यूयोर्कका मेयर जोहरान ममदानी हुन् ।’
इजरायलका लागि पूर्व अमेरिकी राजदूत डेन शापिरोले पनि एक्समा प्रतिक्रिया दिँदै भने, ‘यदि न्यूयोर्कमा नेतान्याहुलाई पक्राउ गर्ने असफल प्रयास गरियो भने त्यसको सबैभन्दा ठूलो राजनीतिक फाइदा स्वयं नेतान्याहुलाई पुग्नेछ । अहिले उनी आफ्नो राजनीतिक अस्तित्वको लडाइँ लडिरहेका छन् । यस्तो प्रयासले उनीप्रति सहानुभूति बढाएर उनका विरोधीलाई होइन, उनलाई नै फाइदा पुर्याउने छ । यो आत्मघाती राजनीतिक कदम (सेल्फ गोल) बन्न सक्छ ।’
मानवअधिकारकर्मी तथा इजरायल–अष्ट्रेलिया यहूदी परिषद्का अध्यक्ष आर्सेन ओस्ट्रोभ्स्कीले ममदानीको भनाइ गैरजिम्मेवार राजनीतिक अभिव्यक्ति मात्र नभई अन्तर्राष्ट्रिय कानुन, अमेरिकी कानुन र मेयरको अधिकारबारे गम्भीर भ्रम पनि भएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !