एट्लान्टाको सुरक्षा व्यवस्था कडा
फिफा विश्वकप २०२६ अन्तर्गत इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको बहुप्रतीक्षित सेमिफाइनल खेलअघि अमेरिकाको एट्लान्टा सहरको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। दुवै टोलीका समर्थकबीचको ऐतिहासिक प्रतिस्पर्धालाई मध्यनजर गर्दै अतिरिक्त सुरक्षा प्रबन्ध गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एट्लान्टा प्रहरीले खेल हेर्न हजारौं समर्थक तथा आगन्तुक आउने जनाउँदै सहरभर अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार मर्सिडिज बेन्ज स्टेडियम, मनोरञ्जन क्षेत्र तथा बढी भीडभाड हुने स्थानहरूमा सुरक्षाकर्मी थप परिचालन गरिएको जनाएको छ।
दुई राष्ट्रबीचको लामो फुटबल प्रतिद्वन्द्विता र विगतका केही समर्थकबीचका तनावपूर्ण घटनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्। खेलका क्रममा कुनै अप्रिय घटना हुन नदिन निगरानी, गस्ती तथा भीड व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जनाइएको छ। एट्लान्टा प्रहरी विभागले स्थानीय बासिन्दा र विश्वभरबाट आएका समर्थकलाई सुरक्षित वातावरणमा खेलको आनन्द लिन सकून् भन्ने उद्देश्यले सुरक्षा रणनीति थप सुदृढ बनाइएको उल्लेख गरेको छ।
इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनल खेल विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतिस्पर्धामध्ये एक मानिएको छ। ऐतिहासिक प्रतिद्वन्द्विता, उच्च दाउपेच र दुवै टोलीका उत्साही समर्थकका कारण खेलप्रति विश्वव्यापी चासो बढेको हो।
सन् १९८२ मा दुवै देशबीच भएको फकल्यान्ड युद्धका कारण पनि मैदान बाहिरसमेत निकै प्रतिद्वन्द्विता बढ्ने गरेको छ। ७४ दिनसम्म चलेको सो युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा तीन सर्वसाधारणको ज्यान गएको थियो। त्यही कारण इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा फुटबल मैदानमा मात्रै सीमित छैन, मैदान बाहिर पनि हुने गरेको छ। अझ इङ्ल्यान्डका समर्थकलाई संसारभर हुल्याह समर्थकका रुपमा हेर्ने गरिन्छ। यो विश्वकपमा मात्रै होइन, यसअघिका विश्वकपमा पनि इङ्ल्यान्डका समर्थकलाई नियन्त्रण गर्न बेग्लै सुरक्षा रणनीतिक बनाउने गरिएको थियो।
तर, यस पटक इङ्ल्यान्ड समर्थकको व्यवहारको अमेरिकी प्रहरीले प्रशंसा गरेको छ। इङ्ल्यान्डका समर्थकले अहिलेसम्म संयमित रूपमा खेलको मनोरञ्जन लिँदै आएको प्रहरीले जनाएको छ। अर्जेन्टिनाका पूर्वसैनिकहरूको महासंघले समर्थकलाई राजनीति होइन, फुटबलमै केन्द्रित हुन आग्रह गरेको छ। महासंघले सार्वभौमिकताको विषय अन्तर्राष्ट्रिय मञ्च र कूटनीतिक माध्यमबाट उठाइने भन्दै खेललाई राजनीतिक बहससँग नजोड्न अपिल गरेको हो।
अन्तिम १६ मा इजिप्टलाई हराएपछि अर्जेन्टिनाका खेलाडीहरूले माल्भिनास द्वीपसमूह, डियगो म्याराडोना र लियोनल मेसी उल्लेख गरिएको गीत गाएको भिडियो सामाजिक सञ्जालमा चर्चित भएको थियो।
प्रतिक्रिया दिनुहोस !