अस्पतालबाट सोनम वाङ्चुकको सन्देश : मलाई अवैध हिरासतमा राखिएको छ
भारत : सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई शनिबार दिल्लीको जन्तर–मन्तरबाट प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको थियो । त्यसपछि आइतबार वाङ्चुकको तर्फबाट एक लिखित सन्देश सार्वजनिक गरिएको छ, जसमा उनले आफूलाई अवैध रूपमा हिरासतमा राखिएको आरोप लगाएका छन् ।
यो सन्देश उनकी पत्नी गीताञ्जलीमार्फत सार्वजनिक गरिएको हो । सन्देशमा भनिएको छ, ‘स्वतन्त्रताको दोस्रो आन्दोलन, भयमुक्त भारत, अन्यायमुक्त भारत । जुलाई २० मा हुने संसद मार्चलाई सफल बनाऔं ।’ सन्देशमार्फत उनले सबैलाई जुलाई २० मा प्रस्तावित संसद मार्चमा सहभागी भई सफल बनाउन अपिल गरेका छन् । उता, वाङ्चुकलाई अस्पताल लगिएपछि अभिजीत दीपके अनिश्चितकालीन भोक हड्तालमा बसेका छन् ।
आफ्ना श्रीमानको उपचारसँग सम्बन्धित विषयमा गीताञ्जलीले उच्च अदालत (हाई कोर्ट) को शरण लिएकी छन् । उनले अदालतसँग सोनम वाङ्चुकको स्वास्थ्य अझ बिग्रिनुअघि उनलाई अर्को अस्पतालमा सार्न अनुमति दिन माग गरेकी छन् । गीताञ्जलीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै सफदरजंग सरकारी अस्पतालको व्यवस्थामाथि प्रश्न उठाएकी छन् ।
उनले लेखेकी छन्, ‘सफदरजंग सरकारी अस्पतालप्रतिको मेरो विश्वास छैन । अस्पतालले वाङ्चुकको शरीरमा पोटासियमको मात्रा घटेर २.९ पुगेको र यो चिन्ताजनक तथा ज्यानका लागि खतरनाक अवस्था भएको जानकारी दिएको थियो । तर सार्वजनिक स्वास्थ्य बुलेटिनमा भने वास्तविक पोटासियमको स्तर उल्लेख गरिएन ।’
उनले थप लेखेकी छन्, ‘१० घण्टापछि र पटक–पटक आग्रह गरेपछि मात्रै राति १०ः३० बजे हामीलाई उहाँको रगतको नमुना लिन अनुमति दिइयो । स्वतन्त्र प्रयोगशालामा गरिएको परीक्षणमा पोटासियमको मात्रा ३.५ देखियो, जुन सामान्य सीमाभित्र पर्छ ।’
गीताञ्जलीले भनेकी छन्, ‘बारम्बार अनुरोध गर्दा पनि अस्पतालले उहाँलाई डिस्चार्ज गर्न वा हामीले रोजेको निजी अस्पतालमा लैजान अनुमति दिएको छैन। हाम्रो वार्डमा करिब ३० जना प्रहरी र अस्पतालभर १०० भन्दा बढी प्रहरी तैनाथ छन्, जसका कारण हाम्रो आवतजावत निकै सीमित भएको छ । यो उपचार होइन, यो त गैरकानुनी हिरासत हो ।’
प्रतिक्रिया दिनुहोस !