फाइनल अघि भव्य सांगीतिक प्रस्तुति

फाइनल अघि भव्य सांगीतिक प्रस्तुति

एजेन्सी, न्युयोर्क : अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ समापनतर्फ उन्मुख हुँदै जाँदा प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न सांगीतिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको तयारी गरिएको छ। यसपटक फिफाले पहिलो पटक विश्वकप फाइनललाई खेलसँगै विश्वव्यापी मनोरञ्जनको उत्सवका रूपमा प्रस्तुत गर्ने योजना अघि सारेको छ।

विश्वकपको फाइनल खेल आइतबार राति न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा हुनेछ। फाइनल खेल सुरु हुनुअघि विभिन्न सांस्कृतिक कार्यक्रम तथा सहभागी राष्ट्रहरूको सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ। फिफाका अनुसार अमेरिका, क्यानडा र मेक्सिकोको सांस्कृतिक विविधतालाई झल्काउने विशेष प्रस्तुति पनि समावेश गरिनेछ।

यसपटकको सबैभन्दा ठूलो आकर्षण भनेको विश्वकप इतिहासकै पहिलो ‘हाफटाइम शो’ हुनेछ। अमेरिकी फुटबलको सुपर बाउलबाट प्रेरित यस कार्यक्रमलाई विश्वप्रसिद्ध ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले संयोजन गर्ने छन्। करिब ११ मिनेट लामो रहने सांगीतिक कार्यक्रममा शाकिरा, म्याडोना, बीटीएस तथा जस्टिन बिबरसहितका अन्तर्राष्ट्रिय कलाकारहरूले संयुक्त प्रस्तुति दिने फिफाले जनाएको छ।

फिफाका अनुसार हाफटाइम शो मनोरञ्जनमा मात्र सीमित रहने छैन। यसलाई फिफा ग्लोबल सिटिजन एजुकेसन फन्डसँग जोडिएको परोपकारी अभियानका रूपमा सञ्चालन गरिनेछ। कार्यक्रममार्फत विश्वभरका बालबालिकाको शिक्षा र खेलकुदमा पहुँच विस्तारका लागि सहयोग जुटाउने लक्ष्य राखिएको छ। विश्वकपको समापनअघि आयोजक शहरहरूमा सञ्चालन भइरहेका फिफा फ्यान फेस्टिभल पनि अन्तिम चरणसम्म जारी रहनेछन्। यी फ्यान जोनमा प्रत्यक्ष खेल प्रदर्शन, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, फुटबलसँग सम्बन्धित अन्तरक्रियात्मक गतिविधि तथा परिवारमैत्री मनोरञ्जनका कार्यक्रम सञ्चालन भइरहेका छन्।

लाखौं समर्थकले स्टेडियमबाहिर पनि विश्वकपको उत्साह अनुभव गर्न सकून् भन्ने उद्देश्यले यी कार्यक्रम आयोजना गरिएको फिफाले जनाएको छ। यसैगरी, प्रतियोगिता समापनसँगै उत्कृष्ट खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा ‘फेयर प्ले’ अवार्ड वितरण गरिनेछ। विजेता टोलीलाई प्रतिष्ठित फिफा विश्वकप ट्रफी प्रदान गरिने कार्यक्रम पनि फाइनल खेलपछि हुनेछ।

फिफाले यस संस्करणमा फुटबललाई खेल मात्र नभई संगीत, संस्कृति र सामाजिक अभियानसँग जोड्ने प्रयास गरेको जनाएको छ। विशेषगरी पहिलो पटक आयोजना हुन लागेको हाफटाइम शोले विश्वकप इतिहासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ। विश्वभरका करोडौं दर्शकले प्रत्यक्ष प्रसारणमार्फत खेलसँगै सांगीतिक कार्यक्रमको पनि अवलोकन गर्ने अपेक्षा गरिएको छ।

फुटबल विश्लेषकहरूका अनुसार विश्वकप २०२६ को समापन समारोहले खेलकुद र मनोरञ्जन उद्योगबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनेछ। मैदानभित्र विश्व च्याम्पियनको टुंगो लागिरहँदा मैदानबाहिर संगीत, संस्कृति र विश्व एकताको सन्देश प्रवाह गर्ने कार्यक्रमले यस संस्करणको विश्वकपलाई इतिहासकै सबैभन्दा भव्य संस्करणमध्ये एक बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.