दिल्ली प्रहरीको कारबाहीपछि के होला सीजेपी आन्दोलनको भविष्य ?
भारत : पर्यावरण अभियन्ता सोनम वाङ्चुक २८ जुनदेखि आफ्ना मागहरू राख्दै दिल्लीको जन्तर–मन्तरमा आमरण अनशनमा बसेका थिए । तर शनिबार बिहान दिल्ली प्रहरीले उनलाई जन्तर–मन्तरबाट उठाएर सफदरजंग अस्पताल लग्यो । दिल्ली प्रहरीले उच्च अदालतको आदेशअनुसार वाङ्चुकलाई त्यहाँबाट हटाइएको जनाएको छ ।
शनिबार उनको अनशनको २१ औं दिन थियो । उनले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षामा भएको अनियमितताको विरोधमा अनशन सुरु गरेका थिए । वाङ्चुकलाई अस्पताल लगिएपछि कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत घोषणा गर्यो, ‘अभिजीत दीपके अनिश्चितकालीन अनशनमा बसेका छन् । जुलाई २० मा हुने ‘चलो संसद’ मार्च पूर्व निर्धारित कार्यक्रमअनुसार नै हुनेछ ।’
सीजेपीले संसदको वर्षायाम (मान्सुन) अधिवेशन सुरु हुने पहिलो दिन, जुलाई २० मा संसद भवनसम्म शान्तिपूर्ण ‘चलो संसद’ मार्च गर्ने घोषणा गरेको छ । यसअघि वाङ्चुकले आफ्ना सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै नागरिकलाई उक्त मार्चमा सहभागी हुन आग्रह गरेका थिए । अब प्रश्न उठेको छ-वाङ्चुकलाई अस्पताल लगिएपछि आन्दोलन र जुलाई २० को मार्चको भविष्य के होला ?
के भन्छ सीजेपी ?
शनिबार वाङ्चुककी पत्नी गीताञ्जली जे आङ्मोले उनका पति अझै पनि अनशनमै रहेको र उनले कुनै पनि प्रकारको चिनी सेवन नगरेको बताइन् । त्यसै दिन सीजेपीका संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हड्तालमा बसे । पार्टीले एक्समार्फत यसको पुष्टि गर्दै ‘चलो संसद’ मार्च यथावत् रहने जनाएको छ । दीपकेले पनि आफ्नै एक्स पोस्टमार्फत यो जानकारी पुष्टि गरेका छन् ।
यस्तो छ योगेन्द्र यादवको प्रतिक्रिया
आन्दोलनलाई सुरुदेखि समर्थन गर्दै आएका राजनीतिक विश्लेषक योगेन्द्र यादवले एक्समा भिडियो सन्देश जारी गर्दै भने, ‘दिल्ली प्रहरीले कायरतापूर्ण व्यवहार गरेको छ । सोनम वाङ्चुकलाई जुन तरिकाले सेतो कपडामा बेरेर लगियो, त्यसरी कुनै जीवित व्यक्तिलाई लगिँदैन । अदालतको आदेशले यसरी घिसारेर लैजान भनेको थिएन ।’
उनले थप्दै भने, ‘यो कारबाहीले आन्दोलन कमजोर भएको छैन, बरु अझ ऊर्जा थपिएको छ । अभिजीत दीपके अब अनशनमा बसेका छन् र जुलाई २० को मार्च यथावत् हुनेछ । अब केवल धर्मेन्द्र प्रधानको मात्र होइन, प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामाको माग पनि उठ्नेछ । आन्दोलन अब समग्र व्यवस्थाविरुद्धको आन्दोलन बनेको छ ।’ उनका अनुसार यो आन्दोलन खराब शिक्षा प्रणाली, रोजगारी दिन नसक्ने आर्थिक व्यवस्था र जवाफदेही नहुने राजनीतिक व्यवस्थाविरुद्ध केन्द्रित भएको छ ।
‘आन्दोलनले नयाँ गति पाएको छ’
सोनम वाङ्चुकसँगै विद्यार्थी संगठन एआइएसएका सदस्य नेहा, मनीष र आमीन पनि २८ जुनदेखि अनशनमा छन् । वाङ्चुकलाई अस्पताल लगिएपछि पनि उनीहरूको अनशन जारी छ । स्वतन्त्र पत्रकार स्मिता शर्मा, जसले सुरुदेखि आन्दोलन कभर गरिरहेकी छन्, दिल्ली प्रहरीको कदमपछि आन्दोलनमा सहभागी हुनेको संख्या बढेको बताउँछिन् ।
उनले भनिन्, ‘आज जन्तर–मन्तरमा पहिलेभन्दा धेरै मानिस आएका छन् । प्रहरीको कारबाहीप्रति युवाहरूमा आक्रोश देखिएको छ ।’ उनका अनुसार वाङ्चुकको टोलीको दाबी छ कि अदालतले केवल स्वास्थ्य निगरानी गर्न भनेको थियो, जबरजस्ती अनशन अन्त्य गराउन भनेको थिएन । स्वास्थ्यका अत्यावश्यक अङ्ग जोखिममा परेको अवस्थामा मात्र यस्तो कदम चाल्न मिल्ने नियम रहेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !