विश्वकपको मूल्य चुकाउँदै १३ प्रशिक्षक

विश्वकपको मूल्य चुकाउँदै १३ प्रशिक्षक

एजेन्सी /न्युयोर्क : फिफा विश्वकप २०२६ ले नयाँ कीर्तिमान, रोमाञ्चक खेल र अप्रत्याशित नतिजा मात्र दिएन, धेरै प्रशिक्षकको अन्तर्राष्ट्रिय करियरमा पनि पूर्णविराम लगाइदिएको छ। प्रतियोगिताबाट टोली बाहिरिएसँगै हालसम्म १३ प्रशिक्षकले आफ्नो पद गुमाइसकेका छन्। कसैले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् भने कसैको सम्झौता विश्वकपसँगै सकिएको छ। कोही भने फुटबल संघले 
पदमुक्त गरेको छ।

सबैभन्दा पहिले पद छाड्ने प्रशिक्षक हुन्, स्कटल्यान्डका स्टिभ क्लार्क। टोली समूह चरणबाट बाहिरिएपछि उनले ७ वर्ष लामो कार्यकाल अन्त्य गर्दै राजीनामाको घोषणा गरेका थिए। उनको नेतृत्वमा स्कटल्यान्डले लामो समयपछि विश्वकपमा पुनरागमन गरेको थियो, तर अपेक्षित सफलता हात पार्न नसकेपछि उनले जिम्मेवारीबाट अलग हुने निर्णय लिएका थिए।

दक्षिण कोरियाका होङ म्युङ–बोले पनि टोली समूह चरणबाट अघि बढ्न नसकेपछि सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै पदत्याग गरेका थिए। समर्थक र सञ्चारमाध्यमको चर्को आलोचनाबीच उनले परिणामको नैतिक जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए। 

युरोपेली फुटबलका चर्चित प्रशिक्षकमध्ये युलियन नागेल्समान पनि विश्वकपपछि जर्मनीको जिम्मेवारीबाट अलग्गिए। पराग्वेसँगको अप्रत्याशित हारपछि उनले टोलीलाई नयाँ सुरुवात आवश्यक रहेको भन्दै पद छाडेका थिए। त्यस्तै नेदरल्यान्ड्सका रोनाल्ड कोमान, उरुग्वेका मार्सेलो बिएल्सा, क्रोएसियाका ज्लाट्को डालिच तथा चेक रिपब्लिकका मिरोस्लाभ कुबेकले पनि आफू टोलीबाट अलग भएको घोषणा गरेका थिए। यी सबैले फरक–फरक कारण देखाए पनि मुख्य आधार विश्वकपको निराशाजनक नतिजा नै थियो। 

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले स्पेनसँग अन्तिम–१६ मा पराजित भएपछि पद छाड्ने घोषणा गरेका थिए। उनले विश्वकप जित्ने लक्ष्य पूरा गर्न नसकेपछि टोलीमा निरन्तरता दिनुको अर्थ नरहने बताएका थिए। दक्षिण अमेरिकाबाट इक्वेडरका सेबास्टियन बेकासेसेले पनि टोली मेक्सिकोसँग पराजित भएर बाहिरिएपछि बिदाइको घोषणा गरेका थिए। विश्वकपसँगै आफ्नो सम्झौता समाप्त भएकाले उनी स्वतः बाहिरिएका थिए। 

मेक्सिकोका जाभियर अगिरेको कार्यकाल पनि विश्वकपसँगै समाप्त भएको छ। घरेलु भूमिमा आयोजित प्रतियोगितामा टोली अन्तिम–१६ भन्दा माथि जान नसकेपछि मेक्सिकन फुटबल महासंघले सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो।

सबैभन्दा कडा निर्णय भने सेनेगल र ट्युनिसियामा देखिएको छ। सेनेगल फुटबल महासंघले अन्तिम–३२ बाट बाहिरिएपछि मुख्य प्रशिक्षक पापे थियाउ र उनको सम्पूर्ण प्राविधिक टोलीलाई पदमुक्त गरेको छ। ट्युनिसियाले पनि टोलीले खराब सुरुवातपछि प्रशिक्षक साब्री लामुचीलाई बर्खास्त गरेको थियो। उनको स्थानमा आएका हर्भे रेनार्डले पनि टोलीको प्रदर्शन सुधार्न नसकेपछि केही दिनमै राजीनामा दिएका थिए। 

यसैगरी घानाका कार्लोस क्वेरोजले पनि टोली प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका थिए। दक्षिण अफ्रिकाका अनुभवी प्रशिक्षक ह्युगो ब्रुसले भने विश्वकपपछि पूर्वघोषित निर्णयअनुसार पदबाट अलग हुने निर्णय गरेका थिए। 

विश्वकपपछि प्रशिक्षक परिवर्तन हुनु वा बर्खास्तमा पर्नु नयाँ घटना होइन। तर, यसपटक प्रतियोगिता चलिरहेकै क्रममा र नकआउट चरणको समाप्तिसँगै एकपछि अर्को प्रशिक्षक बाहिरिनुले विश्व फुटबलमा परिणामको दबाब कति ठूलो हुन्छ भन्ने फेरि प्रमाणित गरेको छ। चार वर्षको तयारी, करोडौं समर्थकको अपेक्षा र विश्वकपजस्तो सर्वोच्च मञ्चमा भएको असफलताले धेरै प्रशिक्षकको यात्रा एकै झट्कामा समाप्त भएको छ। अब यी टोलीहरूले आगामी महादेशीय प्रतियोगिता र विश्वकप २०३० को तयारीलाई ध्यानमा राख्दै नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेका छन्। त्यसैले विश्वकपको मैदानमा खेलाडीको स्थानान्तरणभन्दा बढी चर्चा अहिले प्रशिक्षकको कुर्सीको भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.