पेलेले विश्वकप फाइनलमा लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
काठमाडौं : ब्राजिलका लिजेन्ड फुटबल खेलाडी पेलेले आफ्नो खेल जीवनको ऐतिहासिक क्षणमा लगाएको जर्सी ४९ लाख अमेरिकी डलर (करिब ६७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ।
पेलेले सन् १९५८ को विश्वकप फाइनल खेलमा लगाएको उक्त १० नम्बरको जर्सीलाई विश्वप्रसिद्ध लिलामी गृह सोथबिजले बिहीबार न्यूयोर्कमा लिलामी गरेको हो। जुन जर्सी ४९ लाख अमेरिकी डलरमा लिलाम भएको छ । यो फुटबल इतिहासमै लिलामी प्रक्रियामार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ।
यसअघि फुटबल इतिहासकै सबैभन्दा महँगो जर्सीको कीर्तिमान अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाको नाममा छ। म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्गल्यान्डविरुद्ध चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी सन् २०२२ मा ९३ लाख डलर (करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ)मा बिक्री भएको थियो।
सन् २०२२ मा ८२ वर्षको उमेरमा निधन भएका पेले सन् १९५८ को विश्वकप फाइनलमा आयोजक स्वीडेनविरुद्ध मैदान उत्रिँदा मात्र १७ वर्षका थिए। स्वीडेनको रासुन्डा स्टेडियममा भएको उक्त फाइनल खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका थिए।
उक्त खेलमा ब्राजिल ५–२ गोल अन्तरले विजयी हुँदै पहिलोपटक विश्वकप च्याम्पियन बनेको थियो। पेले हालसम्म पनि विश्वकप फाइनलमा गोल गर्ने इतिहासकै सबैभन्दा कान्छा खेलाडीका रूपमा कायम छन्।
प्रतिक्रिया दिनुहोस !